
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले तेस्रोपटक प्रतिस्पर्धा गर्दै गरेको चितवन क्षेत्र नम्बर २ को मनोविज्ञान खासै परिवर्तन नभएको पाइएको छ ।
यो क्षेत्रमा भरतपुर महानगरपालिकाका १० वटा वडा (१, २, ३, ४, ५, ७, १०, ११, १२ र २९) तथा कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्छन् । हामी भरतपुरका विभिन्न वडा र कालिका नगरपालिकामा पुग्दा धेरैमा रविले काम गर्न पाएनन् भन्ने मनोविज्ञान पायौं ।
विशेषगरी कालिका नगरपालिकाका अधिकांश मतदाता रविको पक्षमा प्रतिबद्ध रहँदा भरतपुरमा भने मिश्रित धारणा पाइयो ।
यसपटक चितवन २ मा रास्वपाका रवि लामिछानेका अलावा नेपाली कांग्रेसबाट समाजसेवी मीना खरेल, नेकपा एमालेबाट अस्मिन घिमिरे, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट प्रताप गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जगदिश्वर अधिकारीसहित १७ दलीय र ६ स्वतन्त्र गरी २३ उम्मेदवार छन् ।
कालिकामा रविको बोलवाला
कालिका नगरपालिका वडा नम्बर ८ न्युरेनीकी सुमित्रा भट्टराईले अघिल्लोपटक पनि रविलाई मत दिएको र यसपटक पनि रविलाई नै दिने बताइन् । जिताएर पठाए पनि काम गर्न नदिएको उनको गुनासो थियो ।
उनीसँगै रहेकी रितिका निरौला गोतामे भने एमालेको मतदाता रहिछन् । ‘हामी त ओली बा (एमाले अध्यक्ष केपी शर्मा ओली) हो । आफ्नो मनले जसलाई भन्छ, उसैलाई दिने त हो नि !’
हामीले तपाईं कसलाई मत दिनुहुन्छ भनेर सोधेका थिएनौं, चुनावी माहोलबारे जिज्ञासा राख्नेबित्तिकै उनीहरूले आफैं भनेका थिए । कालिका ७ जुटपानीमा केही महिलाहरूको समूह भेटियो । उनीहरूले एकपटक फेरि रविलाई हेर्ने बताए ।
‘यहाँ त घण्टीको नै माहोल छ’, सो समूहमा रहेकी गोमा बस्नेतले भनिन्, ‘अघिल्लोपटक पनि जिताएको हो । काम गर्न पाउनुभएन । संसद्मा पुग्नेबित्तिकै जेलमा बस्नुपर्यो । फेरि एकपटक हेर्ने हो ।’

सोही वडाका कमलबहादुर श्रेष्ठले पनि खुलेरै रास्वपा र रविको पक्षमा मत जाहेर गरे ।
‘यहाँ त रवि लामिछानेको मात्र माहोल छ, लुकाउने कुरै छैन’, श्रेष्ठले भने, ‘सबैले घण्टी भन्छन् । थुनामा पर्दा पनि यहाँका जनता उल्टिएर गएका थिए ।’
कालिका ६ भटेनीमा ६७ वर्षीया दलकुमारी पौडेल बदाम खाँदै गरेको अवस्थामा भेटिइन् । उनले पनि रविको काम हेर्न नपाएको गुनासो गरिन् । २०७९ अघि उनी कांग्रेसको मतदाता रहिछन् ।
‘हामीले अघिल्लोपटकदेखि रविलाई भोट दिएको हो । काम गर्न पाउनुभएन । एक/दुई वर्ष काम हेर्न पाएको भए पनि यसो-उसो भन्ने हुन्थ्यो’, उनले भनिन्, ‘आरोप चाहिँ लगाए, तर प्रमाण भेटेनन् ।’

कालिका ७ स्याउलीबजारका रामकृष्ण श्रेष्ठले अहिलेसम्म कोही पनि भोट माग्न नआएको बताए ।
‘अहिलेसम्म त कोही पनि आएका छैनन् । आफ्नै काममा बिजी भएकाले केही थाहा छैन’, श्रेष्ठले भने । बीचमै उनकी श्रीमती बोलिन्- ‘अघिल्लोपटक घण्टीमा भोट हालेको हो । यसपटक पनि घण्टमै हाल्छौं ।’
कालिका ३ पदमपुरमा भेटिएकी ३९ वर्षीया सोविता भट्टराई रास्वपाको प्रतिबद्ध कार्यकर्ता रहिछन् । पत्रकार भन्ने थाहा पाउनेबित्तिकै उनी बोलिन्, ‘हामी त घण्टी टिनिनिनी !’
त्यहीँ रास्वपाका वडा सभापति तेजराज गिरी पनि भेटिए । उनले आफ्नो वडामा रास्वपाकै वर्चस्व रहेको दाबी गरे ।
कालिका २ लामाचोककी सिर्जना रेग्मीले चुनावबारे खासै चासो नभएको बताइन् । ‘आफ्नो दु:ख आफैं गर्नुपर्छ । हामीलाई चुनावबारे केही चासो छैन’, उनले भनिन्, ‘त्यही भाइरल भएकाले रवि लामिछाने उठेको भन्ने थाहा छ, अरू केही थाहा छैन ।’

