२८ जेठ २०८३, बिहीबार
चुनावी बहसको नयाँ प्रस्ताव

निर्वाचनलाई एजेन्डामुखी बनाउने सूत्र

माघ २४, २०८२
काठमाडौं
निर्वाचनलाई एजेन्डामुखी बनाउने सूत्र

निर्वाचन केवल सत्ता हस्तान्तरणको प्रक्रिया मात्र होइन, यो विकासका राष्ट्रिय एजेन्डा पहिचान, बहस र नीति निर्माणका लागि जनआवाज संकलन गर्ने अवसर पनि हो । निर्वाचन नीति निर्माता (विधायक)लाई मार्गनिर्देश गर्ने जनआधार प्राप्तिको मौका हो । तर, हाम्रोमा प्रायः निर्वाचन वाचाहरूको पोको, भावनात्मक याचना, आरोप–प्रत्यारोप र व्यक्तिकेन्द्रित टिप्पणीमा सीमित हुने गरेको छ । सायद यही कारणले गर्दा निर्वाचनपछि विकासप्रति असन्तुष्टि, राज्यप्रति अविश्वास र नेताप्रति आक्रोश बढ्ने गरेको हो । राजनीतिसँग जोडिएर देखा पर्ने निराशा र आक्रोशहरूको पछाडि उम्मेदवार र राजनीतिक दल मात्र होइन, मतदाता पनि उत्तिकै जिम्मेवार हुनुपर्छ ।

अब निर्वाचनमा मतदाता र उम्मेदवारबीचको संवादलाई रचनात्मक, विकासमुखी र सहभागितामूलक बनाएर नयाँ अभ्यास शुरू गर्ने समय आएको छ । यसका लागि धेरै उपाय हुन सक्छन् । एक मतदाताको रूपमा यो लेखमा मैले एउटा प्रस्ताव राखेको छु, जसलाई थप परिष्कृत र परिमार्जित बनाउन शृंखलाबद्ध बहस गर्न सकिन्छ । यस प्रस्तावमा सबैभन्दा पहिले राजनीतिक दल र उनीहरूका घोषणापत्रको मूल्यांकनलाई उठान गरिएको छ । राजनीतिक दलको घोषणापत्र यदि नागरिकको आवाजबाट बनेको छ भने मात्र त्यो शासन र विकासको प्रभावकारी औजार बन्छ; अन्यथा चुनावमा भोट माग्ने आश्वासन पत्र र भ्रमपत्र मात्र बन्न पुग्छ । घोषणापत्रलाई जनताको विकास अधिकार र राज्यको दायित्व जोड्ने साझा पुलको रूपमा विकास गर्न मतदाता सचेत बन्नुपर्छ भने राजनीतिक दलहरू जिम्मेवार र जवाफदेही हुनुपर्छ । यसका लागि आसन्न चुनाव अचुक अवसर हो ।

साझा वाचा: विकासका मुद्दा
विकास भनेको चुनावका बेला गरिने चर्चा र उम्मेदवारले बाँड्ने आश्वासन मात्र होइन । विकास भनेको नागरिकले दैनिक जीवनमा अनुभूति गरेका आवश्यकताको आपूर्ति, भोगेका समस्याको निदान र सम्भावनाको खोजी हो । यसको मौलिक धरातल अन्तर्राष्ट्रिय कानुन, संविधान र योजनालगायतका साझा दस्तावेजसँग जोडिएको हुन्छ । तर, नागरिकसम्म पुग्दा विकास कतै बाटोसँग, कतै रोजगारीसँग, कतै शिक्षा र स्वास्थ्यसँग त कतै सार्वजनिक सेवा प्रवाहसँग जोडिन पुग्छ । विकासका यी आवश्यकता नागरिक आफैँले सबैभन्दा राम्रोसँग बुझेका हुन्छन् र त्यसको प्राथमिकीकरण पनि उनीहरूले नै पहिल्याउन सक्छन् ।

यद्यपि, सबै नागरिकले ती विकासलाई संविधान, राजनीतिक वाद वा सिद्धान्तसँग जोडेर व्याख्या गर्न सक्दैनन् । भोट तान्नका लागि उम्मेदवारले त्यही विन्दुमा बसेर भ्रम र अन्योलपूर्ण भाषण गर्दै मतदातालाई अलमल्याउने जुक्ति रचेको देखिन्छ । साझा बुझाइमा रिक्तता रहेका यस्ता धेरै विन्दुहरू छन्, जहाँ उम्मेदवारले भोट संकलनको अवसर देख्छन् तर मतदाता भने अन्यायमा परिरहेका हुन्छन् । अब नागरिकको भोटमाथि हुने यस्तो अन्याय अन्त्यका लागि मतदाता सचेत हुनुपर्छ । यसका लागि सूत्रबद्ध वाचा र बहस जरुरी छ ।

