
प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूलाई निर्वाचन सुरक्षाको पूर्वतयारीका लागि भन्दै विभिन्न प्रदेशमा परिचालन गरेको छ ।
विशेषगरी तीन जना एआईजीहरू क्रमश: डा. मनोज केसी गण्डकी प्रदेश, हिमालय श्रेष्ठ सुदूरपश्चिम प्रदेश र डम्बर विक मधेश प्रदेशमा पुगेर अनुगमन गरिरहेका छन् ।
एआईजी केसीले गण्डकी प्रदेश प्रहरी प्रमुखसँगै कास्कीका प्रहरी प्रमुखसम्मलाई निर्वाचन सुरक्षाको पूर्व तयारीका बारेमा सोधीखोजी गरेका छन् ।
गण्डकीमा कास्की, गोरखा, तनहुँ, स्याङ्जा, बाग्लुङ, नवलपरासी पूर्व, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत र लमजुङ गरी ११ जिल्ला छन् । यी ११ जिल्लामा प्रत्यक्षतर्फ १८ सीटमा चुनाव हुँदैछ । एआईजी केसीसँगै प्रदेशका डीआईजी दिपेन्द्र जिसी मातहत कार्यालय देखाउँदै अनुगमनमा निस्किएका छन् ।

अर्का एआइजी हिमालय श्रेष्ठ भने सुदूरपश्चिम प्रदेशमा पुगेका छन् । उनले धनगढीस्थित प्रदेश प्रहरी कार्यालयसँगै तालिम केन्द्रमा पुगेर निरीक्षण र निर्देशन दिएका छन् । सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर, बैतडी, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, दार्चुला र बझाङ जिल्ला पर्छन् । यी जिल्लामा प्रत्यक्षतर्फ १६ सीटमा चुनाव हुँदैछ । श्रेष्ठले डोटी र बझाङ पुगेर त्यहाँको शान्तिसुरक्षाको अवस्थाका बारेमा जानकारी लिएका छन् ।
एआईजी डम्बर विक मधेश प्रदेश प्रहरी कार्यालयमा खटिएका छन् । उनी बुधबारै प्रदेश राजधानी जनकपुर पुगेर निरीक्षण र निर्देशन दिएका छन् ।

उनले जिल्ला प्रहरी कार्यालय रौतहटको निरीक्षण गरिसकेका छन् । मधेश प्रदेशका ८ वटै जिल्लाहरू क्रमशः पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लामा पुगेर विकले त्यहाँको सुरक्षा अवस्था, चुनावमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीका बारेमा ब्रिफिङ लिनेछन् ।
निर्वाचन आयोगले मधेश प्रदेशका ८ वटै जिल्लाका मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा राखेको छ । खुला सीमा भएकाले त्यहाँ निर्वाचनका बेला हुनसक्ने घुसपैठ, निर्वाचन बिथोल्न सक्ने अवाञ्छित गतिविधि लगायतका बारेमा विकले जानकारी लिनेछन् । उक्त प्रदेश मातहतका जिल्लामा प्रहरीलाई अपुग स्रोत साधनका बारेमा समेत विकले जानकारी लिनेछन् ।

त्यसो त प्रहरी महानिरीक्षक दानबहादुर कार्की आफैं लुम्बिनी प्रदेशको निरीक्षण गरेका छन् । उनले प्रदेश प्रहरी कार्यालय दाङसँगै जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर पुगेर त्यहाँको सुरक्षा अवस्थाको बारेमा जानकारी लिएका छन् ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार प्रदेशमा खटिएका एआईजीहरूले मतदान केन्द्रको निरीक्षण गर्नेछन् । उनका अनुसार देशभर निर्वाचनमा ७४ हजार चार सय २३ प्रहरी खटिने छन् ।
‘एआईजीसाबहरू प्रदेश प्रहरी कार्यालय पुगेर त्यहाँको सुरक्षा अवस्थाका बारेमा जानकारी लिनुहुन्छ, त्यसपछि प्रत्येक जिल्ला प्रहरी कार्यालय पुगेर स्रोत साधनको अवस्था र प्रहरी खटनपटनबारे बुझ्नुहुन्छ,’ काफ्लेले लोकान्तरसँग भने, ‘तीन वटै सुरक्षा निकायसँगको समन्वयमा सुरक्षाकर्मी कसरी खटनपटन गर्ने, भएका स्रोतसाधनले पुग्छ कि पुग्दैन, मतदान केन्द्रको सुरक्षा चुनौती लगायतका बारेमा उहाँहरूले बुझ्नुहुन्छ ।’

एआईजीहरूले जिल्ला-जिल्ला पुगेर पाएका सूचनालाई प्रहरी मुख्यालयमा राख्ने र त्यसअनुसार सुरक्षा योजना थप सुदृढ पार्ने तयारी छ । केन्द्रदेखि प्रहरीका उच्च अधिकृतहरू जिल्ला पुगेर आवश्यक रणनीति बनाउने र निर्देशन दिने गरेपछि फिल्डमा खटिने प्रहरीको मनोबल उच्च भइरहेको सुरक्षा अधिकारीहरू बताउँछन् ।