
परिचयको क्रममा एक अफ्रिकी साथीलाई ‘तिमी कुन देशबाट आएको ?’ भनेर सोध्दा उनले दृढ स्वरमा भनेकी थिइन्– ‘म कोफी अन्नानको देश घानाबाट आएकी हुँ ।’ अन्नान घानाका राष्ट्रपति त बनेनन् तर, उनको व्यक्तित्व र बोलीका कारण त्यहाँका बासिन्दाले उनलाई आफ्नो राष्ट्रिय सिम्बोल मान्दा रहेछन् । नेताको व्यक्तित्वका कारण राष्ट्रको परिभाषा र पहिचान नै बदलिँदो रहेछ ।
आफ्ना प्रतिनिधिहरूले मीठो बोलुन्, सभ्य बनुन् र सकारात्मक रहुन् भन्ने अपेक्षा आम सर्वसाधारणको हुन्छ । मानिसको सभ्यता र स्तर देखिने पहिलो आधार उसको भाषा हो । राजनीतिमा नेताले कस्तो बोल्छ, कसरी हेर्छ, कस्तो लगाउँछ र कस्तो व्यवहार गर्छ भन्ने कुरा अर्थपूर्ण हुन्छ । त्यसैले राष्ट्र र सर्वसाधारणको विश्वास बोक्नेहरू विश्वासिला र गुणिला हुनुपर्ने अपेक्षा राखिन्छ ।
लोकतन्त्रमा प्रतिनिधित्वको औधी अर्थ हुन्छ । प्रतिनिधित्वमार्फत जनता आफूमाथि शासन गर्ने अधिकार अर्कोलाई सुम्पिन्छन् । जनइच्छा र सार्वभौम शक्ति धारण गर्ने व्यक्ति वैयक्तिक इच्छा र उन्मादमा बोल्न वा व्यवहार गर्न पाउँदैन । प्रतिनिधि हुने व्यक्तिले प्रतिनिधित्व गर्ने वर्गको विचार, भावना, चाख, चाहना, आवश्यकता, आकांक्षा र प्राथमिकता धारण गरेर हिँड्नुपर्छ । त्यसैले उसको बोली-व्यवहार विनयी हुनुको विकल्प हुँदैन ।
अचेल प्रतिनिधित्वका दाबेदारहरू निर्वाचकसामु मत माग्न हिँडिरहेका छन् । सभा, जुलुस, भेला वा डिजिटल पर्दामा मतका लागि आग्रह गर्दै ऊर्जा खर्च गरिरहेका छन् । जोशिला भाषण, आक्रामक शैली, उन्मादी बोली, आरोप र आलोचना गर्नु उम्मेदवारका लागि सामान्य लाग्छ । उनीहरूको अर्थमा आवेग, उत्तेजना, आक्रोश र भ्रमले जनताको मत जितिन्छ । चुनावको अर्थ मन जित्नु हो, जसका लागि सही सोच, सञ्चार सीप र संवाद शैली पनि नेतृत्वबाट अपेक्षित हुनुपर्छ । नेतृत्व भनेको नेताको सीप हो, जुन उदाहरणीय बनेर मात्र सम्भव छ । काममा उदाहरण, बोलीमा उदाहरण, व्यवहारमा उदाहरण नभए त्यो नेतृत्व होइन, सामान्यता हो । औसतभन्दा उम्दा नभए केको नेता ? निर्वाचक दैनिकी धान्ने नेतृत्व होइन, दैनिकी बदल्ने दृष्टान्तको खोजी गर्छ । पुस्तान्तरण, परिवर्तन, रूपान्तरण, समृद्धि जे भने पनि, त्यही सीप र सामर्थ्यमा पाइने हो ।
नकारात्मक आलोचना गर्नु, आक्रोश पोख्नु र ठूला शब्दले भाषण गर्नु मत प्राप्त गर्ने आधार होइन, राजनीतिक संस्कार त झनै होइन । आरोपले आरोप बढाउँछ, क्रियाको प्रतिक्रिया हुन्छ । यस अर्थमा पनि राजनेताहरू सभ्य, शालीन र सकारात्मक बन्नुको विकल्प छैन ।
