
अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा भएको कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, सूचना तथा प्रसारण विभागका महानिर्देशक छविन्द्र पराजुली, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अधिकारी, पत्रकार तथा प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले अपराध अनुसन्धानमा सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले अनुसन्धान अघि नै असावधानीपूर्वक समाचार प्रकाशन हुँदा अनुसन्धान प्रक्रियामा असर पर्ने उल्लेख गर्दै जिम्मेवार र संयमित पत्रकारिताको आवश्यकता औंल्याए ।
पछिल्लो समय तथ्यहीन भ्रामक सूचना तथा एआईमार्फत तयार गरिएका भिडियोले शान्ति सुरक्षामा चुनौती थपेको उनको भनाइ थियो ।
कार्यक्रममा आईजीपी दानबहादुर कार्कीले प्रहरीको रणनीतिक योजनाअन्तर्गत सुझाव संकलन गर्ने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको बताए । उनले सञ्चार माध्यम र प्रहरीबीच मजबुत तथा जिम्मेवार सम्बन्ध आवश्यक रहेको उल्लेख गर्दै अपराध नियन्त्रण, अनुसन्धान र नागरिक सुरक्षामा दुवै पक्षबीच सहकार्य अपरिहार्य रहेको धारणा राखे । सत्य सूचना प्रवाह, जनचेतना अभिवृद्धि तथा सार्वजनिक सेवामा मिडियाको भूमिका महत्वपूर्ण रहने उनको भनाइ थियो ।
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले अपराध अनुसन्धानमा प्रहरीपछि महत्त्वपूर्ण भूमिका सञ्चार माध्यमकै हुने बताइन् । गलत सूचना, भ्रामक सामग्री तथा डिपफेक प्रविधिले मिडिया र अनुसन्धान दुवैलाई चुनौती दिएको उल्लेख गर्दै तथ्यपरक र जिम्मेवार सामग्री उत्पादनमा जोड दिइन् । समाचार आधिकारिक रूपमा प्रकाशन हुनुअघि सामाजिक सञ्जालमा हतारमा सामग्री राख्ने प्रवृत्तिले समेत समस्या निम्त्याउने उनको भनाइ थियो ।
कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष तथा पत्रकार लक्ष्मण हुमागाईंले गलत सूचना, भ्रामक सूचना तथा डिपफेकको प्रभाव, समाधानका उपाय र नियन्त्रणमा सञ्चार माध्यमको भूमिकासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमाथि सहभागीहरूले जिज्ञासा राखेका थिए भने अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालले टिप्पणी गर्दै कार्यपत्रले अनुसन्धान अधिकृत र पत्रकार दुवैका लागि उपयोगी हुने बताए ।
त्यसैगरी अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाहले डिपफेक तथा भ्रामक सूचनाबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौती, अपराध अनुसन्धानमा पर्ने प्रभाव तथा समाधानका रणनीतिसम्बन्धी दोस्रो कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपाल प्रहरीको प्रधान कार्यालयस्थित अडिटोरियम हलमा सम्पन्न कार्यक्रममा प्रश्नोत्तर सत्रपछि बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधानले सञ्चारकर्मीहरूको तर्फबाट टिप्पणी गरेका थिए ।