
साउदी अरबले देशभर रहेका लाखौँ ऊँटका लागि पासपोर्ट जारी गर्ने घोषणा गरेको छ । अधिकारीहरूका अनुसार यस कदमले यी बहुमूल्य जनावरहरूको राम्रो संरक्षण र व्यवस्थापन गर्न सहयोग पुग्नेछ । साथै, ऊँट पालनबाट हुने फाइदा अझ बढ्ने र ऊँट तथा तिनका मालिकबारे भरपर्दो डाटाबेस तयार हुने विश्वास गरिएको छ ।
पर्यावरण, जल तथा कृषि मन्त्रालयले सामाजिक सञ्जालमा सार्वजनिक गरेको एक भिडियोमा ऊँटका लागि तयार गरिएका कागजातहरू देखाइएको छ । भिडियोमा हरियो रंगको पासपोर्ट देखिन्छ, जसमा साउदी अरबको राष्ट्रिय चिन्ह (कोट अफ आर्म्स) र सुनौलो ऊँटको मुहर अंकित छ ।
सन् २०२४ मा गरिएको सरकारी अनुमानअनुसार साउदी अरबमा करिब २२ लाख ऊँट रहेका छन् । यी ऊँटले प्रत्येक वर्ष देशको अर्थतन्त्रमा दुई अर्ब रियालभन्दा बढी योगदान पुर्याउँछन् ।
अरब न्युजका अनुसार विश्वभर करिब ३ करोड ५० लाख ऊँट छन्, जसमध्ये १ करोड ७० लाख अरब देशहरूमा पाइन्छन् । ऊँटको संख्याका आधारमा सोमालिया पहिलो स्थानमा रहेको छ भने त्यसपछि सुडान, मौरिटानिया, साउदी अरब र यमन पर्छन् ।
ऊँट साउदी अरबको राष्ट्रिय प्रतीकको अभिन्न हिस्सा हो । देशमा ऊँटको सौन्दर्य प्रतियोगिता र शोहरू आयोजना गरिन्छ । यहाँ उत्कृष्ट ऊँटहरूलाई पुरस्कार प्रदान गरिन्छ । राष्ट्रिय दिवस, विशेष तथा ऐतिहासिक अवसरहरूमा हुने प्रदर्शनीहरू ऊँटबिना अधूरा मानिन्छन् । साउदी अरब र खाडी क्षेत्रका देशहरूमा ऊँटको भूमिका शताब्दीयौँ पुरानो इतिहाससँग जोडिएको छ ।