
भारतका विदेश सचिव विक्रम मिस्रीले रुसबाट तेल खरिद गर्ने विषयमा भारतको आधिकारिक धारणा सार्वजनिक गरेका छन् । उनले सरकारको प्राथमिकता भारतीय उपभोक्ताको हित रक्षा गर्नु रहेको बताए ।
सोमबार आयोजित एक पत्रकार सम्मेलनमा 'के भारतले रुसी तेल किन्न बन्द गर्न लागेको हो?' भन्ने अमेरिकी दाबीका सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
विदेश सचिव मिस्रीका अनुसार भारत आफ्नो ऊर्जा आवश्यकताका लागि कुनै एक स्रोतमा मात्र निर्भर छैन र भविष्यमा पनि त्यस्तो गर्ने कुनै मनसाय छैन। 'भारत तेल र ग्यास क्षेत्रमा आधारभूत रूपमा आयातकर्ता मुलुक हो,' उनले भने, 'हामी एक विकासशील अर्थतन्त्र हौँ र ८० देखि ८५ प्रतिशत आयातमा निर्भर हुनुपर्ने भएकाले ऊर्जाको लागतप्रति हामी सधैँ सचेत हुनुपर्छ।'
मिस्रीले भारतको ऊर्जा आयात नीति मुख्यतया तीनवटा उद्देश्यबाट निर्देशित हुने स्पष्ट पारे ।
विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितताका बीच भारतले आफ्नो आपूर्तिका स्रोतहरूलाई विविधीकरण गरिरहेको उनको भनाइ थियो।
तेल खरिदको वास्तविक प्रक्रियाबारे प्रष्ट पार्दै विदेश सचिव मिस्रीले सार्वजनिक र निजी क्षेत्रका तेल कम्पनीहरूले बजारको अवस्था र व्यावसायिक लाभका आधारमा खरिद गर्ने निर्णय लिने बताए ।