
तराईमा लामो राजनीतिक विरासत र अनुभव बोकेका दुई नेता लगातार आठौँ पटक चुनावी मैदानमा उत्रिएका छन्। २०४८ देखि २०८२ सम्मको निर्वाचनमा नेताद्वय हृदयेश त्रिपाठी र सर्वेन्द्रनाथ शुक्ला निरन्तर उम्मेदवार छन्।
त्रिपाठी नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ र शुक्ला रूपन्देही क्षेत्र नम्बर ४ बाट चुनावी मैदानमा छन्। सात पटकसम्म चुनावी प्रतिस्पर्धा गरिसकेका नेताद्वय यसपटक पनि जनताको विश्वास पाउने आशासहित चुनावी दौडमा निस्किएका हुन्।
दुवै नेता राजनीतिक यात्रामा जीत-हार, दल परिवर्तन र सत्ता-प्रतिपक्षको अनुभवले खारिएका नेतामा पर्छन्। त्रिपाठीको भिडन्त अघिल्लो पटकका प्रतिस्पर्धी उद्योगपति विनोद चौधरीसँग हुँदैछ। त्रिपाठी र शुक्ला जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार हुन्।
यो निर्वाचन क्षेत्रबाट पाँच पटकसम्म चुनाव जितेका ६६ वर्षीय त्रिपाठी गुमेको सिट फर्काउने कसरतमा छन्। २०४८ सालयता भएका सबै ७ वटा निर्वाचनमा उम्मेदवार भएका नेता त्रिपाठी आठौँपटक जसपाबाट चुनावी मैदानमा उत्रिएका हुन्। नेपाली राजनीतिका चतुर खेलाडी मानिने त्रिपाठीले २०४८, २०५१, २०५६, २०६४ र २०७४ गरी पाँचपटक चुनाव जितेका छन्। २०७० को दोस्रो संविधानसभा र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनले पराजय बेहोरेका थिए।
गत निर्वाचनमा त्रिपाठी उद्योगपति तथा नेपाली कांग्रेसका नेता विनोद चौधरीसँग पराजित भएका थिए। आफू अनुकूलको राजनीति गर्न सिपालु त्रिपाठीले २०७४ सालमा नेकपा (एमाले) को सूर्य चिह्नबाट चुनाव जितेका थिए। २०७९ को चुनावमा उद्योगपति चौधरी कांग्रेसबाट उम्मेदवार बनेपछि त्रिपाठीले अर्को चुनावी रणनीति अघि सारे।
आफ्नै नेतृत्वमा दर्ता गरेको जनता प्रगतिशील पार्टी (जप्रपा)को चुनाव चिह्न लिएर एमालेको समर्थनमा उनी चुनाव लडेका थिए। अन्ततः एमालेले समर्थन गरे पनि त्रिपाठी ७ हजार १९१ मतले चौधरीसँग पराजित हुन पुगे।
कांग्रेस र तत्कालीन माओवादी गठबन्धनबाट चौधरीले २९ हजार ५१९ मत पाउँदा त्रिपाठी २२ हजार ३२८ मतमा सीमित भए। दुई पटकसम्म गुमेको साख फर्काउन त्रिपाठी अहिले चार मधेशवादी दलको एकीकरणपछि बनेको जसपाबाट उम्मेदवार छन्। २०७९ को चुनावमा त्रिपाठी लड्दा ती मधेशवादी दलले उम्मेदवारी दिएका थिएनन्। चार दल एकीकरण भएर जसपाबाट चुनाव लड्नुभएका त्रिपाठीलाई अंकगणितमा ठूलो फेरबदल नभए गत निर्वाचनको परिणाम अनुसार चुनाव जित्न त्यति सहज छैन।
त्रिपाठीले २२ हजार ३२८ मत पाउँदा अहिले एक भएका मधेशवादी चार दलले समानुपातिकतर्फ झिनो मत पाएका थिए। जसअनुसार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जम्मा ५८, जसपाले २६९ र तमलोपाले १० मत पाएका थिए भने त्रिपाठी नेतृत्वको जप्रपाले ३ हजार ९३६ मत पाएको थियो।
यसरी अहिले एकीकरण भएका चार मधेशवादी दलले २०७९ को चुनावमा समानुपातिकतर्फ जम्मा ४ हजार २७३ मत पाएका थिए। ‘५ जीत २ हार बेहोरेँ,’ त्रिपाठी भन्छन्, ‘नियमित (रेगुलर) चुनाव २०८४ मा हुने भनिए पनि आकस्मिक रूपमा २०८२ मा हुँदैछ। यो चुनावमा जनतामा उत्साह पाइनँ। तर पनि मेरो प्रतिस्पर्धी अर्बपति हुनुहुन्छ। नागरिकले विचार हेर्नेछन् र मलाई मत आउनेछ भन्ने आशामा छु।’
क्षेत्र नम्बर १ मा त्रिपाठीको व्यक्तिगत प्रभाव पनि राम्रो छ। हरेक चुनावमा त्रिपाठीको मत केही तलमाथि हुँदै आएको छ। मधेशवादी चार दलको समानुपातिकतर्फको मतसँगै २०७९ मा कांग्रेसले २३ हजार ५१५ मत समानुपातिकतर्फ पाएको थियो। गत निर्वाचनको अंकगणित र स्थानीय तहका प्रमुखहरूको प्रतिनिधित्वले पनि त्रिपाठीलाई चुनाव जित्न त्यति सहज देखिँदैन। यो निर्वाचन क्षेत्रमा बर्दघाट नगरपालिका, प्रतापपुर र सुस्ता गाउँपालिका पर्छन्। ती सबै पालिकामा कांग्रेसले जितेको छ। त्यस्तै, क्षेत्र नम्बर १ मा सरावलको वडा नम्बर ४, ५, ६ र ७ पर्दछन्, जहाँ एमालेले जितेको छ।
