२३ जेठ २०८३, शनिबार

नेपथ्य सङ्गीत यात्रा- गीतसँगै सन्देशबाट पनि रमाए चितवनका दर्शक

माघ २९, २०८२
काठमाडौं
नेपथ्य सङ्गीत यात्रा- गीतसँगै सन्देशबाट पनि रमाए चितवनका दर्शक

नेपथ्य टोलीले ‘हो रामा रामा’ गीतबाट प्रस्तुति शुरू गरेसँगै नारायणगढको क्याम्पाचौरमा अनेकथरि ‘इफेक्ट’को प्रयोग देखिन थाल्यो । मञ्च धुवाँमय बन्यो, दर्शक घेरामा पताकाहरू उड्न शुरू भए । रङ्गीबिरङ्गी बत्ती फनफनी घुम्न थाले । दर्शकले चिच्याएर माहोललाई थप रोमाञ्चक बनाए ।

दर्शकको उल्लासमय उपस्थितिमाझ नेपथ्यले एक दशक पुरानो गीत ‘हो रामा रामा’पछि ‘भेडाको ऊन’ र झन्डै साढे तीन दशक पुरानो ‘छेक्यो छेक्यो’ सुनायो । त्यतिन्जेल मैदानका कुनाकाप्चामा रहेका थोरै खाली ठाउँ पनि भरिइसकेका थिए । बाहिर भने टिकट सकिएकाले निराश भई फर्कनेहरूको लर्को देखिन्थ्यो ।

रामपुर क्याम्पसबाट भर्खरै आर्किटेक्चर इन्जिनियरिङ पास गरेका प्रज्वल अधिकारी भने ‘केही उपाय लागिहाल्छ कि’ भनेर पछिसम्मै कुरिरहेका थिए । 

कन्सर्टका लागि छापिएका टिकट एक दिन अगावै सकिएको घोषणा भइसकेको थियो । अनलाइनबाट बिक्री भइरहेको टिकट पनि शो शुरू हुनुभन्दा केही घण्टा अगावै सकिएको थियो । अन्य कन्सर्टमा झैँ नेपथ्यको टिकट गेटमै पाइन्छ भन्ने विश्वाससाथ आएका प्रज्वल निराश बन्न पुगेका थिए ।

यो त्यही क्याम्पाचौर हो, जसको छेवैमा ‘नारायणी कला मन्दिर’ छ । २५ वर्षपहिले त्यस सभागृहमा पाँच सय दर्शक जुटाउन पनि नेपथ्यलाई हम्मे–हम्मे परेको अनुभव ब्याण्डका गायक अमृत गुरुङसँग छ । मंगलबार साँझ भने क्षमताले नै नधान्ने गरी दर्शक ओइरिएका थिए ।

‘हेर्न आइसकेका दर्शकलाई सकेसम्म प्रबन्ध मिलाउने कोसिस गरेका थियौं,’ स्थानीय आयोजक ‘नेपाल डायरिज’का बिनेश थापा भन्दै थिए, ‘क्षमताले नै नभ्याउने भएपछि अनलाइनको टिकट पनि रोक्न बाध्य भयौं ।’

करिब आठ हजार दर्शकमा तन्नेरी वयका युवकयुवतीको बाहुल्य थियो । तर अरू उमेर समूहका दर्शक पनि उल्लेख्य थिए । तिनैमध्ये एक थिइन् ९० वर्षीया ऋद्धिकुमारी केसी ।

‘अमृतले गाएका सबै गीत मलाई मन पर्छ,’ एकपटक काठमाडौंमा पनि नेपथ्य कन्सर्ट हेरिसकेको सुनाउँदै केसीले भनिन्, ‘यहाँ पनि नेपथ्य आइपुगेको थाहा पाएपछि परिवार र आफन्तको साथसहयोगमा हेर्न आएकी हुँ ।’

null

उता गायक अमृत घरी ‘रोदीमा जस्तो नाचौँ न हई’ भनेर ‘लामपाते सुरती’ गाइरहेका थिए भने घरी ‘मायामा जातपातको कुरा हुँदैन’ भनेर तन्नेरी मनलाई उचाल्ने गरी ‘चरी मर्‍यो’ गीत सुनाइरहेका थिए ।

अमृतले छेवैको नारायणीमा बगिरहेको सप्तगण्डकीको पानीका मुहान् अर्थात् गण्डक भेगका हिमालहरूको बयान गर्दै स्वदेशलाई चिन्न र बुझ्नका लागि मुलुक घुम्ने अवसर नछुटाउन आह्वान गरे अनि धौलागिरि हिमाल आसपास तयार पारिएको गीत पस्के –
‘शिरफूल शिरैमा वनफूल वनैमा
हिउँको फूल धौलासिरिमा’

उनले कार्यक्रममा परोपकारको आह्वान गर्दै अर्को गीत ‘यो जिन्दगानी’ पनि सुनाए । त्यसक्रममा भने, ‘दानीहरूको उदारताले नै यस दुनियाँमा धेरैले बाँच्ने मौका पाएका छन् । छरछिमेकमा शिक्षाको उज्यालो नपाएका केटाकेटी छन् भने उनीहरूलाई स्कूलको दैलो टेकाइदिनुजस्तो पुण्यको काम अर्को केही हुँदैन हई..।’

चार वर्षपछि फेरि आफ्नो शहरमा आएको ब्याण्डले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि फैलाइरहँदा रामपुर कृषि क्याम्पसबाट एक्वाकल्चरमा एमएससी गरिरहेका सन्देश घिमिरे उत्साहित देखिन्थे ।

करिब २२ वर्षअघि दुर्घटनामा एउटा खुट्टा गुमाएका उनी बैसाखी टेकेरै कार्यक्रमको आनन्द लिइरहेका थिए ।
‘नेपथ्यका सबै गीतमा शुद्ध नेपाली आत्माको गन्ध पाउँछु,’ सन्देश भनिरहेका थिए, ‘त्यसैले यो ब्याण्डको कार्यक्रम सकेसम्म छुटाउने गरेको छैन ।’ यसअघि पनि चितवनमै नारायणी नदीको किनारमा नेपथ्यको कन्सर्ट हुँदा आफू उपस्थित रहेको उनले सुनाए ।

मञ्चमा अमृतलाई सदाझैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए । यो शृङ्खलाको अन्तिम कन्सर्टका लागि नेपथ्य रमणीय पर्वतीय नगरी बन्दीपुरतर्फ प्रस्थान गरिसकेको छ । त्यहाँस्थित टुँडिखेलमा फागुन २ अर्थात् भ्यालेन्टाइन्स डे कै साँझ नेपाली लोकरक गुन्जिनेछ ।

दर्शक सुविधालाई ध्यानमा राखेर अनलाइनबाट सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ । अनलाइन बुकिङका लागि नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत आफ्नो सिट सुरक्षित गर्न सकिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्