०७ साउन २०८३, बिहीबार
स्थलगत

चुनावी ग्राउन्ड जिरो चितवन- ३ : माडीको रहस्यदेखि ‘चुनाव जिताउने बाजेको कोठा’सम्म

चुनावी ग्राउन्ड जिरो चितवन- ३ : माडीको रहस्यदेखि ‘चुनाव जिताउने बाजेको कोठा’सम्म

चितवन क्षेत्र नम्बर ३ मा चुनावी प्रतिस्पर्धा निकै रोचक बन्दै गएको पाइएको छ । वडादेखि टोलसम्मै संगठन रहेका पुराना दल नेपाली कांग्रेस र नेकपा एमाले रक्षात्मक बन्दा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतम अगाडि देखिएकी छन् । 

साथै, भरतपुर महानगरपालिकाकी पूर्व मेयर समेत रहेकी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार रेनु दाहाल प्रतिस्पर्धामा सोविताभन्दा केही पछाडि र कांग्रेस-एमालेभन्दा केही अगाडि रहेको पाइएको छ ।

यद्यपि, सोवित र रेनु दुवै ठीक भन्ने ‘कन्फ्युज’ मतदाता र अन्तिम समयमा बन्ने माहोलका कारण कडा टक्कर हुने सम्भावना जीवितै रहेको देखिन्छ ।

रेनु र सोविताका अलावा यो क्षेत्रमा कांग्रेसले टेकप्रसाद गुरुङ, एमालेले शंकरराज थपलिया, राप्रपाले दीपक थापा मगर, उज्यालो नेपाल पार्टीले डम्बरबहादुर तामाङ, श्रम संस्कृति पार्टीले तेजमान गुरुङ लगायतलाई उम्मेदवार बनाएका छन् । यहाँ १८ दलीय र ६ स्वतन्त्र उम्मेदवार छन् ।

मतदाताको मनोविज्ञान

भरतपुर महानगरपालिकाका विभिन्न वडा र माडी नगरपालिकामा पुग्दा अधिकांशले यसपटक सोविता र रेनुबीच प्रतिस्पर्धा हुने बताए । औपचारिक घरदैलो शुरू हुन बाँकी रहेकाले पनि हुन सक्छ, कांग्रेस, एमाले र राप्रपाका उम्मेदवारको अपिल आम मतदातामा पुगेको पाइएन ।

तीव्र प्रतिस्पर्धा रहेको क्षेत्रमा मतदाताको गोपनीयताका कारण हामीले उनीहरूको नाम सोधेनौं । साथै, तस्वीर पनि लिएनौं । नाम र तस्वीर नलिएपछि मतदाताहरू खुलेर बोल्न तयार भएका थिए । स्वेच्छाले नाम भन्नेहरूको मात्र हामीले नाम टिपेका थियौं ।

भरतपुर- ८ गौरीगञ्जका २६ वर्षीय एक युवकले ‘रेनु र सोविता एकै क्षेत्रमा प्रतिस्पर्धा गर्न हुँदैनथ्यो’ भन्ने मत व्यक्त गरे । ‘रेनु र सोविता दुवै राम्रा हुन्, एकै ठाउँमा लड्नुहुँदैन्थ्यो’, ती युवकले भने, ‘रेनुले भरतपुरको विकासमा धेरै काम गर्नुभएको छ । तर, कानून बनाउनुपर्ने भएकाले मचाहिँ सोवितालाई मत दिन्छु ।’

उनले अघिल्लोपटक उम्मेदवारको पृष्ठभूमिका कारण आफूले माओवादीलाई मत दिएको खुलाए ।

null

यसैगरी, भरतपुर ७ र ८ को सिमानामा पर्ने गौरीगञ्ज हेल्थपोस्ट चोकमा भेटिएका ४३ वर्षीय पुरुषले देशभरि माओवादीको (नेकपाको) ५ सीट मात्र आउँछ भने पनि आफूले (नेकपालाई) मत दिने बताए । रेनुका कारण भरतपुरको मुहार फेरिएको उनको दाबी थियो ।

