२३ असार २०८३, मंगलबार
स्थलगत सुनसरी-३

आफैं परिवर्तन नभएका विजय परिवर्तनको नारा लिँदै, अशोकलाई बालेनको आश, भगवतीलाई पनि प्रश्नैप्रश्न

माघ २३, २०८२
विराटनगर
आफैं परिवर्तन नभएका विजय परिवर्तनको नारा लिँदै, अशोकलाई बालेनको आश, भगवतीलाई पनि प्रश्नैप्रश्न

सुनसरीको क्षेत्र नम्बर ३ मा यसपटकको चुनावी माहोल विगतको भन्दा केही फरक र रोचक देखिएको छ । 

बिहीबार सुनसरी क्षेत्र नम्बर ३ का विभिन्न टोल र वस्तीमा पुग्दा देखिएका दृश्यले नेपाली राजनीतिको एउटा अनौठो र विरोधाभासपूर्ण चित्र प्रस्तुत गरिरहेका थिए । 

यो त्यस्तो क्षेत्र हो, जहाँ दशकौंदेखि एउटै अनुहारले राज गरिरहेको छ । तर यसपटक ती पुराना खेलाडीलाई पनि चुनाव जित्नका लागि आफ्नो नाम र काम भन्दा बढी अरुकै ‘क्रेज’ र सहारा लिनुपरेको देखियो । विशेषगरी आठौं पटक चुनावी मैदानमा उत्रिएका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अशोक कुमार चौधरीबीचको चुनावी प्रचार शैलीले स्थानीय मतदातामाझ अनेकौं जिज्ञासा र प्रश्न जन्माएको छ ।

बर्जु गाउँपालिका-५ को वीरेन्द्र चोकमा कांग्रेसका स्थानीय र जिल्लाका केही नेताहरू वडा कार्यालयको उद्घाटन कार्यक्रममा व्यस्त थिए । त्यहाँ पुग्दा एउटा रोचक दृश्य देखियो ।  नेपाली कांग्रेसका पुराना हस्ती विजयकुमार गच्छदार, जो आफैंमा एक पटक होइन, ६ पटक सांसद र  एक दर्जन पटक मन्त्री भइसकेका व्यक्ति हुन्, उनले यसपटक आफ्नै नाममा भोट माग्नुको साटो सभापति गगन थापाको नाम अघि सारेर चुनावी मैदानमा होमिएका छन् ।

उनले चुनावी प्रचारमा राखेका ब्यानरमा ठूला अक्षरमा लेखिएको छ- ‘अबकी बार गगन सरकार’। रोचक कुरा त के छ भने, केही समयअघि सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा उभिएका र पार्टीभित्रको संस्थापन इतर पक्षसँग फरक मत राख्ने गच्छदारले चुनाव जित्न भने तिनै गगन थापाको लोकप्रियतालाई भजाउन खोजेका छन् ।  

null

वीरेन्द्र चोकमा भेटिएका नेपाली कांग्रेस सुनसरीका सचिवालय सदस्य राम प्रसाद चौधरीले यसलाई रणनीतिक कदमका रूपमा व्याख्या गरे ।  

उनले भने, ‘गच्छदार दाइको यो अन्तिम चुनाव हो । उहाँले यस क्षेत्रको विकासमा ठूलो योगदान दिनुभएको छ । यो पटक हामी उहाँलाई सम्मानका साथ जिताएर बिदाइ गर्न चाहन्छौं ।’ 

युवा पुस्ता र नयाँ मतदाताको चाहना गगन थापातिर ढल्केको देखेपछि गच्छदारले यो रणनीति अगाडि सारेका नेताहरू नै बताउँछन् ।

यद्यपि, मतदाताहरूले भने गच्छदारलाई सिधा प्रश्न सोधिरहेका छन्– ‘तपाईं फेरि किन चुनावी मैदानमा ?’ 

राम प्रसादका अनुसार, ८ औं पटक चुनावी मैदानमा रहेका गच्छदारले गाउँ–गाउँमा जाँदा यस प्रश्नको निरन्तर जवाफ दिइरहनु परेको छ । उनले प्रयोग गर्ने ब्यानरमा अर्को नारा पनि छ– ‘बदलियो कांग्रेस, बदल्छौं देश, नयाँ सोच, नयाँ विचार’। 

