११ साउन २०८३, सोमबार
हेभिवेटले खाली गरेको मैदान

रूपन्देही-१ मा भोट ‘स्विङ’को डर, कांग्रेस-एमालेलाई विरासतको भर !

छविलाल-घनश्यामको ‘ब्रेक’ र सुनिलको ‘इन्ट्री’ले रोचक बन्दै प्रतिस्पर्धा
माघ २८, २०८२
बुटवल
रूपन्देही-१ मा भोट ‘स्विङ’को डर, कांग्रेस-एमालेलाई विरासतको भर !

दुई जित र एक हार बेहोरेका नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा आउँदो फागुन २१ गतेलाई तय भएको चुनावमा रूपन्देही–१ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार छैनन् । 

सचिव विश्वकर्माको चुनावी दौडमा ‘ब्रेक’सँगै गत निर्वाचनमा नेपाली कांग्रेसको समर्थनसहित उम्मेदवार बनेका ‘बौद्धिक नेता’ भनेर चिनिने घनश्याम भुसालले पनि यसपटक मैदान छाडेका छन् । 

प्रभावशाली दुई नेता उम्मेदवार नभएको यो क्षेत्रमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लुम्बिनी प्रदेश महामन्त्री सुनिल लम्सालको प्रवेश भएको छ । महामन्त्री लम्सालसँगै कांग्रेसका युवा नेता हिरा खत्री, एमालेका दधिराम न्यौपाने (माधव), नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का घनश्याम यादव र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रज्ज्वल बोहोरा उम्मेदवार छन् । 

खत्री देवदह नगरपालिकाका पूर्व प्रमुख (मेयर) हुन् भने न्यौपाने यही क्षेत्रबाट निर्वाचित पूर्व प्रदेशसभामा सांसद हुन् । यो क्षेत्र देख्दा शहरीजस्तो भए पनि ७० प्रतिशत भूगोल ग्रामीण क्षेत्रसँग जोडिएको छ ।

यादव २०६४ को पहिलो संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका नेता हुन् । त्यस्तै, युवा नेता बोहोरा राप्रपाका वरिष्ठ नेता स्व. दीपक बोहोराका छोरा हुन् । रूपन्देही–१ मा यस पटक ३१ जना चुनावी मैदानमा छन् । जसमा २० जना राजनीतिक दलगत र १० जना स्वतन्त्र उम्मेदवार हुन् । 

३० भन्दा बढी उम्मेदवार भए पनि यो क्षेत्रमा २१ फागुनमा हुने आमनिर्वाचनमा मुख्यगरी प्रतिस्पर्धा एमाले, कांग्रेस र रास्वपाबीच देखिन्छ । यद्यपि, सबैजसो उम्मेदवार आ–आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन् ।

यसपटक कांग्रेस-एमालेलाई भोट ‘स्विङ’को त्रास देखिन्छ । साढे तीन वर्षअघिको चुनावी अंकगणितको अहिले खासै ठूलो अर्थ नदेखिन सक्छ । तर कांग्रेस-एमाले आफ्ना मतदाता जोगाउन खोजिरहेका छन् ।

परिवर्तित माहोलले पार्टी कार्यकर्ता बाहेकका आममतदाता मत परिवर्तनको पक्षमा मुडमा पुग्दा कांग्रेस-एमाले रक्षात्मक बनेका छन् । 

देवदह आदर्श बहुमुखी क्याम्पसका प्राध्यापक जयकिसान अधिकारी आम नागरिकमा परिवर्तनको हावा चलेको बताउँछन् । 

‘पार्टी कार्यकर्ताभन्दा बाहिरका आममान्छेलाई बुझ्दा यो पटक मत परिवर्तन भन्ने सुनिन्छ’, प्राध्यापक अधिकारी लोकान्तरसँग भन्छन्, ‘कांग्रेस र एमाले प्रमुख शक्तिले पनि आफ्नो प्रतिस्पर्धी रास्वपा हो भन्छन् । यसले पनि त्यस्तै माहोलको संकेत गर्छ ।’ 

यो पटकको निर्वाचनमा सबै दल एक्ला–एक्लै चुनावी प्रतिस्पर्धामा रहेकाले सबैको वास्तविक धरातल देखिने उनको भनाइ छ ।

यो क्षेत्रबाट २०६४ मा नेकपाका यादव, २०७० मा नेपाली कांग्रेसका अब्दुल रज्जाक र २०७४ र २०७९ मा एमाले सचिव विश्वकर्माले जित निकालेका थिए । २०६४ अघिका तीन वटा निर्वाचनमा भने, यही क्षेत्रबाट कांग्रेसका दुर्योधनसिंह चौधरीले (हाल दिवंगत) ‘हयाट्रिक’ गरेका थिए । 

२०५६ मा चौधरीले तत्कालीन एमालेका उम्मेदवार घनश्याम यादव, २०५१ मा तत्कालीन एमाले नेता घनश्याम भुसाल र २०४८ मा एमालेका भीमनारायण थारूलाई पराजित गरेका इतिहास छ ।

