![मेरो चिह्न परिवर्तन भएको हो, दायित्व होइन : अनिल झा [भिडियो]](https://lktcdn2.prixacdn.net/media/anil_jha_final_HJOL0Mwh9W.jpg)
अनिल झा नेपाली राजनीतिमा नाम नयाँ होइन। २०४८ सालपछि मधेशको राजनीतिमा उदाएका झा पटक–पटक सांसद र मन्त्रीसमेत भइसकेका नेता हुन्। उनले शुरूमा नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रा अघि बढाएका थिए।
मधेशमा क्षेत्रीय राजनीतिको बीउ रोप्न होस् वा नेपाललाई सङ्घीय राज्य बनाउँदै सिङ्गो मधेश र यहाँको समुदायलाई अधिकार सम्पन्न बनाउन उनले सङ्घर्ष गरे। उनै झा यतिबेला क्षेत्रीय दल छाडेर मूलधारको तथा सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसमा आबद्ध भएका छन् र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुख चुनाव चिह्नबाट उम्मेदवार बनेका छन्।
कुनै बेला मधेशी जनाधिकार फोरम हुँदै जसपा र लोसपालगायत राजनीतिक दलमा आबद्ध झा यतिबेला कांग्रेसबाट रौतहट १ मा उम्मेदवार छन्। पूर्वप्रधानमन्त्री एवं नेकपा सहसंयोजक माधवकुमार नेपालसहितका उम्मेदवारसँग चुनाव लड्दै गरेका उनै झासँग लोकान्तरका अजय अनुरागी र रोमन आचार्यले रौतहट नै पुगेर कुराकानी गरेका छन्, प्रस्तुत छ झासँग गरिएको संवादको सम्पादित अंश:
लामो समय मधेश केन्द्रित दलबाट राजनीति गर्नुभयो। अहिले रुख चिह्नमा चुनाव लड्दै हुनुहुन्छ। मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?
नेपाली कांग्रेस एउटा लोकतान्त्रिक पार्टी हो। म सद्भावना पार्टीबाट नेपालको राजनीतिमा आएको हुँ। २०४६ सालको आन्दोलनमा म जेल परेको थिएँ। त्यसबाट मैले राजनीति शुरू गरेँ। त्यहाँबाट शुरू भएको मेरो राजनीतिक यात्रा एक काँधमा लोकतन्त्र अर्को काँधमा मधेशको राजनीति लिएर आएको हो।
दल वा चुनाव चिह्न परिवर्तन गर्दैमा दायित्व परिवर्तन हुँदैन भन्ने मेरो मान्यता हो। मेरो जे दायित्व हिजो थियो आज पनि त्यो यथावत् छ। किनभने मधेश मेरो दायित्व हो। मैले मधेशका लागि काम गर्नुपर्छ। अर्को लोकतन्त्रमा मात्र कुनै पनि जाति, धर्म, भेषभुषा, क्षेत्र, समुदाय र संस्कृति फस्टाउन सक्छ भन्ने मेरो मान्यता हो। त्यसैले यो काम आजभन्दा ३७ वर्षअघिबाट शुरू गरेको हो। यो काम म आफू बाँचुन्जेल गरिरहन्छु।

८० प्लस उमेर समूहबाट ५० प्लसको सभापतिमा कांग्रेस आइपुग्यो। अहिले ठूलो पुस्तान्तरण भएको छ। त्यसकारण कांग्रेस बदलिएको छ। तौरतरिका पनि बदलिएको छ।
रह्यो कुरा पार्टी र सङ्गठनको, अहिले नेपाली कांग्रेस विशेष महाधिवेशनबाट परिवर्तित भएर आयो। त्यसको नेतृत्व र डकुमेन्टले हामी जति मधेशवादको कुरा गर्दै थियौँ, मधेश अधिकारको कुरा गर्दै थियौँ त्यति नै कुरा कांग्रेसले गर्न थालेको छ। उसको डकुमेन्टमा पाइन्छ। सभापति गगनकुमार थापा सर्लाही ४ बाट चुनाव लड्न आउँदा जे कुरा बोलिरहनुभएको छ, त्यो ठिक छ।
कतिपय नेताहरू डकुमेन्टमा भए पनि बोल्दैनन्। म जति मधेशको कुरा गरिरहेको छु त्यही लेभलको कुरा उहाँले गरिरहनुभएको छ। त्यसबाट मधेशको कुरा मूलधारको राजनीतिक दल नेपालले मजस्तै बोल्न थालेपश्चात् म कांग्रेस भएको हो कि मजस्तो कांग्रेस भएको हो भन्ने देखिएपछि म कांग्रेसको टिकट लिएर चुनाव लड्दै छु।
मैले कुनै गल्ती गरेँ वा सैद्धान्तिक डेभिएसन भयो भन्नुभन्दा पनि लोकतन्त्रप्रति मेरो आस्था निरन्तर छ र लोकतन्त्रको लागि निरन्तर लडेको तथा लोकतन्त्रमाथि खतरा बढ्दा अहिले पनि निरन्तर लड्न तयारै छु। लोकतन्त्रको लागि सबैभन्दा बढी लडेको पार्टी पनि कांग्रेस नै हो। अहिलेको कांग्रेसले मधेशको कुरा स्वीकारेको र त्यसलाई एक्ट पनि गरेकोले म कांग्रेसको टिकटमा लडेको हो।
तपाईं कांग्रेसको टिकटमात्र लिएर लड्नुभएको कि कांग्रेस नै भइसक्नुभएको हो?