चेकलिस्टमा आधारित संवादको थालनी
अबको चुनावी बहस मतदातालाई अल्मल्याउने अमूर्त आश्वासनबाट माथि उठेर उम्मेदवारको प्रतिबद्धता मूल्यांकन गर्ने सूत्रबद्ध बहसमा स्तरोन्नति हुन आवश्यक छ । परम्परागत चुनावी शैलीलाई यथार्थपरक र परिणाममुखी बनाउन राजनीतिक दलहरूले आफ्ना घोषणापत्रबाटै सुधारको शुरूवात गर्नुपर्छ । यसका लागि घोषणापत्रका प्रतिबद्धताहरूको 'राष्ट्रिय मूल्यांकन सूची' (चेकलिस्ट) बनाउनुपर्छ ।

उक्त घोषणापत्रका आधारमा प्रत्येक उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रअनुसार स्थानीयकरण गरी व्यावहारिक योजना, सोच र कार्यखाका तयार गरेर नागरिकसँग बहस र वाचा गर्नुपर्छ । यस क्रममा स्थानीय, प्रदेश र संघीय सरकारबीचको सहकार्यको स्पष्ट मोडालिटी तय गरी आफूले वाचा गरेका कार्यमा कुन तहको सरकारबाट कति जिम्मेवारी र स्रोत परिचालन गर्ने भन्ने स्पष्ट खाका प्रस्तुत गर्नुपर्छ । यसो गर्न सक्ने उम्मेदवारले मात्र हाम्रो संवैधानिक शासन प्रणाली, विकास प्रक्रिया र जनप्रतिनिधिको दायित्व बुझ्ने हैसियत राख्छन् । यस्तो अभ्यासले मतदातालाई उम्मेदवारको सामर्थ्य र कार्यक्षमताको मूल्यांकन गर्न सजिलो हुन्छ ।

निर्वाचन सञ्चालनमा राज्यले खर्च गर्ने ठूलो रकम नागरिककै करबाट संकलित हुन्छ । यो खर्च केवल मत हाल्ने प्रक्रियामा मात्र सीमित रह्यो भने यसको पूर्ण मूल्य प्राप्त हुँदैन ।

यदि उम्मेदवारले यस्ता विषयमा स्पष्ट दृष्टिकोणसहित कार्ययोजना प्रस्तुत गर्न सक्छ भने मात्र उसले वर्तमान राज्य संरचना, कार्यप्रणाली र सीमाबारे आधारभूत समझ राखेको मान्न सकिन्छ । यसबारे मतदातालाई स्पष्ट जवाफ दिन राजनीतिक दलहरूले घोषणापत्रमा आधारित संघीय तहको साझा मार्गदर्शन तयार गरी वाचाहरूमा एकरूपता कायम गर्न सक्छन् । यसका आधारमा आफ्ना हरेक उम्मेदवारलाई 'चेकलिस्ट' उपलब्ध गराई नागरिकसँग संवाद गर्ने औजार निर्माण गरिदिन सकिन्छ । यस्तो चेकलिस्टमा रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सुशासन, सामाजिक न्याय, युवा–महिला सहभागिता र वातावरणजस्ता आधारभूत विषय छुट्नु हुँदैन । उम्मेदवारले यी विषयलाई स्थानीय परिवेशअनुसार नागरिकसँग छलफल गरी उनीहरूका एजेन्डामा आफूलाई जोड्न सक्छन् ।

यस्ता चेकलिस्टमा आधारित छलफललाई चुनावी कार्यक्रममा मात्र सीमित नराखी नागरिकबाट प्राप्त सुझाव, समस्या र प्राथमिकता संकलन गरी पार्टीको केन्द्रीय संरचनामा पठाउन सकिन्छ । प्राप्त तथ्यलाई विज्ञ तथा प्राविधिक टोलीमार्फत विश्लेषण गरी साझा राष्ट्रिय एजेन्डा तयार गर्न सकिन्छ । यस प्रक्रियाले उम्मेदवारलाई एजेन्डाकेन्द्रित प्रतिबद्धता गर्न बाध्य बनाउँछ भने नागरिकलाई पनि आफ्नो आवश्यकता स्पष्ट रूपमा प्रस्तुत गर्ने अवसर दिन्छ । यस्तो अभ्यासले राजनीतिक दल, उम्मेदवार र चुनावी संस्कृतिमा सकारात्मक परिवर्तन ल्याउन सक्छ ।

सार्थक चुनावी बहसका सफल अभ्यासहरू
विश्वका धेरै लोकतान्त्रिक मुलुकहरूले पछिल्लो समय नागरिककेन्द्रित चुनावी विकास बहस र अभ्यास अपनाएका छन् । नागरिकसँग गरिएका यस्ता अर्थपूर्ण बहस र त्यसकै आधारमा तयार पारिएका घोषणापत्रले शासन र विकासको दिशा नै बदलिदिएका उदाहरण छन् । युरोपेली देश फिनल्याण्डमा चुनावअघि राजनीतिक दलहरूले ‘पब्लिक पोलिसी डाइलग’ (सार्वजनिक नीति संवाद) सञ्चालन गर्छन्, जहाँ नागरिकका सुझाव संकलन गरी घोषणापत्रमा समेटिन्छ । त्यस्ता घोषणापत्र सरल, स्पष्ट र नागरिकको सरोकारसँग प्रत्यक्ष जोडिने खालका हुन्छन् । फिनल्याण्डको शिक्षा विश्वमै उत्कृष्ट मानिनुको एउटा कारण शिक्षा सुधारमा नागरिकबाट प्राप्त सुझावलाई राजनीतिक दलहरूले स्वामित्व लिनु पनि हो ।