यता मधेशी समुदायको बढी प्रभाव रहेको रूपन्देही क्षेत्र नम्बर ४ का सर्वेन्द्रनाथ शुक्ला पनि राजनीतिक रूपमा लामो समयदेखि निरन्तर सक्रिय नेतामा पर्छन्। दक्षिण भेग मर्चवार क्षेत्र विगतमा क्षेत्र नम्बर ५, संविधानसभा चुनावको बेला क्षेत्र नम्बर ६ र २०७४ को निर्वाचन क्षेत्र पुनर्संरचनापछि क्षेत्र नम्बर ४ मा पर्छ। यो क्षेत्रमा कुनै पनि दल र उम्मेदवारले लगातार संसदीय चुनाव जितेका छैनन्।
शुक्लाले नै अघिल्लो निर्वाचनमा पराजित गरेका प्रमोद यादवसँग यसपालि प्रतिस्पर्धा हुँदैछ। शुक्लाले अघिल्लो निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट उम्मेदवार बनेर जित निकालेका थिए। उनी यो पटक जसपाबाट उम्मेदवार बनेका हुन्। उनीसँगका प्रतिस्पर्धी यादव यसअघि कांग्रेसबाट उम्मेदवार थिए भने योपटक एमालेबाट उम्मेदवार छन्।
शुक्लाले राप्रपा, तत्कालीन मधेशी जनअधिकार फोरम, तमलोपा र कांग्रेसबाट एक-एक पटक सांसद जितेका छन्। २०४८ सालदेखि लगातार उम्मेदवार बनेका ७६ वर्षीय शुक्ला ३ पटक विजयी त बने, तर लगातार नभई समयको अन्तरालमा जित निकाल्ने गरेका छन्।
कुनै बेलाका सरकारी जागिरे शुक्लाले २०३४ सालमा जागिरबाट राजीनामा दिएका थिए। प्रजातन्त्र पुनःस्थापनापछि शुक्ला राजनीतिमा क्रियाशील हुँदै २०४७ सालमा कांग्रेसको क्रियाशील सदस्य बनेका हुन्। उनले २०४८ को संसदीय चुनावमा मर्चवार क्षेत्र अर्थात् तत्कालीन रूपन्देही–५ बाट चुनाव लड्न खोजेका थिए।
तर, टिकट नपाएपछि पार्टी परिवर्तन गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिए। पहिलो निर्वाचनमा भने उनी नेपाल सद्भावना पार्टीका श्यामसुन्दर गुप्तासँग पराजित भए। २०५१ सालको चुनावमा शुक्ला फेरि राप्रपाबाट उम्मेदवार बनेर जित हासिल गरे र सँगै मन्त्री पनि बने।
२०५६ सालको चुनावमा तेस्रोपटक राप्रपाबाट उम्मेदवार बने, तर सद्भावना पार्टीका यज्ञजित शाहसँग पराजित भए। केआई सिंहका छोरा शाह त्यसबेला कांग्रेसबाट टिकट नपाएर सद्भावना पार्टीबाट उम्मेदवार बनेका थिए।
२०६३ सालमा मुलुकमा लोकतन्त्र आएपछि उनले राप्रपा छोडेर महन्थ ठाकुरले गठन गरेको तमलोपा पार्टीमा आबद्ध भए। सोही दलबाट २०६४ सालको संविधानसभा चुनावमा उम्मेदवार बने पनि मधेशी जनअधिकार फोरमका ओमप्रकाश यादवसँग पराजित भए।
२०७० सालको दोस्रो संविधानसभा चुनावमा उनले फेरि जीत निकाले। २०७३ सालमा तमलोपा र सद्भावना पार्टीसहित विभिन्न मधेशवादी दल मिलेर राष्ट्रिय जनता पार्टी गठन भएको थियो। २०७४ सालको चुनावमा शुक्ला राजपाबाटै उम्मेदवार बने। तर कांग्रेसका प्रमोद यादवसँग ११ हजारको फराकिलो अन्तरले पराजित भएका थिए। २०७९ मा पनि शुक्ला महन्थ ठाकुर नेतृत्वकै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट उम्मेदवार बनेर रूपन्देही क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए।
मर्चवार क्षेत्रमा लगातार ७ वटा चुनावमा उम्मेदवार बनेका शुक्लाले तीनपटक मात्र विजयी भएका छन्। आठौँ पटक उम्मेदवार बनेका उनी चौथो जित निकाल्ने दाउमा छन्। राजनीतिको उत्तरार्द्धमा आइपुगेका शुक्लाले यो आफ्नो अन्तिम निर्वाचन भएको बताएका छन्।
२०७९ को संसद्ले पूरा कार्यकाल काम गरेको भए आफू योपटक उम्मेदवार नबन्ने उनी बताउँछन्। यस क्षेत्रमा कोटहीमाई गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका–२, १२ र १३, मायादेवी गाउँपालिका–२, ३, ४, ५ र ६, सम्मरीमाई गाउँपालिका र सियारी गाउँपालिका–५ र ६ पर्छन्।