जननायक विश्वेश्वरप्रसाद कोइरालाले आफ्नो कथामा भनेका छन्– ‘विरोधीका लागि प्रयोग गरिएको कडा भाषाको लाभभन्दा हानि बढी हुन्छ, किनभने विरोधीलाई त्यसले झन् उत्तेजित पार्छ र युद्धका लागि लल्कारेको ठानेर ऊ झन् युद्धमा प्रस्तुत हुन्छ ।’ यसै खाले भनाइ राजनेता नेल्सन मण्डेलाले पनि व्यक्त गरेका थिए । हामीहरूमध्ये धेरैले उनीहरूका भाषणहरू सुनेका छौँ, जहाँ उनीहरूले आक्रामकताभन्दा अनुरोध र आरोपभन्दा विनय प्रस्तुत गरेका थिए । उनीहरूले हारेनन्, सधैँ जिते ।
तिखा शब्द, आक्रामक अभिव्यक्ति र उच्च स्वरले अरूलाई आदर गर्दैन, नकारात्मक ऊर्जा प्रवाह गर्छ र त्यसको प्रत्युत्पादक 'बुमर्याङ' आफैँतिर फर्किन्छ । मधुर स्वर, तार्किक अभिव्यक्ति र सकारात्मक भावनाले अरूको हृदय र मस्तिष्क, दिल र दिमागलाई एकसाथ जित्न सकिन्छ । आगो निभाउन घिउ हाल्ने होइन, पानी नै चाहिन्छ । घृणाले घृणा नै जन्माउँछ, क्रियाको प्रतिक्रिया झनै खतरापूर्ण हुन्छ ।
महान नेताहरू महान बन्नुको पछि उनीहरूको शिष्टता, विवेक र सकारात्मक भाव कारण थियो । महात्मा गान्धी, दलाई लामा र नेल्सन मण्डेलाका अभिव्यक्ति कहिल्यै उत्तेजक, आवेगी र आरोपी थिएनन् तर तर्क, विनय र सदाचारले उनीहरू राजनेता बने । बाराक ओबामा, मनमोहन सिंहका भाषणहरू त्यस्तै थिए । मार्टिन लुथर किङ जुनियर, विन्स्टन चर्चिल, एङ्गेला मर्केल, मार्गरेट थ्याचरहरूले विरोधीलाई बिझाउने भाषा प्रयोग गरेर जितेका थिएनन्; विनय, बौद्धिकता र सकारात्मक दृष्टिकोणले जितेका हुन् । यही शैलीलाई सत्य नडेला जस्ता कर्पोरेट सेक्टरका सीईओहरूले पनि अपनाएका छन् । उनीहरूको सम्भाषण शैली नेतृत्व विकासको सिद्धान्त नै बनेको छ ।
विरोध गर्न क्षुद्र शब्द र दुर्वाच्य नै बोल्नुपर्छ भन्ने छैन । पढेलेखेका मानिसहरू शालीन बौद्धिकतामा विरोध गर्छन् । टर्कीका प्रतिपक्षी नेता किलिकडारोग्लूले गाली नगरी आलोचना गर्ने दृष्टान्त बने । नेपालकै प्रदीप गिरिले सत्तारूढ दलले ल्याएको नीति कार्यक्रममा बोल्दा प्रतिनिधिसभा हल 'पिन ड्रप साइलेन्ट' हुन्थ्यो । कोभिडका विषयमा विरोधी दलका युवा सांसदले बोलेको सार्वजनिक महत्त्वको प्रस्तावमा विरोधभन्दा मानवता थियो, शब्दबाणभन्दा समाधानका रणनीति थिए । तर, सत्ताले नसुने झै उपेक्षा गर्ने रणनीति लियो, त्यसैको क्युमुलेटिभ प्रतिक्रिया 'जेन-जी' आन्दोलनमा पोखियो ।