तर, आफैं दशकौंदेखि पदमा रहँदा नबदलिएका गच्छदारले ‘बदलिने’ कुरा गर्दा स्थानीयहरू अचम्म मान्छन् । गच्छदारको भोट माग्ने कांग्रेस कार्यकर्ता भने केपी ओली नेतृत्वको सरकारमा विजय भएको भए जेनजी आन्दोलन नहुने भन्दै प्रचार गरिरहेका छन् । उनी त्यो सरकारमा भएको भए भदौ २३ गते नै केपी ओलीलाई समेत राजीनामा गर्न गच्छदारले बाध्य पार्ने रामप्रसादको दाबी छ । 

गच्छदारले गगनको सहारा लिएझैँ, यसै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका अशोक कुमार चौधरीले पनि रास्वपाका वरिष्ठ नेता बालेन शाहको सहारा लिएका छन् । अशोक यसअघि समानुपातिकतर्फ सांसद भइसकेका व्यक्ति हुन् ।  तर, प्रत्यक्षतर्फको चुनावी भिडन्तमा उनलाई आफ्नो व्यक्तिगत चिनारीभन्दा बालेनको छवि बढी उपयोगी लागेको देखिन्छ । 

null

उनको प्रचार सामग्रीमा ‘अबकी बेर बालेन सरकार’ भन्ने नाराले प्राथमिकता पाएको छ ।  गगन थापा सर्लाही क्षेत्र नम्बर ४ मा उम्मेदवार छन् भने बालेन शाह झापा क्षेत्र नम्बर ५ मा उम्मेदवार हुन् । दुवै जनालाई पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेर चुनावमा होमिएको छ । 

तर सबैतिर माहोल एउटै नरहेको स्थानीय बताउँछन् । बर्जु-६ का राम कुमार राई भन्छन्, ‘यहाँका युवाहरू परिवर्तन भन्दै बालेनको प्रचार गरिरहेका छन् । बजार एरियामा ‘घण्टी’को चर्चा छ, तर गाउँतिर पुग्दा अझै पनि एमाले र कांग्रेसकै पुरानो पकड छ । धेरै युवाहरूको नाम मतदाता नामावलीमा छैन, त्यसैले बूढापाकाको भोट कता जान्छ, त्यसैले हारजित तय गर्नेछ ।’

नेकपा एमालेले यस क्षेत्रमा फेरि पनि भगवती चौधरीलाई नै मैदानमा उतारेको छ । गच्छदार र भगवती चौथो पटक आमनेसामने भएका छन् । 

२०७० सालको चुनावमा मात्र ३६२ मतले पराजित भएकी भगवतीले २०७४ मा पनि कडा टक्कर दिएकी थिइन् । २०७९ को निर्वाचनमा भने उनले गच्छदारलाई पराजित गर्न सफल भइन् ।  यसपटक पनि उनी बलियो उम्मेदवारका रूपमा छिन्, तर उनीमाथि पनि प्रश्नहरूको कमी छैन । 

फरवार्ड लघुवित्तको अध्यक्ष समेत रहेकी भगवतीमाथि ऋण मिनाहाको आश्वासन दिएर पूरा नगरेको आरोप छ । बर्जु-६ की सीतादेवीले आक्रोश पोख्दै भनिन्, ‘पहिला चुनावको बेला लघुवित्तको ऋण मिनाहा गरिदिन्छु भन्नुभएको थियो, पछि ब्याज समेत छुट भएन । हामी गरिबलाई झुक्याउने काम मात्र भयो ।’

स्थानीय रूपलाल दासको आरोप पनि उस्तै छ । ‘भगवतीले गरिबका लागि घर बनाइदिने आश्वासन बाँड्नुभयो, तर चुनाव जितेपछि उहाँ गाउँ फर्केर आउनुभएन । पदमा पुगेपछि नेताहरूले हामीलाई बिर्सिन्छन्,’ उनले भने । 

सीतागंजमा भेटिएका गोविन्द नेपालले भगवतीले पुरै कार्यकाल काम गर्न नपाएकाले सहानुभूतिको भोट आउने दाबी गरे । 

null

सुनसरी क्षेत्र नम्बर ३ को भूगोल विविध छ। यसमा इटहरीका १० वटा वडा, इनरुवा नगरपालिकाको ७ नम्बर वडा, गढी गाउँपालिकाका ६ वटा वडा, दुहबी नगरपालिकाका १२ वटा वडा र बर्जु गाउँपालिकाका ६ वटा वडा समेटिएका छन् । 

