
आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले इटालीलाई १२४ रनको सामान्य लक्ष्य दिएको छ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा बिहीबार भइरहेको खेलमा नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाएको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । यस्तै रोहित पौडेलले २३, आसिफ शेखले २० दीपेन्द्र सिंह ऐरीले १७, करण केसीले १८ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
टस जितेर पहिला बलिङ गरेको इटालीका लागि क्रिसन कलुगामागेले ३ विकेट लिए । यस्तै बेन मनेन्टीले २ विकेट लिए भने अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले १–१ विकेट लिए ।
टी–२० विश्वकप २०२६ मा नेपाल र इटालीले आफ्नो दोस्रो खेल खेलिरहेका हुन् । पहिलो खेलमा नेपाल इङ्ग्ल्याण्डसँग चार रनले पराजित भएको थियो भने इटाली स्कटल्याण्डसँग ७३ रनले पराजित भएको थियो । दुवै टोली पहिलो जितको खोजीमा छन् । विश्वकपको समूह ‘सी’मा रहेका नेपाल र इटली मात्र अङ्कविहीन रहेका हुन् ।
यस समूहमा चार अङ्कका साथ वेस्ट इण्डिज शीर्ष तथा समान दुई अङ्क भएका स्कटल्याण्ड र इङ्ग्ल्याण्ड क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । सुपर आठको सम्भावना कायमै राख्न दुवै टोलीका लागि यस खेलमा जित महत्त्वपूर्ण मानिएको छ ।