राजनेता बन्न चाहने मानिसहरू किन गालीगलौज र दुर्वाच्य गर्छन् होला ? थोरै व्यक्तिबाहेक धेरैले निर्वाचनका समयमा अर्कोलाई गाली गर्छन्; चुनावका वरिपरि मात्र होइन, सार्वजनिक भूमिका भुलेर मन घोच्ने गरी नानाभाँती शब्दहरू प्रयोग गर्छन् । सामाजिक तहसोपान भएको समाजमा उनीहरू जहाँ पनि आफ्नै स्वभाव, संस्कार र पृष्ठभूमि बोकेर पुग्छन् र सामाजिक मर्यादा भुल्न पुग्छन् । उनीहरूको प्रवृत्तिले समाज र देशलाई पछिल्तिर धकेलिरहेको कुरा उनीहरू कहिल्यै बुझ्दैनन् । दम्भ र दबङले सर्वसाधारणमाथि खेल्नु नैतिक अपराध हो ।
गालीगलौज र दुर्वाच्यको मनोविज्ञान पनि छ । कुनै व्यक्ति अर्कोप्रति आरोपी, अपशब्दी र दम्भी छ भने बुझ्नुपर्छ कि उसमा केही कमजोरी छ, त्यसलाई उसले मनोवैज्ञानिक विरेचन गर्न यसो गरिरहेको छ । आफ्नो कमजोरीलाई ढाकछोप गर्न अवलम्बन गरिने मनोवैज्ञानिक रणनीति यस्तै हुन्छ । अर्कोको बौद्धिकता, शालीनता र क्षमताबाट असुरक्षित हुँदा त्यसको पीडात्मक क्षतिपूर्ति खोज्छन् । हीनभावनाबाट सिर्जित चिन्ता र डर जुन अवचेतन तहमा थिग्रिएको छ, त्यसको मनोवैज्ञानिक क्षतिपूर्ति खोज्न ती दुर्वाच्य र गालीगलौज जस्ता माध्यमबाट निकासमा आउँछन् ।
नकारात्मक विचार र टिप्पणीहरू सकारात्मकभन्दा बढी वेगवान हुन्छन्, तत्काल स्वाभाविक जस्ता पनि लाग्छन् । किनकि तिनलाई विवेचना र विश्लेषण गरेर बुझ्नु पर्दैन भन्ने सामाजिक स्वभाव छ । नकारात्मक कुराहरू छिटै फैलिने भएकाले नेताहरू आवेशी, आरोपी र तेजावी शब्दबाण वर्षाउँछन् । समाचारमा फैलिन र सञ्जालमा भाइरल हुन चाहन्छन् ।
ब्रेन केमिष्ट्रीको सिद्धान्तअनुसार नकारात्मक शब्दहरू बोल्दा, तेजावी शब्दहरू उच्चारण गर्दा र सुन्दा मस्तिष्कको डर केन्द्र उत्तेजित हुन्छ, न्युरोट्रान्समिटर उत्पादन हुन्छ र मानिसलाई आफूतिर आकर्षित गर्न सकिन्छ । निर्वाचन जस्ता आफूलाई फाइदा हुने कुरामा नेताहरू झनै सावधान भएर, विवेकी भएर सोच्न सक्ने गरी निर्वाचकलाई स्पेश दिने नैतिक जिम्मेवारीमा हुनुपर्छ । आत्तिएर वा न्युरोट्रान्समिटर उत्पादन भएको बेलामा गरिएको निर्णयले सही व्यक्ति छान्न सक्दैन । मानिसहरू यही हर्मोन शिथिल बनाउन योग र साधना जस्ता पक्षमा ध्यान दिन्छन् । चिन्तक ओशोले त भाषा पछिको भाषा बुझ्न आग्रह गरेका थिए ।
जब मानिस पहिचान, भाषा, लिङ्ग, सम्प्रदाय वा धर्ममाथि आक्रमण भएको महसुस गर्छ, त्यतिखेर झनै उद्वेलित हुन्छ । त्यसैले चुनावी अभियानमा जात, लिङ्ग, वर्ग वा धनलगायत पहिचान तलमाथि देखाउने कुनै शब्द बोल्नु हुन्न । निर्वाचन मात्र होइन, छाक टार्ने समस्या र भविष्यको सपनाभन्दा अहिलेको पेट पाल्ने समस्या छ, त्यहाँ भावनामा बग्ने भाषण गरेर भोट कब्जा गर्ने रणनीति राजनीतिक संस्कार नभएको समाजमा सजिलो छ । त्यसले त विजयपछि पनि पराजयको पीडा समाजलाई छाड्छ । शब्द कटाक्षको दुर्वाच्य जत्तिकै खतरा 'इमोशनल ब्ल्याकमेलिङ' पनि छ । खास परिस्थितिको फाइदा लिएर मतदाताको आलोचनात्मक चेत हत्याउने कामबाट नेताहरू परै रहनुपर्छ ।