‘कुनै समय मेघौलीका मान्छे भरतपुर बजारमा कोठा लिएर स्कूल/कलेज पढ्थे । अहिले बाटो सरर भएको छ’, उनले भने, ‘अहिले विद्यार्थीहरू घरबाटै गाडीमा यात्रा गरेर पढ्न आउँछन् । यो सबै बाटोघाटोले हो । यति सजिलो भएको छ । यो सब रेनुको देन हो,’ उनले भने । नजिकै रहेकी एक महिलाले पनि प्रत्यक्षमा रेनुलाई नै मत दिने बताइन् ।

त्यहाँबाट केही अगाडि ५० वर्षीय एक पुरुष मतदाता भेटिए । लामो समयदेखि आफू एमालेमा रहेको बताएका उनले यसपटक देशले परिवर्तन खोजेको तर्क गरे । ‘म २०४६ सालदेखिको एमाले हो । एमालेलाई भोट हाल्दै आएको हो’, उनले भने, ‘केपी ओली नेतृत्वमा हुञ्जेल एमालेमा सक्रिय हुन्न । देशमा एउटा ह्वीम आएको छ । देशले परिवर्तन खोजेको छ भन्ने लाग्छ ।’

भरतपुर-१५ मंगलपुर पुग्दा ५० वर्षीय एक पुरुष मतदाता भेटिए । उनले २०८४ मा हुनुपर्ने चुनाव अहिले नै गरेर देश नै तहसनहस पार्न खोजिएको जिकिर गरे ।

‘यहाँका उम्मेदवारहरू यता र उता फर्किएका छन् । यो चुनाव नै नहुनुपर्ने हो । २०८४ सालमा चुनाव हुनेवाला नै थियो । यो सब जनतलाई दु:ख दिने र ढाँट्ने काम भइरहेको हो । पुरानाहरूलाई दबाएर नयाँ जेलेन्स्की जन्माउने काम भइरहेको छ ।’

सँगै रहेका ६० वर्षीय पुरुषले देशमा भ्रष्टाचार धेरै भएको बताए । रेनु र सोविता दुवै राम्रो उम्मेदवार रहेको तर्क गर्दै उनले संसद्‌मा कानून बनाउनुपर्ने भएकाले सोविता ठीक हुने जिकिर गरे  । ‘रेनुले भरतपुरमा राम्रो काम गरेकी छिन् । सोविता पनि चाहिने व्यक्ति हुन्’, उनले भने, ‘कानून बनाउने ठाउँमा सोविता ठीक हुन्छिन् कि जस्तो लाग्छ ।’

null

उनीसँगै रहेका ५० वर्षीय पुरुषले अन्य उम्मेदवार समेत रहे पनि मुख्य प्रतिस्पर्धा सोविता र रेनुबीच हुने तर्क गरे । ‘साढे ८ वर्षको कार्यकालमा रेनुले गज्जबको काम गरेकी छन् । त्यसैले यहाँ सोविता र रेनुको भिड्न्त हुन्छ’, उनले भने, ‘पुरानाले काम गरेनन् । भ्रष्टाचार मात्रै भयो । भोट हाल्न मन नै छैन, जति जोगी आए पनि सबै कानै चिरेका हुन् ।’

भरतपुर-१५ मंगलपुरकै ७० वर्षीय वृद्धले कांग्रेसका टेकप्रसाद गुरुङलाई मत दिने बताए  । पुरानो व्यक्ति भएकाले आफूले टेकप्रसाद रोज्ने उनको तर्क थियो ।

त्यस्तै, ५३ वर्षीया महिलाले चितवन ३ मा उठेका उम्मेदवारहरू सबै राम्रो रहेको बताइन् ।