कांग्रेस रातारात कोही हुँदैन। फेरि टिकट लिँदैमा कांग्रेस हुन्छ भन्ने पनि छैन। कांग्रेस हुन कांग्रेसको चरित्र, सिद्धान्त र आदर्श बुझ्नुपर्यो। अहिले म भोट कलेक्सनमा लागेको छु। सिद्धान्त बुझ्ने काम त्यसपश्चात् गरौँला।
कांग्रेसले कस्तो माया दिएको छ त?
कांग्रेसको यहाँ सङ्गठन राम्रो छ। कांग्रेसको सङ्गठन परिचालन गर्ने काम भइरहेको छ। अब कस्तो माया दियो भन्ने कुरा रिजल्ट आएपश्चात् थाहा हुन्छ।
कांग्रेसले तपाईंलाई वार्म वेलकम गर्यो कि गरेन भन्न खोजेको?
मलाई पार्टीले वार्म वेलकमगरेजस्तो लाग्छ।
तपाईंले २०६४ मा जिते पनि यो पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जितेको क्षेत्र हो। त्यसबाहेक पनि अन्य उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ। चुनावी लडाई कस्तो पाइरहनुभएको छ?
अघिल्लो पटक म यहाँबाट उम्मेदवार थिइनँ, उहाँलाई नै समर्थन गरेको थिएँ। गठबन्धन एउटा कुरा हुन्छ, चुनाव जिताउन मन लगाएर काम गर्ने अर्को कुरा हुन्छ। हामीले अघिल्लो पटक चुनाव जिताएका थियौँ उहाँलाई। यसपालि उहाँ बहालवाला सांसद हो। स्वाभाविक हो बहालवाला सांसदसँग जो कोहीको असन्तुष्टि रहन्छ। त्यो असन्तुष्टि चरममा छ। उहाँ धेरै पटक यहाँबाट चुनाव जित्नुभएको छ। जनतामा थपिँदो असन्तुष्टि हेर्दा उहाँले चुनाव जित्ने सम्भावना म देख्दिनँ।
रह्यो कुरा अन्य उम्मेदवारको, जसको भए पनि त्यो प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुन्छ। माधवजी जो आदरणीय नेता पूर्वप्रधानमन्त्री हुनुहुन्छ उहाँको कमी–कमजोरी यहाँ खोतल्नलाई आवश्यक पनि छैन र आचारसंहिताले पनि दिँदैन। तर उहाँले यहाँबाट नजित्ने कुरा पहिले नै निश्चित भइसकेकाले नै म यहाँ चुनाव लड्छु भन्ने फाइनल गरेको हो। किनभने मान्छे यहाँ विकल्प खोजिरहेको थियो, त्यो विकल्प म हुन सक्छु भनेर चुनाव लडेको हो। चुनाव लहडमा लडेको होइन जित्छु भनेर लडेको हो।
तपाईंको दाबी पुष्टि गर्ने र जित्ने आधार चाहिँ के हो?
