२६ असार २०८३, शुक्रबार
कांग्रेस महामन्त्रीसँग कुराकानी

कांग्रेस नयाँभन्दा पनि नयाँ भएर आएको छ, जनताले पत्याएका छन्– गुरू घिमिरे [भिडियो]

माघ २९, २०८२
काठमाडौं
कांग्रेस नयाँभन्दा पनि नयाँ भएर आएको छ, जनताले पत्याएका छन्– गुरू घिमिरे [भिडियो]

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर नेपाली कांग्रेस चुनावमा होमिएको छ, तर मतदाताको प्रश्न भने सामना गर्नुपरेको छ । देशव्यापी चलिरहेको ‘एकपटक नयाँलाई अवसर दिने’ भाष्यलाई चिर्न कांग्रेसका उम्मेदवारलाई सकस परिरहेको छ ।

चुनावको मुखैमा भएको नेतृत्व परिवर्तनको प्रभाव व्यवहारत: गाउँका मतदाताले महसुस गर्न सकिरहेका छैनन् । नयाँ नेतृत्व चयन भएको एक महिना पुग्दैगर्दा समेत मतदाताले रूपान्तरित कांग्रेसलाई पुरानै चस्माले हेरिरहेका छन् ।

कांग्रेस महामन्त्री गुरूराज घिमिरे भने कांग्रेस रूपान्तरण भएको कुरा मतदाताले बुझ्न शुरू गरेको र चुनावसम्म बुझिसक्ने बताउँछन् । ‘भदौ २३–२४ को घटनापछि कांग्रेस यथास्थितिमा बस्नु हुँदैन भनेर नेतृत्व परिवर्तन गर्‍यौं, जनतामा आशा जगायौँ, यसको निकै ठूलो प्रभाव छ,’ घिमिरेले लोकान्तरसँग भने ।

 रूपान्तरित भएर आएको कांग्रेसलाई मतदाताले भरोसा गरेको महामन्त्री घिमिरेको भनाइ छ । ‘कांग्रेस नयाँ भर्सनमा आएको छ, सर्भिसिङ गरेर र चालक फेरेर आएको छ । नयाँभन्दा पनि नयाँ बनेर कांग्रेस आएको छ, जनताले पत्याएका छन्,’ घिमिरेले भने, ‘हामीले १६५ क्षेत्रमै उम्मेदवार उभ्याएका छौं । युवा नेतृत्वका कारण नयाँ पुस्ता आकर्षित छ।’

गठबन्धन गर्दा तितरवितर भएका मतदाता फेरि जुटेकाले कांग्रेसलाई पहिलो दल बन्न कसैले रोक्न नसक्ने उनले बताए । ‘राष्ट्रिय राजनीतिमा मियोका रूपमा काम गरेको र लोकतन्त्रको पाठशाला रहेको कांग्रेसको शाख फर्काउन लागिपरेका छौं,’ उनले भने ।

मोरङ ४ का उम्मेदवारसमेत रहेका घिमिरेले कटहरी र ग्रामथानलाई ‘मिनि सौराह’को रूपमा विकास गर्ने योजना रहेको बताए । ‘कटहरी र ग्रामथानमा विराटनगर आएका पर्यटकलाई स्थानीय परिकार र संस्कृति सहितको सत्कार दिन सक्ने सामर्थ्य छ, पर्यटन पर्वद्धनमार्फत् रोजगारी सृजना गर्न लाग्नेछु,’ घिमिरेले भने ।

कांग्रेसमा भएको नेतृत्व परिवर्तनलाई जनताले कसरी बुझेका छन् ? नयाँ नयाँ भनिरहेका मतदातालाई कांग्रेसको के जवाफ छ ?

यीलगायत समसामयिक विषयमा घिमिरेसँग गरिएको कुराकानी हेर्नुहोस् भिडियोमा

salt training

कमेन्ट गर्नुहोस्