‘यहाँ रेनु दाहालले राम्रो गरेकी छिन् । जताततै नयाँ भन्छन् । मैले त हाम्रो लागि मात्रै होइन, छोराछोरीको लागि पनि सोच्नुपर्छ’, उनले भनिन्, ‘छोराछोरीले पुरानाहरू गइसके भनिरहेका छन्, नयाँलाई नै छान्ने त होला ।’

वडा नम्बर १५ कै ५३ वर्षीया महिलाले पहिलेदेखि एमालेलाई भोट हाल्दै गरेको, तर यसपटक घण्टीमा भोट हाल्ने बताइन् । 

‍‘पहिलेदेखि एमालेलाई भोट हाल्दै आएको हो । जेनजी आन्दोलनपछि अब त्यो पार्टीलाई भोट दिइँदैन’, उनले भनिन्, ‘एमाले मात्रै होइन, सबैलाई पटक-पटक जिताइएको हो । अहिले नयाँ-नयाँ भन्छन्, हेरम् न । यो पनि २/४ वर्ष मात्रै हो । त्यही पनि हेर्ने हो, एकपटक ।’

१५ नम्बर वडाकै भित्रपट्टी जाँदा एउटा घरमा आमाछोरी घाम तापिरहेका थिए ।

आँगनमा गएर कुरा गर्दा ५० वर्षीया महिलाले यसपटक रेनु र सोविताको नाम मात्रै सुनको बताइन् । उनले दुवै राम्रो रहेको बताइन् । छेउमै बसेकी छोरी कुरा नसकिँदै बोलिन्- ‘यसपटक घण्टीमा भोट हाल्ने हो ।’ आफू २६ वर्षको भएको र पहिलोपटक घण्टीमा भोट हाल्न लागेको उनको भनाइ थियो । यो विगतमा माओवादीलाई मत हाल्दै आएको परिवार रहेछ । 

भरतपुर महानगरपालिका वडा नम्बर १९ शारदानगर पुग्दा केही युवा क्यारेमबोर्ड खेलेर बसिरहेका थिए । 

हामीले चुनावी माहोलबारे जिज्ञासा राखेपछि कालो टिशर्ट लगाएका युवाले भने- ‘भोट के मा घण्टीमा, घण्टीमा के मा साइकलमा !’ एकैछिन हाँसोको माहोल चल्यो । त्यही बीचबाट अर्का युवक बोले- ‘भोट हालेर हामीलाई केही हुने होइन । किन हाल्ने भोट ? हाल्दैनौं ।’

null

भरतपुर-१९ कै किरणगञ्जमा पुग्दा ४६ वर्षीया महिलाले चुवानी मैदानमा सोविता र रेनु रहेको तर अहिलेको माहोलले केही अर्थ नराख्ने बताइन् । 

‘२० गते माहोल जतातिर जान्छ, भोट पनि त्यातातिरै जाने हो । जसले भोट किन्न सक्छ, उसैले जित्छ यहाँ’, उनले भनिन्, ‘व्यक्ति त रेनु पनि राम्रै हो । तर, समयले सोवितालाई मागेको छ । पुरानाहरू सबै हार्नुपर्छ । कसैले जित्नुहुँदैन । नयाँहरू आउनुपर्छ ।’

वडा नम्बर १९ कै धर्मोदय चोकामा ५६ वर्षीय पुरुष मतदाता भेटिए । उनले नयाँहरू आउनुपर्छ भन्ने भए पनि आफ्नो भोट रूख चिह्नमै जाने बताए । ‘कांग्रेस पनि नयाँ भएको छ । म र मेरो परिवारको भोट रूख चिह्नमा जान्छ’, उनले भने ।

वडा नम्बर २० की ६९ वर्षीया महिलाले १/२ सीट मात्र आए पनि एमालेलाई भोट दिने बताइन् ।