यसअघि २०७४ देखि २०७९ म यहाँको सांसद थिएँ, अर्थात् पावरमा थिएँ। मैले धेरै काम गर्न सकिनँ होला तर, खराब काम भने गरिनँ। मेरो प्रतिस्पर्धी र विरोधी कसैको पनि अहितको काम गरिनँ। त्यो मेरो सबैभन्दा बलियो आधार हो।
दोस्रो कुरा नेपाली कांग्रेसको सङ्गठन यहाँ सबैभन्दा मजबुत छ, त्यो मेरो अर्को आधार हो। तेस्रो म त्यो समयमा नेपाली कांग्रेसकै उम्मेदवारलाई हराएर चुनाव जितेको थिएँ, त्योमध्ये केही मत अझै बाँकी होला नि। हो त्यो मेरो तेस्रो आधार हो।
चौथो म धेरै राम्रो व्यक्ति नभए पनि गन्हाएको मान्छे त मान्नु हुन्न। समाजले पनि मान्दैन। त्यसैले पनि त्यो मेरो आधार हो।
जे-जस्तो दाबी गरिए जनताले परिवर्तनका लागि मत भनिरहेका छन्। तपाईंलाई यसले असर गर्दैन?
हुन सक्छ। तपाईंहरूले कसलाई सोध्नुभयो त्यसमा पनि फरक पर्छ। सोध्ने मान्छे संयोगवश मेरो परेको भए रुख रुख भन्ने थियो। त्यसैले कस्तोलाई, कहाँ र कुन समूहलाई सोध्नुभयो भन्ने हुन्छ। कुनै एरिया उम्मेदवारको कमजोर हुन्छ कुनै बलियो हुन्छ।
घण्टीको भोट नै छैन यहाँ भन्न पनि भएन। ३९ जना उम्मेदवार छन्, यहाँ सबैको भोट छ। कसैको एक सय होला वा कसैको एक लाख होला। भोट त सबैको छ। एक लाख ९ हजार मतदाताको बिचमा मत भइहाल्छ। सदरमुकाम यही क्षेत्रमा भएकाले पनि अर्को निर्वाचन क्षेत्रको भोटर पनि यहाँ हुन्छन्। यी सब कुरालाई मूल्याङ्कन गर्दा यहाँ घण्टीको हावा छ, सङ्गठन तु उसको छैन। उसले २ महिनामा सङ्गठन गरेर यहाँ जित्न सक्छ भने, जसको सङ्गठनको आधार छ, जसको व्यक्तित्व पनि कमजोर छैन ऊ जित्दैन भन्ने के आधार छ र?
अधिकांश वडा अध्यक्षदेखि लिएर पालिका प्रमुख/उपप्रमुखसम्म माधवजीकै पार्टीका रहेछन्। उहाँको सङ्गठन पनि बलियो देखिन्छ, त्यस आधारमा कांग्रेस यहाँ कसरी बलियो मान्ने?
दुई वटा पालिका माधवजीको पार्टीले जितेको हो। दुई वटा पालिका कांग्रेसले जितेको हो। तेस्रो पालिका माओवादीले जितेको हो, त्यो पनि कसरी जितेको हो अहिले नभनौँ। त्यहाँ चिह्न जितेको हो कि व्यक्ति जितेको हो? कसलाई हराइएको हो त्यो पनि कुरा नगरौँ। यहाँ पनि साइकलले जितेको थियो जतिबेला, म त्यो पार्टीको नेता थिएँ। अब त्यसलाई कहाँ जोड्ने? अर्को एउटा वडा छ जहाँ साइकलबाट हाम्रो साथीले जित्नुभयो, त्यसैले अब यी सबै मिलाउनुहोस् कि आफैँ थाहा हुन्छ।
व्यक्तिवाद मात्र भयो, यो चुनावमा एजेन्डा किन पुग्न सकेको छैन?
विगतका एजेन्डा नै पूरा भएका छैनन् त्यसैले यसपटक मानिसहरूलाई मुद्दाबारे विश्वास नभएको हुन सक्छ। नेपाली कांग्रेसले 'टु अलाइभ' भन्न थालेको छ समाजमा। बदलिएको कांग्रेस हो र 'कांग्रेस बदल्यौँ देश बदल्छौँ' भन्ने नारा पनि छ। यो सत्य पनि हो। ८० प्लस उमेर समूहबाट ५० प्लसको सभापतिमा कांग्रेस आइपुग्यो। अहिले ठूलो पुस्तान्तरण भएको छ। त्यसकारण कांग्रेस बदलिएको छ। तौरतरिका पनि बदलिएको छ। त्यसैले देशभरबाट नेपाली कांग्रेसको बहुमत आउँछ भन्ने मलाई लाग्छ।
जसरी घण्टीका लागि बालेन शाह देश दौडाहामा लाग्नुभएको छ, त्यो दौडाहा तपाईंहरूको सभापति वा निर्वाचन परिचालन समिति प्रमुख विश्वप्रकाश शर्मा लाग्नुभएको देखिँदैन नि?