उनले केही समयअघि नेकपाका कार्यकर्ता तारा चिह्न बोकेर आएको सुनाइन् ।
पदमपुरमै पर्ने कालिका ४ मा केही युवाहरू क्यारमबोर्ड खेल्दै गरेको भेटिए । उनीहरूले अघिल्लोपटक रविलाई जिताए पनि यसपटक माहोल बुझ्न नपाएको बताए ।
कालिका ५ दुई नम्बर बाटोका होमबहादुर भट्टले यसपटक पनि रविलाई जिताउने बताए ।
‘यहाँ त घण्टीकै माहोल छ । उसलाई राज्य लाग्यो, एकपटक फेरि जिताउने भन्ने सबैको कुरा छ’, उनले भने ।
हामीले कालिकामा र्यान्डम्ली जति मान्छेसँग कुरा गर्यौं, अधिकांशको एउटै कुरा थियो- ‘रविलाई काम गर्न दिएनन्, राज्य लाग्यो ।’
भरतपुरको मिश्रित मनोविज्ञान
भरतपुर ११ का ७८ वर्षीय भीमप्रसाद ढकालले अघिल्लोपटक रविलाई मत दिए पनि यसपटक सोच्ने बताए ।
‘कसैले पुराना नै भन्छन्, कसैले रवि पनि भन्छन्’, उनले भने, ‘पहिले हामीले पनि रविलाई भोट दिएको हो । यसपटक के गर्ने भन्ने निर्णय लिनै बाँकी छ । त्यतिबेला कता मुड जान्छ, हेरौं ।’
भरतपुर १० शिवमन्दिरमा भेटिएका दुर्गाप्रसाद पौडेलले नेपाली कांग्रेसकी मीना खरेललाई मत दिने बताए । रविले अघिल्लोपटक जस्तो मत यसपालि नल्याउने जिकिर उनले गरे ।
‘पहिलेको जस्तो मत ल्याउन त गाह्रो छ । धेरैले कुरा बुझेका छन्, दुईवटा श्रीमती, दुईवटा पासपोर्ट, यो त ठीक होइन नि’, पौडेलले भने, ‘खरेल (कांग्रेस उम्मेदवार) जित्नुपर्ने मान्छे हुन् । गगन थापा (कांग्रेस सभापति) भिजन भएका मान्छे हुन् ।’
भरतपुर ७ कृष्णपुरका वासुदेव गौतमले रविको पहिलेजस्तो ठूलो अन्तरको जीत यसपटक नहुने बताए ।

‘अझै पनि घण्टीको माहोल त छ, तर परारको जस्तो छैन’, गौतमले भने, ‘म पहिला कांग्रेस हुँ । मीना खरेल पनि राम्रो मान्छे हुनुहुन्छ । तर, देश खोक्रो बनाए । कलकारखाना बेचे । छेराछोरी विदेशिनुपर्यो ।’
भरतपुर ७ शान्तिटोलमा भेटिएका ४३ वर्षीय विक्रम थापाले फेसबुक र ग्राउन्डमा फरक माहोल रहेको बताए ।
‘यसपटक फेसबुकमा घण्टी र ग्राउन्डमा कांग्रेसको माहोल छ । रविले अघिल्लोपटक जित्नुभयो, तर काम त केही गर्नुभएन नि ! मुद्दा मामिला उहाँको कुरा हो, जनतालाई त्यससँग के सरोकार?’, उनले भने, ‘रविले जिते पनि शपथ लिन पाउनुहुन्न । अर्कातर्फ, मीना खरेल समाजसेवी हुनुहुन्छ । बिहे नगरी बस्नुभएको छ । म कांग्रेस होइन, तर खरेललाई मत दिन्छु ।’
हामीले उनको थप कुरा सुन्दा राप्रपाप्रति आस्थावान रहेको पायौं ।
भरतपुर ४ चिसापानीमा भेटिएकी महिमा रायमाझीले आफ्नोतिर घण्टीकै माहोल पाएको बताइन् । विगतमा माओवादीको मतदाता रहेको बताएकी उनले यसपटक देशले परिवर्तन खोजेको धारणा राखिन् ।
भरतपुर ४ धर्मचोक लंकुमा तारासहितको क्याप लगाएर बसेका एक युवा भेटिए । उनी सो वडाका वाईसीएल अध्यक्ष सन्दीप खराल रहेछन् । वाईसीएल नेकपाको भ्रातृ संगठन हो ।
उनले यसपटक राम्रो उम्मेदवार अगाडि सारेको र नेकपाले जित्ने दाबी गरे । ‘इच्छाकामना, कालिकादेखि भरतपुरसम्मै हाम्रो राम्रो छ । जनयुद्धदेखि नै लाग्नुभएको एकदमै इमान्दार उम्मेदवार हुनुहुन्छ’, खरालले भने, ‘मीना खरेललाई त जित्छौं, जित्छौं, रविभन्दा पनि अगाडि आउँछौं ।’