‘२ भोट आए पनि, ४ भोट आए पनि एमालेलाई भोट दिने हो’, उनले भनिन्, ‘अहिले छोराछोरीले किनिदिएको एउटा भाँडो (मोबाइल देखाउँदै) छ, त्यसैबाट सबैकुरा थाहा हुन्छ । उमेर ६० कटिसक्यो त्यसैले राजनीतिक कुरा बढी गर्नु हुँदैन ।’

उनीसँगै बसेकी ४० वर्षीया महिलाले नयाँ युवाहरू अगाडि आउनुपर्ने बताइन् ।

‘हाम्रा छोराछोरीलाई विदेशमा तिम्रा नेता यस्ता भनेर हेप्छन् । देशमै काम दिएको भए किन जानुपर्थ्यो ? सबै नेताहरूले भ्रष्टाचार गरे’, उनले सुनाइन्, ‘जहाँ पनि झोलेहरू धेरै भए । पहिला कांग्रेसलाई भोट दिएको हो, अहिले नयाँलाई दिने हो ।’

null

नयाँबजारमा भेटीएकी ५० वर्षीया महिलाले कांग्रेसका टेकप्रसाद गुरुङलाई मात्रै चिनेको बताइन् । उनले रष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कुन ठाउँको हुन् भन्ने आफूलाई थाहा नभएको भन्दै आफ्नै गाउँठाउँको उम्मेदवार रहेकाले रुख चिह्नमा मत दिने बताइन् ।

कुरा गर्दैगर्दा ५६ वर्षीय पुरुष पनि त्यहाँ थपिए । उनले रेनुले गरेको कामको प्रशंसा गरे पनि नयाँलाई मौका दिने बताए ।

त्यहीँ केहीबेरमा थपिएका ५० वर्षीय पुरुषले विगतमा आएको बजेट पनि फ्रिज हुने र काम नहुने अवस्थामा रेनुले निकै राम्रो काम गरेको जिकिर गरे । तर, यसपटक नयाँको माहोल रहेकाले एकपटक हेर्नुपर्ने उनको उनको भनाइ थियो ।

भरतपुर-९ सरदपुरका ७० वर्षीय पुरुष मतदाताले रेनुले गरेको कामको निकै प्रसंशा गरे । रेनु र सोविताबीच कडा प्रतिस्पर्धा हुने बताएका उनले नयाँलाई एकपटक हेर्ने बताए । 

‘अहिले घरमा भोट माग्न कोही आएका छैनन् । रेनु दाहाल र सोविता गौतम उठेका छन् । रेनुले भरतपुरमा राम्रो विकास गरेकी छिन् । उनको योगदान सरहानीय छ’, उनले भने, ‘अहिलेको समयमा पैसा नदिकन केही काम हुँदैन । एउटा कामका गर्नका लागि १० वटा फाँट धाउँदा-धाउँदै दिकदार हुन्छ । त्यसैले नयाँलाई सपोर्ट छ । तर, रेनुले गरेको कामको कदर गर्नुपर्छ ।’

वडा नम्बर ९ मै सटेशनगरी पसल सञ्चलान गर्दै आइरहेका ४४ वर्षीय पुरुषले सरकारकै नीतिका कारण विदेशमा रहेका नेपालीहरू नेपाल आउन नसकेको बताए । नेपालमा बस्ने वतावरण नभएकाले नयाँलाई एकपटक मौका दिनुपर्ने उनको भनाइ थियो ।

भरतपुर ६ केशरबाग पुग्दा दुईवटा टोलीमा आगो तापेर बसेका पुरुषहरू भेटिए । त्यहाँ अधिकांश नेपाली कांग्रेस र नेकपा एमाले समर्थित मतदाता रहेछन् । बाहुल्यता एमालेहरूकै थियो । त्यहीँमध्येका ५६ वर्षीय एक पुरुषले चर्चा रेनु र सोविताको मात्र भए पनि संगठनात्मक हिसाबले कांग्रेस बलियो रहेको जिकिर गरे ।

null

कांग्रेसले आफ्नो मत जोगाउन सके टेकप्रसाद गुरुङले जित्ने उनको तर्क थियो । प्रधानमन्त्रीमा पनि गगन थापा उपयुक्त पात्र हुनेमा त्यहाँ अधिकांशको सहमति थियो ।

