
रौतहटको निर्वाचन क्षेत्र नम्बर २ मा राजपुर गाउँको ३ सय मिटर वारिपारिका दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारसमेत चुनावी मैदानमा रहेको रौतहट-२ मा एकै गाउँको ३ सय मिटर दुरीमा घर भएका दुईजनाबीच नै घमासान प्रतिस्पर्धा हुने देखिएको हो।
रौतहटको सदरमुकाम गौरबाट चन्द्रनिगाहपुर सडकखण्ड हुँदै उत्तरतर्फ ५ किलोमिटर पुगेपछि देब्रेमा एउटा प्रवेशद्वार आउँछ। राजपुर नगरपालिका वडा नम्बर १ पिप्रा भगवानपुरमा बनेको प्रवेशद्वारमा 'स्वर्गीय शेख इद्रिस भूतपूर्व मन्त्री प्रवेशद्वार' लेखिएको छ। त्यही प्रवेशद्वार हुँदै झन्डै ७ किलोमिटर भित्र पुगेपछि राजपुर नगरपालिकाको राजपुर गाउँ पुगिन्छ। त्यही राजपुर गाउँमा नगरपालिकाका दुइटा वडाहरू छन्। वडा नम्बर ४ र ५ बीचको ३ सय मिटर दुरीमा फरक-फरक पार्टीका दुई उम्मेदवार छन्।

३ सय मिटर उत्तरतर्फ वारि वडा नम्बर ५ मा निवर्तमान सांसद किरणकुमार साह नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार छन् भने पारि दक्षिणतर्फ वडा नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार डा. फिरदोस आलम उम्मेदवार छन्। त्यही दुई उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने स्थानीयको आकलन छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि ती दुई उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा भएको थियो।
२०७९ सालमा चापाकल चिन्हबाट स्वतन्त्र उम्मेदवारी दिएका साह ३२ हजार ८४२ मत ल्याएर निर्वाचित भएका थिए। अर्कोतर्फ पाँच दलीय गठबन्धनबाट कांग्रेसका उम्मेदवार डा. फिरदोस आलमले २८ हजार २४८ मत ल्याएका थिए। जसपा नेपालका शैलेन्द्रप्रसाद साहले २ हजार १२२ र जनमत पार्टीका रामयस झाले १ हजार ४ मत ल्याएका थिए। यसपटक निर्वाचनका लागि त्यहाँ विभिन्न उम्मेदवारले उम्मेदवारी दिएको भए पनि त्यही ३ सय मिटर भित्रका एकजनाले जित्ने त्यस क्षेत्रका जानकारहरू बताउँछन्।
आलम पूर्वमन्त्री आफ्ताब आलमका जेठा छोरा हुन्। पेसाले चिकित्सक तथा नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा जागिर रहेकै बेला उनका बुबा आफ्ताब आलम पक्राउ परेपछि उनी नेपाल प्रहरीको सरकारी जागिरबाट राजीनामा दिएर बुबाको मुद्दा-मामिलामा सहयोग गर्न खटेका थिए। पछि २०७९ सालमा उनी बुबाको राजनीतिक विरासतलाई अगाडि बढाउने भन्दै प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनेका थिए। यद्यपि, उनले हार बेहोर्नुपरेको थियो।
त्यसअघि २०७९ सालको स्थानीय निर्वाचनमा राजपुर नगरपालिकाको नगरप्रमुखमा कांग्रेसबाटै उनका कान्छो भाइ डा. राजिक आलम नगरप्रमुखमा निर्वाचित भएका थिए। त्यसअघि २०७४ सालको प्रतिनिधिसभामा कांग्रेसबाट मोहम्मद आफ्ताब आलम नै निर्वाचित भएका थिए। आलमले १८ हजार ८३३ मत ल्याउँदा त्यतिबेला किरण साह संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार भई १६ हजार ८६५ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी भएका थिए। त्यसबेला नेकपा एमालेका मोहम्मद मुस्ताक आलमले पनि १३ हजार ८८३ मत ल्याएका थिए।

इँटाभट्टामा जिउँदै मान्छेलाई जलाएर हत्या गरेको अभियोगमा आलम सांसद हुँदै पक्राउ परेपछि उनको सांसद पद निलम्बनमा परेको थियो। रौतहट जिल्ला अदालतले उनीसहितका प्रतिवादीहरूलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाए पनि केही महिनाअघि उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले जिल्लाको फैसलालाई उल्ट्याउँदै आलमसहित सबैजनालाई सफाइ दिएको थियो। सफाइपछि रिहा भएका आलमको २ महिनाअघि मस्तिष्कघातका कारण उपचारको क्रममा निधन भएको थियो।
यसपटक ती दुई उम्मेदवार बाहेक एमालेबाट महम्मद अतिउल्लाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शेख सगीर, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रामअशिष राय यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रविन्द्र साह, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सुरेन्द्र प्रसाद जयसवाल, आम जनता पार्टीबाट भगवान राउत कुर्मीसहितले उम्मेदवारी दिएका छन्।

