
बलिउडका ‘एक्सन किङ’ अक्षय कुमार दर्शकमाझ निकै लोकप्रिय छन् । उनी हाल रियालिटी गेम शो व्हील अफ फर्च्यूनको होस्टका रूपमा देखिँदै आएका छन् । शोको एक आगामी एपिसोडमा शार्क ट्याङ्क इन्डियाका निर्णायकहरू अमन गुप्ता, अनुपम मित्तल र नमिता थापर अतिथिका रूपमा सहभागी हुनेछन् ।
उक्त एपिसोडको छायांकन भइसकेको बताइएको छ । कार्यक्रममा अक्षयले सबैसँग रमाइलो ठट्टा–मजाक गरेका थिए । र्यापिड फायर राउन्डका क्रममा अमन गुप्ताले अक्षयलाई सोधे,'तपाईंको जीवनको सबैभन्दा अपमानजनक क्षण कुन थियो ?'
यस प्रश्नको उत्तर दिँदै अक्षयले वर्षौँ पुरानो एउटा घटना सम्झिए । उनले केही नजिकका साथीहरूसँग विशेष पार्टीमा सहभागी भएको बेला एक व्यक्तिसँग उनका साथीहरूको विवाद भएको रहेछ । ती व्यक्तिले उनका साथीहरूलाई गाली गर्न थालेपछि अक्षयले रोक्न आग्रह गरेका थिए ।
अक्षयका अनुसार उनले ती व्यक्तिलाई पटक–पटक सचेत गराए पनि उसले दुर्व्यवहार गर्न छाडेन । बारम्बार अपमान सहन नसकेपछि उनले रिसको आवेगमा ती व्यक्तिलाई जोडले थप्पड हाने । दुर्भाग्यवश, थप्पड लागेपछि उक्त व्यक्ति बेहोस भएका थिए । पार्टी ठूलो थियो र घटनापछि उनका एक साथी लज्जित हुँदै रोए पनि ।
अक्षयले भने,'उनी बेहोस भएपछि म निकै आत्तिएको थिएँ । एक क्षणका लागि मेरो करियर नै समाप्त भयो कि भन्ने लागेको थियो । हामीले उनलाई पानी छर्कियौँ र म उनी होसमा आऊन् भनेर प्रार्थना गरिरहेको थिएँ ।' केही समयपछि ती व्यक्ति होसमा आएपछि सबैले राहत महसुस गरेका थिए ।
यो घटनालाई सम्झँदै अक्षयले यसलाई आफ्नो ठूलो गल्ती भएको स्वीकार गरे । उनले भने,'यदि आज यस्तो अवस्था आयो भने म यसरी प्रतिक्रिया दिने थिइनँ । त्यो मेरो जीवनको साँच्चिकै अपमानजनक क्षण थियो । सकेसम्म म त्यो घटना परिवर्तन गर्न चाहन्छु । अहिले भए म त्यहाँबाट हिँड्ने थिएँ ।'
उल्लेखनीय छ, शोको विशेष एपिसोड १९ फेब्रुअरीमा प्रसारण हुने तय गरिएको छ । यसको प्रतीक्षा दर्शकहरूले उत्सुकताका साथ गरिरहेका छन् ।