अर्का एक पुरुष मतदाताले एमाले पनि कमजोर नरहेको तर्क गरे । तर, मिडियाहरूले नै नयाँ-नयाँ भनेर माहोल बिगार्न खोजेको भन्दै उनले आक्रोश पोखे ।

दुईवटा टीममा रहेका १०/१५ जनामा अधिकांशले कि कांग्रेसको नाम लिए, कि त एमाले । रेनु र सोविताप्रति सद्‌भाव राख्ने सीमित व्यक्तिहरू मात्र भेटिए ।

केशरबागबाट हामी वडा नम्बर ६ कै पुल्लर चोकमा पुग्यौं । ३७ वर्षीय युवाले क्षेत्र नम्बर ३ मा कांग्रेसले आफ्ना मतदाता फर्काउन सकेमा जितको नजिक पुग्ने सुनाए । ती युवाले क्षेत्र नम्बर ३ मा कांग्रेका मतदाताहरूको बाहुल्यता रहेको, तर अन्तिममा पैसाले खेल बिगार्न सक्ने जिकिर गरे ।

‘यो ठाउँ कांग्रेसकै गढ हो । कांग्रेसले आफ्नो मत फिर्ता गर्न सकेमा जित्ने सम्भावना छ, होइन भने घण्टी बज्छ’, उनले भने, ‘यहाँ पैसाको पनि निकै चलखेल हुन्छ ।’ उनले यो क्षेत्रमा कांग्रेस, नेकपा र रास्वपाको प्रतिस्पर्धा हुने विश्लेषण गरे ।

‘म त एमाले र घण्टीबाहेक जसले जित्छ, उसलाई भोट दिने हो’, उनले भने । 

नयाँहरूको चहलपहलले आक्रोशित मतदाताको यस्तो मनोविज्ञान हामीले केही अगाडि केशरबागमा मात्र होइन, अन्यत्र पनि प्रशस्तै पाएका थियौं । दलका प्रतिबद्ध मतदाताहरूले रास्वपाबाहेक अन्तिममा जुन पार्टीको माहोल बन्छ, त्यसलाई मत दिन सकिने संकेत गरेका थिए ।

त्यहीँ कुलमान घिसिङको उज्यालो नेपाल पार्टीका एक मतदाता पनि भेटिए । अघिल्लो दिन हामीले रामपुर क्षेत्रमा हर्क साम्पाङको श्रम संस्कृति पार्टीका केही मतदाता भेटेका थियौं ।

null

दुवै जनाको कुरा सुनेपछि हामी भरतपुर महानगरपालिका वडा नम्बर २२ को कार्यालय अगाडि पुग्यौं । साइकलमा रहेका महिलाहरूको समूह त्यहाँ रोकिएको थियो । आफूलाई भरतपुर १४ सुन्दरबस्तीको बासिन्दा बताउने ४८ वर्षीय महिलाले कसैले पनि लालपूर्जा दिन नसकेको भन्दै आक्रोश पोखिन् । 

‘हामी सुकुम्बासी हो । हामीलाई लालपूर्जा कसले दिन्छ ? जसले पास गरेर पूर्जा दिन्छ, उसैलाई भोट दिने हो’, उनले भनिन्, ‘अहिलेसम्म गर्छु भन्ने कसैले गरेनन्, अब नयाँलाई हेर्ने हो कि भन्ने सोच छ ।’

