
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ बस्ने सिन्धुपाल्चोक साँगाचोकगढी गाउँपालिका-२ घर भएका २६ वर्षीय निमा तामाङ, काठमाडौं महानगरपालिका-३२ बस्ने महोत्तरी बर्दिबास नगरपालिका-६ घर भएका २४ वर्षीय विवेक साह, काठमाडौं चन्द्रागिरी नगरपालिका-१ बस्ने सप्तरी राजविराज नगरपालिका-८ घर भएका ५२ वर्षीय उज्वल कुमार थापा र काठमाडौं महानगरपालिका-९ बस्ने तेह्रथुम लालिगुराँस नगरपालिका-५ घर भएका ३५ वर्षीय खेमबहादुर बस्नेत रहेका छन् ।
पक्राउ परेकामध्ये निमाले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २२ लाख ८५ हजार रूपैयाँ, विवेकले जर्जिया, माल्टा लगायतका देश पठाइदिन्छु भन्दै २ जना पीडितबाट ६ लाख ३५ हजार रूपैयाँ, उज्वलले हंगेरी र रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितबाट ९ लाख ६२ हजार रूपैयाँ र खेमबहादुरले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ ठगेको प्रहरीले जनाएको छ ।
उनीहरू रकम लिएर सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निमालाई काठमाडौं महानगरपालिका-६ बाट, विवेकलाई काठमाडौं महानगरपालिका-१० बाट र उज्वललाई काठमाडौं महानगरपालिका-३१ बाट मंगलबार तथा खेमबहादुरलाई काठमाडौं महानगरपालिका-११ बाट बुधबार पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये निमा र विवेकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने उज्जवल र खेमबहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।