
बलिउडका चलचित्रहरूमा देखाइने रोमान्स विश्वभर चर्चित मानिन्छ । मधुर गीत र नायक–नायिकाबीचको आकर्षक केमेस्ट्रीले दर्शकको मन जित्ने गर्छ । तर जब रोमान्टिक कथामा खतरनाक खलनायकको प्रवेश हुन्छ, कथा अझ रोचक बन्छ ।
पर्दामा प्रेमका शत्रुजस्ता देखिने यिनै खलनायकहरू वास्तविक जीवनमा भने निकै रोमान्टिक स्वभावका रहेको तथ्य धेरैलाई थाहा नहुन सक्छ ।
अमजद खान
बलिउडका ‘गब्बर’ भनेर चिनिने अमजद खानको प्रेमकथा निकै रोचक छ । विवाहअघि उनी आफ्नी भावी पत्नी शैला खानका छिमेकी थिए । त्यसबेला शैला मात्र १४ वर्षकी थिइन् भने अमजद कलेजमा अध्ययनरत थिए । अमजदले उनलाई फारसी भाषाको कक्षा दिने क्रममा उनीहरूबीच प्रेम बस्यो । विवाहका लागि उनले शैलाका पिता अख्तर-उल-इमानलाई मनाउनुपरेको थियो । सन् १९७२ मा चलचित्र शोले प्रदर्शन हुनुअघि नै उनले शैलासँग विवाह गरेका थिए। दम्पतीका तीन सन्तान छन्।
अमरीश पुरी
‘मोग्याम्बो’को भूमिकाबाट चर्चित अमरीश पुरी वास्तविक जीवनमा अत्यन्तै रोमान्टिक व्यक्ति थिए । उनकी पत्नी उर्मिला पुरी दक्षिण भारतकी थिइन् र पेशाले शिक्षिका थिइन् । बीमा कम्पनीमा काम गर्ने क्रममा उनीहरूबीच भेट भएको थियो । फरक सांस्कृतिक पृष्ठभूमिका कारण परिवार सुरुवाती चरणमा विवाहका लागि सहमत नभए पनि अन्ततः दुवैले परिवारलाई मनाएर वैवाहिक जीवन सुरु गरेका थिए ।
कबीर बेदी
७० को दशकका चर्चित अभिनेता कबीर बेदीको व्यक्तिगत जीवन निकै उतारचढावपूर्ण रह्यो । उनले जीवनमा चार विवाह गरेका छन् । उनकी छोरी पूजा बेदी पनि चलचित्र क्षेत्रमा सक्रिय छिन्। पहिलो विवाह सन् १९६९ मा ओडिसी नृत्याङ्गना प्रतिमा बेदीसँग भएको थियो । तर पाँच वर्षमै सम्बन्ध टुट्यो । त्यसपछि सन् १९८० मा दोस्रो विवाह गरे, जुन १० वर्षसम्म चल्यो । सन् १९९२ मा तेस्रो विवाह गरे पनि २००५ मा सम्बन्ध विच्छेद भयो । हाल उनी आफ्नी चौथी पत्नी परवीन दुसांजसँग सुखी जीवन बिताइरहेका छन् ।
शक्ति कपूर
८० को दशकमा चर्चित शक्ति कपूरको प्रेमकथा पनि कम रोचक छैन । उनले आफूभन्दा १२ वर्ष कान्छी अभिनेत्री शिवांगी कोल्हापुरीसँग विवाह गरेका थिए । चलचित्र सेटमै सुरु भएको उनीहरूको प्रेमले अन्ततः विवाहको रूप लियो । परिवारको असहमतिको बाबजुद उनीहरूले अदालतमा विवाह गरेका थिए । विवाहपछि शिवाङ्गीले अभिनय करिअर छोडेर गृहिणी जीवन रोजिन् ।
बोमन इरानी
‘खलनायक’का रूपमा परिचित बोमन इरानीले "मुन्नाभाई एमबीबीएस" र "३ इडियट्स" जस्ता सफल चलचित्रमा अभिनय गरेका छन् । उनकी पत्नी जेनोबिया इरानीसँग उनको पहिलो भेट आफ्नै वेफर पसलमा भएको थियो । छोटो भेटघाटबाट सुरु भएको चिनजान पछि प्रेममा परिणत भयो र केही समयको डेटिङपछि उनले विवाह प्रस्ताव राखेका थिए ।
आशुतोष राणा
चलचित्र संघर्षमा खतरनाक खलनायकको भूमिकामा देखिएका आशुतोष राणाको प्रेमकथा पनि फिल्मी शैलीकै छ । उनी उद्योगमा संघर्षरत रहँदा नै अभिनेत्री रेणुका शहाणेसँग भेट भएको थियो । एक पार्टीमा भएको चिनजानपछि फोन संवाद सुरु भयो । सुरुवाती कठिनाइका बाबजुद दुवैबीचको सम्बन्ध बलियो बन्दै गयो र अन्ततः विवाहमा परिणत भयो । उक्त चलचित्रका निर्देशक महेश भट्ट हुन् ।
पर्दामा कठोर र डर लाग्दा पात्र निर्वाह गर्ने यी कलाकारहरू वास्तविक जीवनमा भने प्रेम र सम्बन्धप्रति गहिरो समर्पण राख्ने व्यक्तित्वका रूपमा देखिन्छन् ।