भरतपुर ४ लंकुपुलनजिक घर रहेका भरत न्यौपानेले घण्टीकै माहोल रहेको बताए ।
‘माहोल त उही हो क्यारे, पहिले रूख थियौं, रूखले छहारी दिएन, सूर्यले पनि गर्मी मात्र दियो, अब घण्टी बजाउने हो’, उनले भने ।
भरतपुर ३ बेलचोकमा भेटिएका एक पुरुष मतदाता (नाम बताएनन्)ले यसपटक पहिलाभन्दा केही कम मत आए पनि रविले नै जित्ने बताए । उनी कांग्रेसनिकट रहेछन् ।
‘मीना खरेल पनि नराम्रो मान्छे हुनुहुन्न । जित्न चाहिँ रविले नै जित्छन् । पहिलाको जति मत आउला जस्तो लाग्दैन’, उनले भने ।
रास्वपा सभापति रवि आफ्नो क्षेत्रमा भन्दा अन्यत्र बढी व्यस्त छन् । पार्टीलाई बहुमतसहित संसद् र सरकारमा पुर्याउने अठोटका साथ उनी र बालेन शाह देश दौडाहामा निस्किएका हुन् । आफ्नो क्षेत्रमा कम समय दिए पनि रविलाई चुनाव जित्न खासै गाह्रो देखिँदैन ।
यो क्षेत्रमा सबैभन्दा धेरै मत रहेका भरतपुर र कालिकाका विभिन्न वडामा पुग्दा हामीले भेटेको साझा निष्कर्ष छ- ‘यसपटक पनि रविले जित्छन्, तर पहिलाजस्तो ठूलो अन्तरले होइन ।’
२०७९ मा रवि ४९ हजार ३०० मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ तथा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत पाएका थिए ।
२०८० को उपनिर्वाचनमा रविले मत बढाएर ५४ हजार १७६ पुर्याउँदा कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ तथा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाएका थिए ।
नागरिकता प्रकरणमा रविको सांसद र मन्त्री पद दुवै गएपछि उपनिर्वाचन भएको थियो ।

अघिल्ला चुनावमा रविले विशेष गरी महिला मतदाताको उल्लेख्य मत पाएको स्थानीय बताउँछन् । यसपटक कांग्रेसले सोही ‘भोट बैंक’ मा लोकप्रिय मीना खरेललाई उम्मेदवार बनाएको छ । खरेल विवाह समेत नगरी समाजसेवामा सक्रिय छिन् । उनले चितवनमा मानव सेवा आश्रम चलाउँदै आएकी छन् ।
‘पार्टीको संगठनात्मक मत र मीना दिदीको व्यक्तिगत लोकप्रियताको बलमा चुनाव जित्ने लक्ष्य छ’, कांग्रेसका एक सक्रिय कार्यकर्ता भन्छन् ।
अर्कातर्फ, एमालेले युवा उम्मेदवार अस्मिन घिमिरेलाई अगाडि सारेको छ । यो क्षेत्रमा भिजेका युवा उम्मेदवार भएकाले पार्टीको पुरानो भोट संरक्षण गरेर केही बढाउने एमालेको लक्ष्य देखिन्छ ।
‘हाम्रो ध्यान नयाँ थप्नेभन्दा पनि पुरानो मत संरक्षण गर्नेतिर बढी छ’, घिमिरेले लोकान्तरसँग भने, ‘यो हामीले विगतदेखि जित्दै आएको क्षेत्र हो । त्यसैले हामी कमजोर छैनौं ।’
उनले जेनजी आन्दोलनको माग युवा हो भने आफू सबैभन्दा योग्य रहेको दाबी गरे । ‘जेनजी आन्दोलनले युवा भनेको हो, यही पार्टीको युवा भनेको त होइन नि’, घिमिरेले भने, ‘म युवा मात्र होइन, भिजनसहितको युवा हुँ । समृद्ध नेपाल, सुखी नेपाली बनाउने पार्टीको लक्ष्य पूरा गर्न लागि पर्नेछु ।’