
नेकपा (एमाले)का उपाध्यक्ष गोकर्ण विष्टले चार पटक संसदीय चुनाव जितिसकेका छन्। आगामी प्रतिनिधि सभा निर्वाचनमा गुल्मी–२ बाट एमाले उम्मेदवार रहेका पूर्वमन्त्री पाँचौँ जितको खोजीमा छन्। गुल्मीको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका विष्ट जनजनमा भिजेका नेता हुन् ।
सडक, पुल, खानेपानी आयोजना, विद्युतीकरण, खेलकुद र शिक्षाको योजनाबद्ध विकासमा उनले योगदान पुर्याएका छन्। विगतमा गरेका कामकै कारण अहिले मतदाताले माया गरिरहेको उनको भनाइ छ। 'जिल्लाबासीले मलाई पटक–पटक सांसद र मन्त्री पनि बनाए। म जनताको भरिया हुँ, अब पनि जितेर यहाँका जनताको मुहारमा खुसी ल्याउने मेरो एकमात्र लक्ष्य छ,' उनी भन्छन्, 'मेरो क्षेत्रको भौतिकसँगै दीर्घकालीन विकास गर्न म जुट्नेछु। जनताले दिएको मतलाई कहिल्यै खेर जान दिन्नँ।'
२०५६ देखि संसदीय यात्रा थालेका विष्ट २०६४ को पहिलो संविधान सभा निर्वाचनमा भने पराजित भएका थिए। त्यसपछिका २०७०, २०७४ र २०७९ का तीन निर्वाचन लगातार जितेर उनले ह्याट्रिक पनि गरे।
हरेक चुनावमा मतदाताले लेखेरै बुझाउने मागका चाङ हुन्थे। विद्युतीकरण नहुँदा ढलेका पोल र अँध्यारा घरका तस्वीरहरू देखाएर आलोचना हुन्थ्यो। अहिले सबै ठाउँमा विद्युतीकरण भएको छ। त्यति मात्र नभएर १३२ केभीको राष्ट्रिय प्रसारण लाइनका दुई सबस्टेसन निर्वाचन क्षेत्रमै छन्। अन्य साना विद्युत् सबस्टेसनहरू पनि बनेका छन्।
खानेपानी, सडक र पुल नहुँदा पनि आलोचनाले सामाजिक सञ्जाल भरिन्थ्यो। खरका छाना हटाउने देशभरिकै पहिलो अभियान घोषणा गर्दा पनि विष्टको आलोचना गर्नेहरू थुप्रै थिए। अहिले गुल्मी–२ मा खरका छाना भएका घर भेटिँदैनन्।
मदन भण्डारी राष्ट्रिय राजमार्ग समृद्धिको महत्त्वपूर्ण आधार हो। गुल्मीको रिडी–तम्घास–सिमलटारी हुँदै सौतामारे पुग्ने राजमार्गले जिल्लाका थुप्रै क्षेत्रीय, रणनीतिक एवं स्थानीय सडकलाई जोडेको छ। रेसुङ्गा नगरपालिका, धुर्कोट, इस्मा, मालिका र मदाने गाउँपालिका छोएर जाने राजमार्गका कारण यातायातसहित कृषि, उद्योग र व्यवसायमा महत्त्वपूर्ण टेवा पुगेको इस्मा गाउँपालिका–६ का अगुवा कृषक कृष्णप्रसाद घिमिरेले बताए।
मदन भण्डारी राजमार्गकै तम्घास–सिमलटारी खण्डका चार स्थानमा पुल नहुँदा प्रतिनिधिका हिसाबले गोकर्ण विष्टको निकै आलोचनासमेत भयो। निर्माण व्यवसायीले समयमै काम नगर्दा खोलामा नागरिकले सास्ती पाएका थिए। तर, अहिले हुलाके, धनार्जे, फूलबारी र घमिरखोलामा पक्की पुल निर्माण भएका छन्। यसले सिङ्गो गुल्मी–२ र प्युठानका नागरिकलाई सहज भएको छ।
अहिले बाह्रै महिना गाडीहरू सञ्चालन हुने अवस्था बनेको धुर्कोट गाउँपालिका–६ का भरत भण्डारीले बताए। विष्टको निर्वाचन क्षेत्रमा दर्जनौँ पक्की तथा झोलुङ्गे पुल निर्माण भएका छन्। हरेक पालिकामा पुल नभएका स्थान छैनन्। पक्की पुल नभएको ठाउँमा झोलुङ्गे पुल छन्। 'एक घर, एक धारा' अभियानमार्फत लिफ्ट प्रविधिबाट खानेपानीको पहुँच वृद्धि भएको छ।
२०५६ सालको निर्वाचनमा विष्टले "निस्तीको पानी इस्मामा खुवाउँछु" भन्दा हावा भनेर गिज्याएको इस्मा गाउँपालिका–३ की ६६ वर्षीया देवकला पाण्डेलाई भर्खरैजस्तो लाग्छ। अहिले निस्तीको पानी इस्मालीका धारामा खस्छ। त्यो पानी पर्याप्त नहुने ठाउँमा लिफ्टमार्फत खानेपानी पुर्याउने काममा विष्टको ठूलो योगदान रहेको पाण्डेले बताइन्। विष्टले मतदाताकै मागका आधारमा अहिले हरेक क्षेत्रमा संरचना निर्माण भइरहेकाले प्रतिपक्षी आत्तिएको बताए।