वडा नम्बर २२ को पटिहानीमा भेटीएका ६० वर्षिया महिलाले आफू कांग्रेस भएको तर यसपटक नयाँलाई मौका दिने बताइन् । उनीसँगै रहेका ७० वर्षीय वृद्धले आफू विगतदेखि नै राप्रपा भए पनि यसपटक मान्छे हेरेर मत दिने बताए । रेनुले राम्रो काम गरेको उनको भनाइ थियो ।

हामीले भरतपुरका जति पनि वडामा कुरा गर्‍यौं, अधिकांशले रेनु र सोविता दुवै ठीक रहेको तर, एक जनालाई रोज्ने बताए । यी दुई उम्मेदवारमध्ये कसलाई रोज्ने भनेर धेरैजना ‘कन्फ्युज’मा रहेको हामीले पायौं ।

null

माडीको मनोविज्ञान- निकुञ्जले दु:ख दियो, नेताले ढाँटे !

चितवन राष्ट्रिय निकुञ्जको कच्ची (ग्राबेल) सडक पार गरेर माडी नगरपालिका पुग्दा माहोल केही फरक देखियो । हामीले माडीलाई चितवनको विकट क्षेत्रका रूपमा बुझेका थियौं । चितवन राष्ट्रिय निकुञ्जभित्रको करिब ८ किलोमिटर कच्ची (ग्राबेल) सडकलाई छाड्ने हो भने माडीमा लगभग पूरै पक्की बाटो रहेछ ।

हालसालै बनेका पुलको दायरामा पर्ने २/३ सय मिटर सडकहरू मात्र कच्ची देखियो । राष्ट्रिय निकुञ्जवारि भरतपुरका मतदाताले रेनु र सोवितामध्ये एक जनालाई रोजिरहेको देखेका हामीले माडीमा अन्य दलका प्रतिबद्ध मतदाता पनि उही अनुपातमा भेट्यौं ।

त्यसो त, नयाँको हावा त्यता पनि चलिसकेको रहेछ ।

माडी २ नयाँ पर्साका ७० वर्षीय नारायणप्रसाद महतोले हामीलाई त्यो ठाउँको नाम कसरी रहन गयो भन्ने सुनाए । 

थारू भाषामा गाईभैँसी आहाल खेल्ने ठाउँलाई माड भनिँदो रहेछ । ‘यो ठाउँ पहिला हात्ती-गैँडा आहाल खेल्ने ठाउँ हो । चारैतिर डाँडा र बीचमा आहालजस्तो भूभाग भएकाले हामीले पहिला माड भन्थ्यौं । त्यसैबाट माडी नाम रहन गयो’, महतोले माडीको रहस्य बुझाए ।

null

ओमशान्तिलाई आदर्श मान्ने महतोले हामीलाई अर्को रमाइलो कुरा पनि सुनाउन भ्याए । ‘मेरो यो कोठा (सटर)मा अहिलेसम्म ज-जसले कार्यालय खोलेका छन्, उनीहरू सबैले जितेर गएका छन् । यसपटक तारा (नेकपा)का मान्छेहरूले हामी बस्छौं, सफा गरिदिनुस् भनेर जानुभएको छ, अब के हुन्छ, हेरौं ।’

सडकमै रहेकाले उनको सटरमा विगतमा पनि चुनाव प्रचारका लागि सम्पर्क कार्यालयहरू बनेका रहेछन् ।

अहिले लगभग कालोपत्रे सकिएको हुलाकी सडक हुँदै हामी माडीको पूर्वी भेगतर्फ लाग्यौं । माडी नगरपालिका वडा नम्बर ९ टमटाबजार पुग्दा तामाङ समुदायका ३२ वर्षीय युवा भेटिए । उनले यसपटक नेकपाकी रेनु दाहाललाई मत दिने बताए ।

‘हाम्रो ठाउँमा ताराको नै माहोल छ । यहाँ विकासको शुरूआत माओवादीले नै गरेको हो’, ती युवाले भने, ‘अघिल्लोपटक राप्रपाले जितेको हो, यसपटक जित्दैन ।’

