
चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन संवाद गरेका छन् । उनले ताइवानको विषयलाई चीन–अमेरिका सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण मुद्दाको रूपमा उल्लेख गरे ।
चीनको सरकारी सञ्चारमाध्यमका अनुसार सीले ट्रम्पसँग ताइवानलाई हतियार उपलब्ध गराउँदा सावधानी अपनाउन आग्रह गरेका हुन् ।
सीले अमेरिकासँगको सम्बन्धलाई आफूले धेरै महत्त्व दिने उल्लेख गर्दै दुवै पक्षले आपसी मतभेद समाधान गर्ने उपाय खोज्ने आशा व्यक्त गरे ।
यस वार्तालापलाई राष्ट्रपति ट्रम्पले शानदार भएको प्रतिक्रिया दिएका छन् ।
ट्रम्पसँगको फोन संवाद हुनुभन्दा केही घण्टा अगाडि सीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भर्चुअल बैठक गरेका थिए । उक्त बैठकमा दुवै नेताले चीन र रूसबीचको मजबुत सम्बन्धको प्रशंसा गरेका थिए ।