
लागुऔषध ब्राउनसुगरसहित वीरेन्द्रनगरबाट चार जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेतका २१ वर्षीय अर्जुनकुमार प्रजापति, वडा नम्बर ७ का २२ वर्षीया ललितासिंह ठकुरी, नरहरिनाथ गाउँपालिका–९ कालीकोटका १८ वर्षीय रमेश रावल र ठाकुरबाबा नगरपालिका–७ बर्दियाका २२ वर्षीया अर्जुन बुढा रहेका छन् ।
पक्राउ परेका आरोपितहरूको साथबाट एक ग्राम ५६० मिलीग्राम लागुऔषध नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक बुढ्थापाले बताए ।
उनले भने, 'स्थानीयले वीरेन्द्रनगरका विभिन्न क्षेत्रमा लागुऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले चलाएको विशेष अप्रेशनका क्रममा उनीहरूलाई शङ्कास्पद अवस्थामा फेला पारिएको थियो । खानतलासी गर्दा लागुऔषध नै भेटियो ।'
उनीहरूका साथबाट नाइट्राजेपाम ३१ ट्याब्लेट फेलापरेको बताउँदै प्रहरीले पक्राउ परेकाहरूको आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ ।
त्यसैगरी, जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त नौगाड गाउँपालिका–२ का २७ वर्षीय भूपेन्द्रसिंह ठगुन्नालाई काठमाडौं जिल्ला वडा एरियामा लुकीछिपी बसेको अवस्थामा फेला पारेर पक्राउ गरी सुर्खेत प्रहरीमा ल्याई उक्त मुद्दामा ठगुन्नालाई अनुसन्धान थालिएको जनाइएको छ ।