उनले भरतपुर महानगरपालिकामा रेनुले निकै राम्रो काम गरेको बताए । आफ्नो ठाउँमा अरू सबै ठीक भए पनि जंगली जनावरको आतंक रहेको उनको गुनासो थियो ।

त्यहाँबाट केही माथितर्फ गणेशकुञ्जमा पुग्दा मन्दिर अगाडिको पिपलको बोटमुनि एक वृद्ध बसिरहेका थिए । उनले यसपटक रास्वपालाई मत दिने बताए । ‘विगतमा एमालेलाई भोट दिँदै आएको हो । सात पुस्तालाई पुग्ने गरी खाइसके । ७/८०० जनालाई खान दिनुभन्दा, एउटा रविले खाओस् न’, ती वृद्धले भने ।

माडी ९ कृष्णनगरका अर्का एक वृद्धले पनि यसपटक नयाँलाई मत दिने बताए । आफूहरूलाई निकुञ्ज र जंगली जनावरले निकै दु:ख दिएको उनको गुनासो थियो । ‘छोराछोरी भरतपुर बस्छन्, यहाँबाट एक किलो मासु लगिदिऊँ न त भने पनि पाइँदैन, यो निकुञ्जले हामीलाई निकै दु:ख दिएको छ’, उनले भने ।

माडी ८ खरकट्टामा पुग्दा राप्रपाको सम्पर्क कार्यालय उद्घाटन हुँदै थियो । राप्रपा माडीका अध्यक्ष वीरेन्द्रबहादुर भण्डारीले माडीको विकास विक्रम पाण्डेकै कारण भएको जिकिर गरे । यसपटक युवाको माहोल रहेकाले पाण्डे आफू नउठेर युवा उम्मेदवार दीपक थापा मगरलाई अगाडि बढाएको उनको जिकिर थियो ।

null

माडी ८ का राप्रपा अध्यक्ष राजकुमार परियारले विक्रम पाण्डेले माडीको मुहार फेरेको दाबी गरे । यसपटक पनि युवा उम्मेदवार उठाएकाले राप्रपाले राम्रो मत ल्याउने उनको जिकिर थियो ।

माडी ७ जगन्नाथपुरका ७० वर्षीय वृद्धले ‘रेनु भरतपुरको विकास गरिसकें, अब माडीको विकास गर्छु’ भन्दै आएको सुनाए । ‘पहिला रेनुका बा (प्रचण्ड) यो गर्छु, त्यो गर्छु भनेर आए । जंगलमा पुल हाल्छु (तलबाट जंगली जनावर हिँड्न मिल्ने) भने, तर केही काम गरेनन् । अब छोरी आएकी छन्, जनताले विश्वासचाहिँ खासै गरेका छैनन् ।’

‘प्रचण्डले यो गर्छु, त्यो गर्छु भनेर ढाँटेको’ तर, कानूनी अवरोधका कारण जंगलमा सडक पिच समेत हुन नसकेको उनले बताए ।

माडी ७ किर्तनपुरका ६१ वर्षीय पुरुष मतदाताले पहिला एमाले भए पनि यसपटक घण्टीमा भोट हाल्ने बताए । 

त्यहीँ रहेका ५२ वर्षीय पुरुषले एमाले पहिलेभन्दा खस्किएको तर्क गर्दै यसपटक कांग्रेस अगाडि आउन सक्ने बताए ।

सोही वडाका ५० वर्षीय पुरुष मतदाताले आफू विगतदेखि अहिलेसम्म पनि एमाले रहेको बताए । ‘म पहिलेदेखि नै एमाले हो, सूर्यबाहेक अन्यत्र छाप लगाउँदिनँ’, उनले भने ।

केही अगाडि बढेपछि २ जना बसेर कुराकानी गरिरहेका भेटिए । उनीहरूमध्ये एकजना एमाले र एक कांग्रेस रहेछन् ।

