
सूचना प्रविधि क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएको सागर ग्रुपले आगामी माघ २२ गतेदेखि २७ गतेसम्म काठमाडौंको कलंकीस्थित कर्पोरेट हाउस परिसरमा विशेष प्रविधि एक्स्पो आयोजना गर्ने भएको छ ।
‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल’ नाम दिइएको यस कार्यक्रम सागर ग्रुपद्वारा आयोजना हुँदै आएको प्रविधि एक्स्पोको चौथो संस्करण हो ।
ग्राहक, विक्रेता, पत्रकार तथा शुभेच्छुकलाई एउटै थलोमा भेला गराई सूचना प्रविधि क्षेत्रका नवीन प्रवृत्ति, नयाँ उत्पादन तथा बजारको वर्तमान अवस्थाबारे प्रत्यक्ष अन्तरक्रिया गराउने उद्देश्यले यो एक्स्पो आयोजना गर्न लागिएको सागर ग्रुपले जनाएको छ ।
सागर ग्रुपकी भाइस चेयरपर्सन बुद्धलक्ष्मी मानन्धरले यस प्रकारका कार्यक्रमले ब्राण्ड र ग्राहकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिन् ।
एक्स्पोमा प्रमुख प्रायोजक ब्राण्ड एक्सल्याबसहित ब्रदर, कोनिका मिनोल्टा, क्यास्परस्की, एनईसी, माइक्रोप्याक, आईडीपी तथा ओडो लगायतका ब्राण्डका उत्पादन तथा सेवाबारे जानकारी लिन सकिनेछ ।
सो अवसरमा सम्बन्धित ब्राण्डका प्रतिनिधि तथा प्राविधिक स्वयं उपस्थित भई आवश्यक जानकारी, डेमो तथा परामर्श प्रदान गर्नेछन् ।
एक्स्पो अवधिभर उत्पादन तथा सेवा खरिद गर्ने ग्राहकले विशेष छुट तथा अतिरिक्त सेवा प्राप्त गर्नेछन् । साथै एक्सल्याब, ब्रदरर, कोनिका मिनोल्टाले नयाँ उत्पादन सार्वजनिक गर्नुका साथै सहभागीका लागि विभिन्न प्रकारका प्रोडक्ट ट्रेनिङ कार्यक्रम पनि सञ्चालन गर्ने जनाइएको छ ।
६ दिनसम्म सञ्चालन हुने यस एक्स्पो प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अवलोकनका लागि आउने आगन्तुकलाई हाईटी तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
त्यस्तै, हरेक दिन एक जना भाग्यशाली आगन्तुकलाई लक्की ड्रमार्फत माइक्रोप्याकको गेमिङ कम्बो सेट उपहार प्रदान गरिने आयोजकले जनाएको छ ।