
नेपाल टेलिकमले आफ्नो स्थापनाको २२औं वार्षिकोत्सव बिहीबार विभिन्न कार्यक्रम गरेर मनाएको छ ।
केन्द्रीय कार्यालयका साथै विभिन्न प्रादेशिक निर्देशनालय र कार्यालयहरूमा विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको कम्पनीले जनाएको छ ।
कम्पनीको केन्द्रीय कार्यालयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं कम्पनी सञ्चालक समितिका अध्यक्ष लक्ष्मीकुमारी बस्नेतले अध्यक्षता कार्यक्रम भएको सम्पन्न भएको हो ।
समारोहमा प्रमुख अतिथि गृहमन्त्री ओमप्रकाश अर्यालले विशेषतः डिजिटल डिभाइड न्यूनीकरण गर्ने र ग्रामीण क्षेत्रहरूमा सञ्चार पहुँच विस्तार गर्ने काममा कम्पनीले गरेको योगदान प्रशंसनीय भएको बताए । सुशासनमार्फत नागरिक र सरकारको सम्बन्धलाई प्रगाढ बनाउनेतर्फ कम्पनीबाट उपलब्ध सेवा एवं कम्पनीका पूर्वाधारहरूको महत्त्वपूर्ण योगदान रहेको उनले बताए ।
सरकारले लिएका नीति एवं कार्यक्रमलाई आत्मसात गरी सरकारको नागरिकप्रतिको कर्तव्य निर्वाहमा नेपाल टेलिकमले सरकारसँग हातेमालो गर्ने र कम्पनीको सुदृढीकरण तथा विकासमा सरकारको अभिभावकत्व सदैव रहने उनको भनाइ थियो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं कम्पनी सञ्चालक समितिका अध्यक्ष लक्ष्मीकुमारी बस्नेतले नयाँ प्रविधि र अनुसन्धानलाई आत्मसात गरी सर्वसुलभ रूपमा आम सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल टेलिकमले महत्त्वपूर्ण कार्य गर्दै आएको बताइन् । नेपाल टेलिकमले देशको प्रमुख सेवा प्रदायकको रूपमा कनेक्टिभिटी उपलब्ध गराई टेलिहेल्थ, टेलिमेडिसिन र टेलिएजुकेसन जस्ता सेवाको विकासलाई ध्यान दिनुपर्ने उनको सुझाव थियो ।

उनले विशेष गरी दुर्गम क्षेत्रहरूमा डिजिटल सेवाहरू पुग्ने गरी आवश्यक ढाँचा तयार पार्न जरुरी भएको र यसले जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने र मुलुकलाई डिजिटाइजेसन गर्ने अभियानलाई गति दिने बताइन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले दक्ष जनशक्ति भएको नेपाल टेलिकमले त्यसै अनुसार नेटवर्क निर्माण र विस्तार गरी बजार अझै विस्तार गर्न सक्ने सम्भावना भएको र त्यसै अनुसार आम्दानी समेत वृद्धि गर्न सकिने भएकोले त्यसतर्फ लाग्न सुझाव दिए । उनले नेपाल टेलिकमले प्राधिकरणमार्फत गरिरहेका विभिन्न परियोजनाहरू समयमै सम्पन्न गर्नेतर्फ लाग्नु पर्ने बताए ।
सञ्चालक समितिका सदस्य (कर्मचारी प्रतिनिधि) लोकबहादुर कटुवालले स्वच्छ प्रतिस्पर्धा भनिए पनि नेपाल टेलिकम जस्ता संस्थाहरूले लाइसेन्स लिन र नवीकरण गर्न बढी रकम तिर्नु परेको र आगामी दिनमा यसलाई अझै सच्याउन सकिने तर्फ ध्यान दिन आग्रह गरे ।
कर्मचारी सरोकारका विषयमा सञ्चालक समिति र कम्पनी व्यवस्थापन सबै मिलेर अगाडि बढ्नु पर्ने आवश्यकतामा उनले जोड दिए ।
नेपाल टेलिकमका नायब प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले नेपाल टेलिकमले फोरजी/एलटीई सेवा विस्तारलाई सफलतापूर्वक सम्पन्न गरी स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिँदै आएको बताए । परिणामस्वरूप सातै प्रदेशका ७७ जिल्लाका कुल ७४९ स्थानीय तहमा सो सेवाको पहुँच विस्तार भएको उनले बताए ।
फाईभजी सेवा शुरूआत गर्नको निम्ति आपूर्तिकर्ताबाट प्राप्त भएको प्रस्तावको अध्ययन सम्पन्न भई रिभ्यूको चरणमा रहेको उनले जानकारी दिए ।
