
अफगानिस्तानले आईसीसी मेन्स टी–२० विश्वकप २०२६ अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध हृदयविदारक हार बेहोरेको छ ।अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिएको समूह ‘डी’ को उक्त खेल डबल सुपर ओभरसम्म पुगेको थियो । यसमा दक्षिण अफ्रिका विजयी बनेको थियो । यस हारसँगै अफगानिस्तान समूह चरणबाटै बाहिरिने अवस्थामा पुगेको छ ।
अब सेमिफाइनल सम्भावना कायम राख्न अफगानिस्तानले बाँकी दुवै समूह खेल जित्नुपर्नेछ । साथै, समूहका अन्य खेलहरूको नतिजा पनि आफ्नो पक्षमा आउनुपर्ने अवस्था छ ।
यसैबीच, दक्षिण अफ्रिकासँगको हारपछि अफगानिस्तानका पूर्वकप्तान तथा अनुभवी अलराउन्डर मोहम्मद नबीमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले कारबाही गरेको छ ।
आईसीसीले आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै नबीलाई खेल शुल्कको १५ प्रतिशत जरिवाना गरेको छ । उनी आईसीसी आचारसंहिताको लेभल–१ उल्लंघनमा दोषी ठहरिएका हुन् । उनले खेलाडी तथा सहयोगी स्टाफका लागि बनाइएको कोड अफ कन्डक्टको धारा २.४ उल्लंघन गरेका थिए । जुन अन्तर्राष्ट्रिय खेलका क्रममा अम्पायरको निर्देशन पालना नगर्नेसँग सम्बन्धित छ ।
के थियो घटना ?
यो घटना अफगानिस्तानको इनिङ्सको १४औँ ओभरको सुरुवातमा भएको थियो । त्यस क्रममा मोहम्मद नबीले दक्षिण अफ्रिकाका तीव्र गतिका बलर लुंगी एन्गिडीले हातमा लगाएको रिस्टब्यान्डको विषयमा अम्पायरहरूसँग लामो बहस गरेका थिए । खेल अत्यन्त रोमाञ्चक बनेको थियो । दुई नाटकीय सुपर ओभरपछि दक्षिण अफ्रिकाले अफगानिस्तानलाई झिनो अन्तरले पराजित गरेको थियो ।
आईसीसीले नबीको अनुशासनात्मक अभिलेखमा एक डिमेरिट अंक पनि थपेको छ । पछिल्लो २४ महिनामा यो उनको पहिलो उल्लंघन हो । नबीले आफ्नो गल्ती स्वीकार गर्दै आईसीसी अन्तर्राष्ट्रिय प्यानलका म्याच रेफ्री डेभिड गिल्बर्टले प्रस्ताव गरेको सजाय मानेका कारण औपचारिक सुनुवाइ आवश्यक परेन ।
मैदानी अम्पायर जयरामन मदनगोपाल र शरफुद्दौला इब्ने शाहिद, थर्ड अम्पायर नितिन मेनन तथा फोर्थ अम्पायर केएन अनन्तपद्मनाभनले नबीमाथि आरोप लगाएका थिए ।
लेभल–१ उल्लंघनमा न्यूनतम सजाय आधिकारिक चेतावनी हुन्छ भने अधिकतम सजाय खेल शुल्कको ५० प्रतिशतसम्म जरिवाना र एक वा दुई डिमेरिट अंक हुन सक्छ ।