कूल १ लाख ३४ हजार ३०२ मतदाता रहेको यस क्षेत्रमा विकासका मुद्दा पनि उत्तिकै पेचिला छन् । गच्छदार भौतिक पूर्वाधार मन्त्री भएका बेला हुलाकी राजमार्गको रुट अन्यत्र सारेको कारण सीतागञ्ज क्षेत्रका बासिन्दा उनीसँग अझै रुष्ट छन् । अर्कोतर्फ, रास्वपाका उम्मेदवार अशोक चौधरीलाई धेरैले व्यक्तिगत रूपमा नचिन्ने गरेको बताउँछन् । तर, ‘अशोकलाई नचिने पनि बालेन र घण्टीलाई चिन्छौं’ भन्नेहरूको संख्या बजार क्षेत्रमा बढ्दो छ ।

गच्छदारको राजनीतिक इतिहास निकै लामो छ । २०४८ र त्यसयता भएका एउटा बाहेकका चुनावको नतिजा आफ्नो पोल्टामा पारेका गच्छदारले २०७९ को निर्वाचनमा भने पराजय भोग्नु परेको थियो ।  उनी अहिले ८ औं पटक संसद् छिर्ने योजनामा छन् । 

२०४८ देखि २०७४ सम्म भएका सबै चुनावमा गच्छदारले बाजी मारेका थिए । २०४८, २०५१, २०५६ र २०७४ गरी चारवटा चुनावमा उनले कांग्रेसबाट जिते । २०४८ मा उनले एमालेका लीला श्रेष्ठलाई झन्डै दोबर मतले पराजित गरी संसद्को पहिलो यात्रा तय गरेका  थिए। २०५१ को मध्यावधि चुनावमा एमालेका कुलदीप पेशकर र २०५६ मा एमालेकै रेवतीरमण भण्डारीलाई पराजित गरी उनी सिंहदरबार छिरेका थिए ।

२०६४ को चुनावमा उनले कांग्रेस छाडिसकेका थिए । मधेशी जनअधिकार फोरमबाट उम्मेदवार बनेका उनले कांग्रेसका अगमलाल चौधरीलाई झण्डै दोब्बर मतले पराजित गरे । २०७० को दोस्रो संविधानसभा चुनावमा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट उम्मेदवार बने । फोरम (लोकतान्त्रिक)को अध्यक्ष गच्छदार आफैं थिए ।

उनले त्यतिबेला ३६२ मतको अन्तरले एमालेकी भगवती चौधरीलाई हराएका थिए । त्यसपछि उनले आफ्नै नेतृत्वमा रहेको फोरम (लोकतान्त्रिक)लाई कांग्रेसमा विलय गराए । पुरानै घरमा फर्किएका गच्छदार कांग्रेसको उपसभापति बने । 

null

२०७४ को निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेर उनले दोस्रो पटक पनि भगवतीलाई पराजित गरे । तर, पछिल्लो समय ललिता निवास जग्गा प्रकरणमा मुद्दा लागेपछि उनको छविमा केही असर परेको देखिन्छ । ६ पटक सांसद हुँदा १२ पटक मन्त्री भएका गच्छदारका लागि अहिले भगवती चौधरी र अशोक कुमार चौधरीले ठूलो चुनौती दिइरहेका छन् ।

दशकौं सत्तामा रहेका गच्छदार आफ्नो विरासत जोगाउन ‘युवा नेता’ गगन थापाको नाम जप्दैछन् भने अर्कोतिर नयाँ भनिएका शक्तिहरू पनि आफ्नै एजेन्डा भन्दा बालेन शाह जस्ता ‘क्रेजी’ पात्रको ओत लाग्न बाध्य छन् ।

मतदाताहरू भने पुरानाको आश्वासन र नयाँको अन्योलबीच पिरोलिएका छन् । वैशाखको गर्मी जस्तै रापिलो बनेको यो चुनावी प्रतिस्पर्धामा अन्ततः सुनसरी-३ का १ लाख ३४ हजार ३०२ मतदाताले कसको ‘सहारा’लाई अनुमोदन गर्ने हुन्, भन्ने हेर्न भने फागुन २१ सम्म पर्खनु पर्ने छ । 

यसपटकको चुनावमा उम्मेदवारको आफ्नै व्यक्तित्व र एजेन्डा भन्दा पनि ब्यानरमा छापिएका अन्य चर्चित अनुहारले मतदाताको ध्यान तानिरहेका छन् । कतिपय मतदाताले त उम्मेदवारलाई चिन्नु भन्दा पनि उनीहरूले बोकेका गगन र बालेनका तस्वीरलाई हेरेर आफ्नो धारणा बनाइरहेका छन् । यो क्षेत्रमा २३ जना उम्मेदवार रहेका छन् ।

#चुनावीग्राउन्डजिरो

salt training

कमेन्ट गर्नुहोस्