यो क्षेत्रबाट तीन वर्षअघि २०७९ को निर्वाचनमा कांग्रेसले समानुपातिकतर्फ १९ हजार १२५ मत पाएको थियो । दोस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १५ हजार ८०० मत ल्याएको थियो । १५ हजार ७२४ मत ल्याएको एमाले तेस्रो स्थानमा थियो । ११ हजार २४३ मतसहित चौथो भएको राप्रपालाई पनि प्रतिस्पर्धी मानिएको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँगै एमालेमाथि भइरहेको आक्रमणको मार एमालेका उम्मेदवार न्यौपानेमाथि पर्ने देखिन्छ । ती प्रश्न चिर्दै एमालेको मत बचाउने र अन्य लोकप्रिय मत प्राप्त गर्नुपर्ने न्यौपानेलाई चुनौती छ । अहिले उनी प्रदेशसभामा निर्वाचित हुँदा गरेका कामका र योजना सुनाउँदै जनताबीच पुगिरहेका छन् ।

देवदहका एमाले युवा नेता यम रानाले ‘पब्लिक बेस’ नभएका केही व्यक्ति ढुलमुले हुँदैमा एमालेको मत परिणाममा खासै असर नगर्ने दाबी गर्छन् । 

उनले कांग्रेस र एमाले दुवै पार्टीलाई सामाजिक सञ्जालको अल्गोरिदम बुझाउन समस्या भइरहेको लोकान्तरलाई बताए । 

न्यौपानेसँग प्रतिस्पर्धामा रहेका कांग्रेसका हिरा खत्री स्थानीय र पहिलो पटक उम्मेदवार बनेका नेता हुन् । स्थानीयसँग भिजेका खत्रीले युवाको मत जोगाउन चुनौती देखिन्छ । कांग्रेसको पुरानो जनाधार र पहिलोपटक परीक्षित हुने अवसर प्राप्त गरेका कारण जित्न सहज रहेको कांग्रेस रुपन्देहीका सचिव तथा निर्वाचन प्रचार संयोजक हरि काफ्ले बताउँछन् । 

‘हामी कार्यक्रम गर्दै पुग्दा जनता र कार्यकर्ताको उत्साह पाएका छौं’, उनले लोकान्तरसँग भने, ‘हामी परिवर्तन भएर आएका छौं, देश परिवर्तन गर्छौं भनेका छौं । हाम्रो उम्मेदवार स्थानीय र चिनेको अनुहार पनि हो । प्रतिस्पर्धीका रूपमा हामीले एमाले र रास्वपा दुवैलाई देखेका छौं ।’ खत्री नगर प्रमुख भएकै बेलादेखि जनस्तरमा भिजेका नेता भएकोले उनलाई सहज भएको काफ्लेको भनाइ छ ।

रास्वपाका उम्मेदवार लम्साल काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र शाह (बालेन)को सचिवालयमा रहेर सल्लाहकारको काम गरेका इन्जिनियर हुन । तिलोत्तमा नगरपालिका–७ का लम्साल यही क्षेत्रबासी हुन् । रास्वपा अघिल्लो निर्वाचनमा प्राप्त गरेको मतलाई जोगाउँदै अहिलेको बदलिएको नयाँ परिवेशलाई क्यास गरेर जित निकाल्ने दाउमा छ । शिक्षा, स्वास्थ्य र खानेपानीका एजेन्डासहित जनतामा आफू पुगेको लम्साल बताउँछन् । 

मतदाताको माग : मल र लालपूर्जा

मत माग्दै आउने उम्मेदवारसँग मतदाताहरूले प्रमुख रूपमा दुई माग राख्ने गरेका छन् । आफूहरूलाई मल र जग्गा स्वामित्वको लालपूर्जा उपलब्धको प्रतिबद्धता जनाउनुपर्ने मतदाताको माग छ । यो क्षेत्रमा भूमिहीनको समस्या धेरै छ ।

क्षेत्र नम्बर–१ मा देवदह नगरपालिका, रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिकाको वडा नम्बर ७, ८, ९, १०, ११, १२, १५, १६, १७ र ओमसतिया गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५, र ६ पर्छन् । 

यो क्षेत्रमा १ लाख ४६ हजार ८२४ मतदाता रहेका छन् । यहाँ ४५ वटा मतदानस्थल र १५९ वटा मतदान केन्द्र रहेका छन् । गएको स्थानीय तह निर्वाचनमा देवदह नगरपालिका प्रमुख/उपप्रमुखसहित ५ वटा वडा एमालेले जितेको थियो । १२ वटा वडा रहेको नगरपालिकामा कांग्रेसले ५ वटा वडा र राप्रपाले एक वडामा जित निकालेको थियो । 

तिलोत्तमाका ७, ८, १०, ११, १२ र १५ नम्बर वडा एमालेले र ९, १६ र १७ कांग्रेसले जितेको थियो । रोहिणी गाउँपालिकामा अध्यक्ष र एउटा वडा जनता समाजवादी पार्टी (जसपा), उपाध्यक्षसहित ४ वटा वडा राप्रपाले जितेको थियो भने दुई वटा वडामा कांग्रेसले जित निकालेको थियो । 

यसैगरी, यही क्षेत्रमा पर्ने ओमसतियाको अध्यक्ष एमालेले र १ मा राप्रपा २, ३ र ४ नम्बर वडा कांग्रेस र ६ नम्बर वडा नेकपा (तत्कालीन माओवादी)ले जितेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्