२५ असार २०८३, बिहीबार
आइसीसी टी–२० विश्वकप

१२ वर्षपछि विश्वकपमा पहिलो जीत निकाल्ने लक्ष्यसाथ इटालीसँग भिड्दै नेपाल

माघ २९, २०८२
काठमाडौं
१२ वर्षपछि विश्वकपमा पहिलो जीत निकाल्ने लक्ष्यसाथ इटालीसँग भिड्दै नेपाल

आइसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आज (बिहीबार) इटालीसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा विश्वविजेता इंग्ल्यान्डलाई कडा टक्कर दिए पनि चार रनको झिनो अन्तरले पराजित नेपाल दोस्रो खेलमा जीत निकाल्ने लक्ष्यका साथ इटालीसँग भिड्न लागेको हो ।

नेपाल र इटालीको खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो सवा ३ बजे शुरू हुनेछ ।

पहिलो खेलमा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल चार रनले चुकेको थियो । नेपालले २० ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा १८० रन मात्रै बनाउन सक्यो । तर, इंग्ल्यान्डसँगको खेलमा नेपालले गरेको साहसिक प्रदर्शनको विश्वभर चर्चा भैरहेको छ ।

इटाली भने तुलनात्मकरूपमा समूहको कमजोर टिम हो । २०२६ को क्रिकेट विश्वकपमा इटालीले पहिलोपटक डेब्यु गरेको हो । तीनपटक विश्वकप खेलिसकेको नेपालभन्दा इटाली नयाँ छ । यो विश्वकपमा नेपाल र इटाली दुवै टिमले पहिलो खेलमा हारको सामना गरेका छन् । नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित हुँदा इटाली पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनको पराजय भोगेको थियो । दुवै टिमका लागि दोस्रो खेल जित्नैपर्ने दबाब छ ।

नेपाल र इटालीले हालसम्म कुनै पनि आधिकारिक टी– २० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन् । नेपाल र इटालीबीच पहिलोपटक हुने खेल दुवै मुलुकका लागि नौलो हुनेछ ।

नेपालले सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा पहिलोपटक स्थान पक्का गरेको थियो । नेपालले दोस्रोपटक विश्वकप खेल्न १० वर्ष लगायो । सन् २०२४ को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो । सन् २०१४ को विश्वकपकै सिलसिलामा नेपालले पहिलोपटक टेस्ट म्याच खेलिरहेको राष्ट्र अफगानिस्तानलाई हराएको थियो ।

अघिल्लो विश्वकपमा दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित भएको थियो । यसअघि दुईपटक विश्वकप खेलेको नेपाल समूह चरणभन्दा माथि जान सकेको छैन । समूह सीमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इंग्ल्यान्डसँगै स्कटल्यान्ड र इटाली छन् ।

नेपालले समूहको तेस्रो खेल फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्