बालेनजीसँग मेरो व्यक्तिगत चिनजान दोस्ती र दुश्मनी केही छैन। बालेन काठमाडौँको मेयर बन्दा राष्ट्रिय नेता हुनुहुन्थ्यो तर, अहिले मधेश झर्दा उहाँलाई जाति विशेष बनाइदियो। उहाँ आफैँ पनि जाति विशेषको नेता बन्न आउनुभयो।

एकताका रामराजाप्रसाद सिंह काठमाडौँ जाँदा टुँडिखेलभरि मान्छे थियो तर, सिरहाबाट चुनाव लड्दा उहाँ नराम्ररी हार्नुभयो। त्यसैले तमासा एउटा चिज हो मत अर्को चिज हो।
तपाईंको जितका लागि कांग्रेसले संगठनलाई कडाइ गरेर मत हाल्न लगाउँछ?
कडाइ गर्नु पर्दैन। हिजो बालेनजी रौतहट आउनुभयो। सोसल मिडिया क्रेजजस्तो देखियो। होला क्रेज होला तर, रौतहटमा कति क्रेज चल्छ त्यो त रिजल्टले देखाउँछ।
सङ्घीयताको विषयमा मधेशमा बहस भइरहेको छ नि?
स्वभाविक रूपमा सङ्घीयता मधेशले स्थापित गरेको हो। त्यो सङ्घीयताको विपक्षमा बालेनजीको पार्टी रहिसकेकाले मान्छेमा ठुलो आशङ्का छ कि रास्वपा आयो भने सङ्घीयता खतम बनाउँछ भन्ने।
कांग्रेसले सङ्घीयता जोगाउँछ?
सङ्घीयता ल्याउन र त्यसलाई निरन्तरता दिनमा कांग्रेसको योगदान त छ। सङ्घीयता ल्याउन हामी मधेशवादीहरूले त्यसको नेतृत्व गरेका थियौँ। तर कांग्रेसको सहमतिबिना वा त्यसबेला संविधानसभामा रहेका पार्टीहरूको असहमतिका बिचमा सङ्घीयता आएको होइन। जे जति भएको हो, उहाँहरूकै सहमतिमा भएको हो। त्यसको श्रेय सबैले लिन सक्छ।
दल वा चुनाव चिह्न परिवर्तन गर्दैमा दायित्व परिवर्तन हुँदैन। मेरो चिह्न परिवर्तन भएको हो, दायित्व परिवर्तन होइन। म लोकतन्त्र र मधेशको अधिकारका लागि काम गरिरहन्छु। मेरो दायित्व यथावत् छ।
सङ्घीयता चाहिँदैन भन्ने कुरा देशभर बढेको छ। अलिअलि मधेशमा पनि सुन्न थालिएको छ। यसलाई कसरी लिनुहुन्छ?
जो पात्र गए र उनीहरूले जुन किसिमको व्यवहार प्रस्तुत गरे, त्यसले मान्छेमा निराशा त छ, नभएको होइन। तर सङ्घीयतालाई उखेलेर फाल्नुपर्छ, यसलाई हटाउनुपर्छ भन्ने तहको निराशा भइसकेको छैन। त्यसैले जनताले सिस्टमभन्दा पनि व्यक्ति परिवर्तन गर्दा भइहाल्छ नि !
तपाईं मधेशवादी शक्तिको कमान्डर नै हो। के अहिले मधेशमा मधेशवादी शक्ति कमजोर भएको हो?
म त्यहाँ छैन भने त्यो गलत हो भन्ने तहको नेता वा मधेशको कार्यकर्ता होइन। त्यो उचित र आवश्यक आन्दोलन थियो र भोलि पनि रहने छ। त्यसलाई हामीले ठिक ढङ्गले ड्राइभ गर्न सकेनौँ।
क्षेत्रीय शक्ति कमजोर हुँदा एजेन्डा त कमजोर हुन्छ नि हैन?
ठिक हो, जनमत कमजोर भएपश्चात् एजेन्डा स्वतः कमजोर हुन्छ।
अन्त्यमा केही भन्नु छ?
मेरो चिह्न परिवर्तन हुँदैमा मेरो दायित्व परिवर्तन हुँदैन। म लोकतन्त्र र मधेश अधिकारका लागि काम गरिरहन्छु। भाद्र २३ र २४ मा लोकतन्त्रमा खतरा थियो। अहिले छैन चुनाव भएपश्चात् देश पनि ट्रयाकमा आउँछ।
भिडियो