‘एकजना विकास गर्छु र अर्को कानून बनाउँछु भनेर आएका छन् । तर, यहाँ प्रतिस्पर्धा कांग्रेस र एमालेबीच नै हो’, त्यहाँ रहेकामध्ये एक जनाले भने ।

माडी ६ बाँदरमुडे (कल्याणपुर)का ५८ वर्षीय पुरुष मतदाताले प्रचण्डले विगतको वाचा पूरा नगरेका कारण रेनुलाई गाह्रो हुने विश्लेषण सुनाए ।

‘प्रचण्डका कारण रेनुलाई गाह्रो छ । म पहिला अन्य दलकै मतदाता हो, ३५ वर्ष अरूलाई हेरियो, अब ५ वर्ष नयाँलाई हेरौं न त’, उनले भने, ‘यसपटक छातीमा मुड्कीले हानेर घण्टीमा भोट हाल्दैछु ।’

null

बाँदरमुडे त्यही ठाउँ हो, जहाँ जनयुद्धकालमा तत्कालीन नेकपा माओवादीले सेना मात्र चढेको ठानेर यात्रुबाहक बसमा बम विस्फोट गराएको थियो । छतमा सेना रहे पनि बसभित्र सर्वसाधारण थिए । माओवादीले त्यो घटनालाई जनयुद्धकालको आफ्नो सबैभन्दा ठूलो गल्ती मान्दै आएको छ ।

माडी ३ सिमरामा भेटिएका दिलकुमार खाटोले आफ्नी पत्नीको दुवै किड्नी फेल भएको र उपचारमा कसैको सहयोग नपाएको गुनासो गरे ।

माडी ६ कल्याणपुरकी २२ वर्षीय युवती वसन्तपुर बजारमा भेटिइन् । उनले यसपटक रेनु र सोविता उठेको भन्दै राम्रोलाई मत दिने बताइन् । 

माडी ३ वसन्तपुरकै ४८ वर्षीया महिला मतदाताले आफूले एमालेबाहेक अरूलाई मत नदिने बताइन् ।

हामी सोही वडाका थारू बस्तीमामा छिर्‍यौं । बघौडाका एक युवाले विगतमा एमालेलाई मत हाल्दै आएको तर, यसपटक केही थाहा नभएको बताए । गाउँमा घण्टी भनेको आफूले सुनेको उनले बताए ।

केही अगाडि बढ्दा बैराठ भन्ने ठाउँमा आमाछोरा तोरीबारीमा काम गरिरहेका थिए । उनीहरूले चुनावबारे खासै प्रतिक्रिया दिन मानेनन् । 

माडी २ चिरौलीकी ३० वर्षीया पुनम महतोले यसपटक कसैले रेनु, कसैले सोविताको नाम लिएको आफूले सुनेको बताइन् । 

हामीले माडीका अन्य कैयन् मतदातासँग कुरा गर्‍यौं, सबैसँग कुरा गर्दा यहाँ मिश्रित प्रतिक्रिया पाइयो । तर, जंगली जनावर र निकुञ्जको ज्यातदीबारे भने सबैको एउटैखाले गुनासो थियो ।

‘यहाँ ८ बज्न पाउँदैन, गैँडाको हुल आउँछ । खेतीबाली माडेर हैरान छ । निकुञ्जले हामीलाई ज्यादती गरेको छ’, अधिकांशको एकैखाले गुनासो थियो ।

हामी माडीबाट बिदा हुँदै गर्दा एक स्थानीयले भने- ‘जंगली जनावरको आतंक नहुने हो भने हाम्रो ठाउँ स्वर्ग जस्तो छ ।’

पढ्नुहोस् यो पनि-

भरतपुर र माडीका ३०० मतदाता भेट्दा यस्तो पाइयो चितवन- ३ को मनोविज्ञान

salt training

कमेन्ट गर्नुहोस्