
दिग्गज नेपाली अभिनेता सुनील थापाको शुक्रबार निधन भएको छ । उनको निधनको खबरसँगै चलचित्र क्षेत्रमा शोकको लहर फैलिएको छ । सुनील थापा नेपालमा मात्र नभई भोजपुरी र बलिउड चलचित्रमा पनि परिचित नाम हो । सन् २०१४ मा रिलिज भएको प्रियंका चोपडाको चर्चित चलचित्र ‘मेरी कॉम’मा उनको दमदार अभिनय आज पनि दर्शकले सम्झिरहेका छन् ।
उनको निधनको खबर सुनेपछि अभिनेत्री प्रियंका चोपडा भावुक बनेकी छन् । उनले आफ्नो अनस्क्रिन कोच तथा सहअभिनेता सुनील थापालाई सम्झिँदै सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भावुक सन्देश सार्वजनिक गरेकी छन् । प्रियंकाले सुनील थापा केवल सहअभिनेता मात्र नभई आफ्नो जीवनको एक कठिन समयमा साथ दिने व्यक्ति भएको उल्लेख गरेकी छन् ।
प्रियंका चोपडाले के लेखिन्?
प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राममा ‘मेरी कॉम’ चलचित्रका केही विशेष क्षण समेटिएको भिडियो क्लिप शेयर गरेकी छन् ।
त्यसमा उनी सुनील थापासँग देखिन्छिन्। उक्त चलचित्रमा प्रियंकाले बक्सर मेरी कॉमको भूमिका निर्वाह गरेकी थिइन् भने सुनील थापा उनका कोच नरजित सिंहको भूमिकामा देखिएका थिए ।
सुनील थापाको निधनप्रति शोक व्यक्त गर्दै प्रियंकाले लेखेकी छन्, “तपाईं सधैं मेरा कोच सर नै रहनुहुनेछ । जब मैले मेरा पितालाई गुमाएँ, त्यस कठिन समयमा तपाईंले मलाई सम्हाल्नुभयो । तपाईंले मलाई माया गर्नुभयो र थाहा नदिई धेरै कठिन दिनमा सहयोग गर्नुभयो । तपाईंको आत्मीय अँगालो र हाँसो सधैं मेरा सम्झनाको हिस्सा रहनेछ । तपाईं धेरै चाँडै जानुभयो, तर कहिल्यै बिर्सन सकिँदैन ।”
उनले थप लेखेकी छन्, “म पूर्ण रूपमा टुटेको बेला मेरो साथ दिनुभएकोमा धन्यवाद । सुनील थापा, तपाईंको आत्माले शान्ति पाओस् । मेरो समवेदना र प्रार्थना तपाईंको परिवार तथा प्रियजनहरूसँग छ ।”