जापानमा शिष्टभाषी सानाए ताकाइची आफू मात्र जितिनन्, आफ्नो नेतृत्वको दल लिबरल डेमोक्रेटिक पार्टीलाई दुईतिहाइभन्दा बढी सङ्ख्यामा डायटमा उपस्थित गराउन सफल भइन् । उनको मुद्दा वित्तीय नीति र रोजगारी प्रणाली सुधारमार्फत जापानी अर्थतन्त्रको पुनरुत्थान हो । उनले कसैलाई गाली गरेको थाहा छैन, केवल आर्थिक शीर्षस्थता कायम गर्ने युगीन अभियान छ ।
शिष्ट शैलीका प्रेरक अभिव्यक्तिका कारण कोलम्बियन नेता नेव हार्वे, अमेरिकन बाराक ओबामा, मार्टिन लुथर किङ, विड्रो विल्सन, जे.एफ. केनेडी, बेलायती विन्स्टन चर्चिल र मार्गरेट थ्याचर, जर्मन एङ्गेला मर्केलहरू राजनेता बने ।
आफ्ना भाषण र दृष्टिकोणकै कारण राजनेता बनिसकेका नरेन्द्र मोदी सन् २०२४ को मुस्लिमद्वेषी भाषणका कारण राजनेताको स्थानबाट मात्र ओर्लिएनन्, त्यो भाषण सर्वाधिक राजनीतिक दुर्वाच्यमा दर्ज हुन पुग्यो । उनको भारतीय जनता पार्टीले तत्काल चुनाव जिते पनि सबै बौद्धिक र मानवतावादीहरू निराश भए । स्रष्टा र अधिकारकर्मी अरुन्धती रोयहरूले मोदीवादले भारतलाई अधिनायकत्वको अँध्यारो सुरुङमा पुर्याएको चिन्ता व्यक्त गरे ।
सन् २०१९ को इन्डोनेसियाली राष्ट्रपति चुनावमा उम्मेदवारले व्यक्त गरेका दुर्वाच्य र भावना उद्वेलित गर्ने भाषणले मतदाताहरूको मानसिक हिंसा गरिएको थियो । अब त एल्गोरिदमको सहाराबाट यस्ता दुर्वाच्य र भ्रामक नवगोयबल्सवादी अभिव्यक्तिले सर्वसाधारणहरू वास्तविकता ठम्याउन नसक्ने अवस्थामा पुगेका छन् । तर भुल्न नहुने के हो भने इतिहासको क्रिटिकल जंक्चर चिर्न नसके इतिहासले कसैको स्थान सुरक्षित गर्ने छैन ।
नेताहरू भावनामा बगेर मात्र बोल्दैनन्, सटिक कुरा र तथ्यसाथ वार्ता पनि गर्दैनन् । उनीहरू एकोहोरो कथा हाल्छन् । कथा हालेको कुरा नयाँ पुस्ताले कत्ति पनि मन पराउँदैनन् । जे कुरा आफ्ना कारण भएको छ त्यही कुरा सम्पुष्टि गर्ने कथा बताएर जनतालाई भुलाउने शास्त्रीय प्रवृत्तिका कारण न निर्वाचनले जनभावना बोक्छ, न निर्वाचितले निर्वाचकको प्रतिनिधित्व गर्न सक्छन् । समाजको प्रखर सवाल सुशासन हो भने सुविचार र सदाचारीहरूबीच सोच र दृष्टिकोणमा प्रतिस्पर्धा हुनुपर्छ । आर्थिक रूपान्तरण हो भने अर्थतन्त्रलाई भाइब्रेन्ट बनाउने दृष्टियोजना चाहिन्छ । प्रत्येक सकारात्मक विचार समाज परिवर्तनका आधार हुन् तर उही कथा, उही पात्र वा प्रवृत्तिले परिवर्तन धकेलिने बाहेक अरू केही हुँदैन ।