न्युजिल्याण्डमा सन् २०१७ पछि ‘वेलबिइङ बजेट’ (कल्याणकारी बजेट) को अवधारणा नागरिक बहसबाटै विकसित भयो । चुनावी छलफलमा उठेका मानसिक स्वास्थ्य, बाल कल्याण र सामाजिक असमानताका मुद्दा घोषणापत्रमा समेटिए र पछि ती सवालहरू राष्ट्रिय बजेटकै प्राथमिकता बने । क्यानडामा ‘कम्युनिटी कन्सल्टेशन मोडेल’ मार्फत उम्मेदवारहरूले स्थानीय नागरिकसँग विषयगत बहस गरी त्यसको प्रतिवेदन सार्वजनिक गर्छन् । यसले नागरिकलाई प्रश्न सोध्ने आधार दिन्छ भने उम्मेदवारलाई समुदायकेन्द्रित वाचामा बाँधिएर जिम्मेवार र जवाफदेही बनाउँछ ।

यी अभ्यासहरूले निर्वाचनको संवाद रचनात्मक, सहभागितामूलक र नीतिसँग जोडिएको छ भने त्यसले चुनाव जित्न मात्र होइन, शासन सुधार र विकासको दिशानिर्देश गर्न पनि मद्दत गर्छ भन्ने पुष्टि गर्छन् । यस्तो अभ्यासबाट नागरिकको आवश्यकता र राज्यको स्रोतको सीमितताबारे दलहरूको बुझाइ मापन गर्न सकिन्छ । निर्वाचनपछि जनप्रतिनिधिले बहाना बनाउने वा वाचाबाट भाग्ने ठाउँ साँघुरिँदै जान्छ र उम्मेदवारहरू हावादारी गफबाट यथार्थको धरातलमा आउँछन् ।

नागरिक अग्रसरताको बहस जरुरी
नेपालको संविधानले नागरिकलाई केवल मतदान गर्ने अधिकार मात्र होइन, विकासमा सहभागी हुने अधिकार पनि सुनिश्चित गरेको छ । संविधानको धारा २५, ३३ र ५१ ले विकासको अधिकार, सामाजिक न्याय र राज्यका निर्देशक सिद्धान्तमार्फत समावेशी विकासलाई राज्यको दायित्वका रूपमा स्थापित गरेका छन् । यही संवैधानिक मर्म कार्यान्वयनको जनअनुमोदन खोज्ने राजनीतिक दलहरूलाई प्रश्न सोध्ने र खबरदारी गर्ने सबैभन्दा उपयुक्त समय निर्वाचन नै हो ।

यदि चुनावलाई मत माग्ने अवसरका रूपमा मात्र सीमित नगरी नागरिकसँग विकासबारे गहिरो संवाद गर्ने अवसरका रूपमा उपयोग गरियो भने त्यसले राष्ट्रिय महत्त्वका परिणामहरू दिन सक्छ ।

निर्वाचनमा खर्च हुने नागरिकको करको पूर्ण मूल्य तब मात्र प्राप्त हुन्छ, जब यसलाई विकास संवादसँग जोडिन्छ । यसरी संकलित एजेन्डाहरू राष्ट्रिय आवधिक योजना, क्षेत्रगत रणनीति र वार्षिक बजेट निर्माणका लागि उपयोगी 'विकास वैभव' हुन सक्छन् । यसले निर्वाचनलाई लोकतन्त्रको किफायती र लक्ष्यकेन्द्रित अभ्यास बनाउँछ, जसले नागरिकको मताधिकारलाई विकास अधिकारसँग सार्थक रूपमा जोड्छ ।

जब उम्मेदवार र नागरिक विकासका एजेन्डामा गहिरो संवाद गर्छन्, तब चुनावी बहस व्यक्तिबाट मुद्दाकेन्द्रित बन्छ । विश्व बैंकका अनुसार नागरिक सहभागी भएका विकास कार्यक्रममा सार्वजनिक सेवाको प्रभावकारिता ३० प्रतिशतसम्म सुधार भएको छ । सार्वजनिक सेवा सुधार नेपालको मुख्य एजेन्डा हो । यदि चुनावी संवादलाई देशभर रचनात्मक बनाउन सकिए, यसले एकातिर सक्षम मतदाता निर्माण गर्नेछ भने अर्कोतिर राजनीतिक दल र नागरिकको साझा स्वामित्व रहेको राष्ट्रिय विकासको खाका तयार हुनेछ । त्यसैले अबको चुनावी बहस समाज बदल्ने घोषणापत्र र सक्षम उम्मेदवार पहिचान गर्ने दिशामा केन्द्रित हुनुपर्छ ।

salt training

कमेन्ट गर्नुहोस्