
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जनालाई मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका प्रकाश पाठकलाई काठमाडौं ल्याइएको छ ।
गत पुस १९ गते फिलिपिन्सबाट पक्राउ परेका पाठकलाई बुधबार काठमाडौं ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पुवनकुमार भट्टराईले लोकान्तरलाई जानकारी दिए ।
'इन्टरपोल र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले उनलाई काठमाडौं ल्याएको हो,' उनले भने, 'उनीविरुद्ध पहिले नै परिसरमा जाहेरी परेको थियो । थप अनुसन्धान हुँदैछ ।'
काभ्रेका ३३ वर्षीय पाठक फिलिपिन्सको मालोलोसबाट पक्राउ परेका थिए ।
पाठकविरुद्ध जबर्जस्ती असुली र आपराधिक षडयन्त्रको आरोपमा डिसेम्बर १२ मा इन्टरपोल डिफ्युजन समेत जारी गरिएको थियो ।
आफूसँग भारतीय राहदानी रहेको दाबी गर्ने पाठक भारतमै लुकेर बसेको आशंका प्रहरीको भए पनि उनी फिलिपिन्सबाट पक्राउ परेका थिए ।
पढ्नुहोस् यो पनि :
अख्तियार प्रमुखलगायतलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
कहाँ छन् अख्तियार प्रमुख राईसहित १० जनालाई ज्यानको धम्की दिने पाठक ?