प्रश्नले जहिले पनि जवाफदेहिता खोज्छ । प्रश्नको उत्तरमा जवाफ दिनेको स्तर र इमानदारी पनि देखिन्छ । सभा सम्मेलनका भाषण एकतर्फी हुन्छन् । चुनावमा उम्मेदवार जनतासँग जोडिने विषय भनेको दृष्टिकोण सहितको घोषणापत्र हो, त्यो दल र उम्मेदवारको प्रतिज्ञा हो । विधायकको निर्वाचनका समयमा विकास ल्याइदिने र स्थानीय चुनावको बेला राष्ट्रिय नीति सुधार्ने वाचा गर्छन् भने त्यस पछि कति दम छ ? दशकौँ बजेट कार्यक्रम ल्याउनेले आफू पुनर्संरचित नभई सुधार र परिवर्तन गर्छु भन्दा कति अर्थ राख्छ ? दलहरूका सिद्धान्त र दृष्टिकोण एकातिर र काम चाहिँ ठीक विपरीत हुँदा लोकतन्त्र जनतामा पुग्दैन । यदि त्यसो हो भने ओशोले भने झै पार्टीले लोकतन्त्रको नाममा अस्थायी रूपको अधिनायकता लाद्छ । निश्चित अवधिका लागि जनतामाथि अधिनायकत्व गर्ने अधिकार पार्टीलाई दिएपछि विधि र विश्वासमा पार्टी हुनुपर्छ । घोषणापत्रमा जे भए पनि विधि तोड्ने, प्रश्न छेक्ने, विकास तीन-चार जिल्लामा मात्र गरेर विपन्नलाई झनै वञ्चितिमा पार्ने र फेरि यस्तै रितिको विरोध गरेर बोल्ने वा घोषणापत्र ल्याउने गरिएमा त्यो मिथ्या बाचा हुन्छ । दुर्वाच्य र मिथ्या बाच्यले राजनीतिलाई उत्तरदायित्वबाट पर धकेल्छ ।
मतदातालाई आक्रोशित र उद्वेलित पार्ने र अरूलाई आरोप लगाएर आफू स्थापित हुने प्रवृत्ति चुनाव जस्तो महाअभियानमा हुनुहुन्न । यो अभियानमा दृष्टिकोण, प्रतिज्ञा, कार्यक्रम र रणनीति ल्याएर जनताको दैनिकी र मुलुकको अनुहार बदल्ने विश्वास दिलाएर स्थापित हुनुपर्छ । समाज र शासन बदल्ने जिम्मेवारी लिन्छु भन्नेहरूले अरूलाई घोच्ने, उक्साउने र हिंसा गर्ने दुर्वाच्यबाट होइन, आफैँ शिष्ट, स्वीकार्य र संस्कारी भएर परिवर्तनको सुरु आफैँबाट गर्नुपर्छ । आफैँबाट विवेचित भएर आफैँलाई दृष्टान्त बनाउनेहरू नै विजयका वास्तविक हकदार हुन् ।
प्रतिनिधि, अझ विधाता (विधिदाता) बन्ने ल्याकत भएका नेताहरूमा सत्य निष्ठाको अनुराग हुनुपर्छ । सामाजिक उन्माद वा भीडको वाहवाहीभन्दा अलग रहेर सत्य बोल्ने सामर्थ्य हुनुपर्छ । गलत कुराका आश्वासन र सपनाको व्यापारबाट पृथक् रहनु पर्दछ । राजनीतिक दम्भका आधारमा आत्माका माफियाबाट पर रहने हिम्मत उनीहरूमा हुनुपर्दछ । अहङ्कारविरुद्ध संस्कारको राजनीति हुनुपर्छ । त्यसपछि मात्र असलहरू पनि राजनीतिमा आउँछन् भन्ने सन्देश समाजमा फैलिन्छ । राजनीति एउटा कर्म र राजनेता त्यसको पात्र बन्दछन् ।