
आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा बिहीबार भएको खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाएको थियो । नेपालले दिएको १२४ रन सामान्य विजयी लक्ष्य पच्छाएको इटालीले कुनै विकेट नगुमाएर १२.४ ओभरमा पुरा गरेको हो ।
इटालीका लागि जस्टिन मोस्का र एन्थोनी मोस्काले सानदार साझेदारी गरे । जस्टिन ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६० रन बनाए । यस्तै एन्थोनीले ३२ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै ६२ रन बनाए ।
नेपालका लागि कुनै पनि बलरले विकेट लिन सकेनन् ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । यस्तै रोहित पौडेलले २३, आसिफ शेखले २० दीपेन्द्र सिंह ऐरीले १७, करण केसीले १८ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
टस जितेर पहिला बलिङ गरेको इटालीका लागि क्रिसन कलुगामागेले ३ विकेट लिए । यस्तै बेन मनेन्टीले २ विकेट लिए भने अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले १–१ विकेट लिए ।
योसँगै टी–२० विश्वकप २०२६ मा नेपालले जित निकाल्न सकेको छैन । आफ्नो पहिलो खेलमा नेपाल इङ्ग्ल्याण्डसँग चार रनले पराजित भएको थियो ।