साह २०७९ मा स्वतन्त्र सांसद जितेपछि एमालेको सरकारलाई समर्थन दिएको आधारमा एमालेकै कोटाबाट संसद्को महिला तथा सामाजिक मामिला समितिको सभापतिसमेत बनेका थिए। तर, अहिले उनले उम्मेदवारी भने नेपाली कम्युनिस्ट पार्टीबाट दिएका छन्। यद्यपि उनले रास्वपाबाट टिकट चाहेका थिए। त्यसका लागि रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई समेत भेटेका थिए। तर, रास्वपा सभापति रवि लामिछाने अनिच्छुक भएपछि अन्तिममा उनले नेकपाबाट टिकट पाएका हुन्।
यस क्षेत्रमा १ लाख १२ हजार मतदाता छन्। २०७९ सालमा कांग्रेसका आलम भने ४ हजारको फराकिलो अन्तरले हारेका थिए। 'गठबन्धनमा मैले टिकट पाए पनि तल अन्य पार्टीबाट टिकट पाएका प्रदेशसभाका उम्मेदवारहरू कांग्रेसको मतबाट जिते तर उनीहरूले हामीलाई मत दिएनन्। मत भने किरण साहलाई दिए,' फिरदोस आलमले लोकान्तरसँग भने, 'गठबन्धनले मलाई घाटा नै भयो। तर यसपटक छुट्टाछुट्टै हरेक पार्टीको उम्मेदवार भएकाले संगठनकै बलमा जित्छु।'

फिरदोसका भाइ राजिक पनि संगठनसहित विविध कारणले आफूहरूको नै जीत हुने दाबी गर्छन्। 'क्षेत्रको ४२ वटा वडाहरूमध्ये अधिकांश वडा कांग्रेसले नै जितेका छन्। त्यसबाहेक राजपुर नगरपालिकामा म आफैँ नगरप्रमुख जितेको छु,' राजिकले लोकान्तरसँग भने, 'परोहा नगरपालिकामा कांग्रेसले नै जितेको छ। साथै ईशनाथ नगरपालिकामा कांग्रेसकै बागीले नगरप्रमुख जितेको भए पनि अहिले उहाँ पनि कांग्रेसमै हुनुहुन्छ।'
रौतहट-२ मा मौलापुर नगरपालिकाको वडा नम्बर ६ र ७, देवाही गोनाही नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ पर्छ। त्यसबाहेक बौधीमाई नगरपालिका, परोहा नगरपालिका, राजपुर नगरपालिका र ईशनाथ नगरपालिका पर्छ। 'राजपुर नगरपालिकामा स्थानीय तहको चुनावमा मैले ६३ सय मत पाएको थिएँ,' राजिकले थपे, 'तर २०७९ सालको प्रतिनिधिसभा चुनावमा दाइलाई २ हजार १ सय थप मत गरी ८४ सय मत आएको थियो।' यसपटकको चुनावमा नगरपालिकाबाट त्यसमा पनि २ हजार मत थपिने उनको दाबी छ। राजपुर नगरपालिकामा किरण साहकै वडाबाट समेत थप मत ल्याउने उनले बताए।
'त्यसबाहेक चुनाव हारेर पनि दाइले पहल गरेर संघीय सरकारबाट करोडौंका योजनाहरू ल्याएर विकासको काम गर्नुभएको छ,' उनले थपे, 'क्षेत्रका जनताले जितेका सांसदले केही विकास गर्न नसकेको तर हारेर पनि विकासको काम गरिरहेकाले विकासको लागि यसपटक रुख छापमै मतदान गर्ने भनिरहेका छन्।'
यता किरण साह पनि फेरि जित्ने दाबी गर्छन्। सांसद भएर आफूले धेरै विकासको काम गरेको हुनाले पनि यसपटक थप मत दिएर क्षेत्रका जनताले मतदान गरेर जिताउने उनको दाबी छ। आफूले विगतदेखि सुशासन, सामाजिक सद्भाव तथा न्यायको लागि गर्दै आएको संघर्षका कारण हिन्दु बाहेक मुस्लिम समुदायका जनताले मतदान गरेको उनले बताए। यसपटक पनि मुस्लिम समुदायकै धेरैजसो नेताहरू आफूसँगै रहेको उनले बताए।

'नेपाली कांग्रेसबाटै विगतमा निर्वाचित भएका राजपुर नगरपालिकाका पूर्वमेयर सजिल अख्तर १ महिनाअघि नै हाम्रो पार्टीमा प्रवेश गर्नुभएको छ,' साहले लोकान्तरसँग भने, 'त्यसैगरी राजपुर नगरपालिकाको वडा नम्बर १ का वडाध्यक्ष शेख अमारुल पनि हाम्रो पार्टीमै हुनुहुन्छ।' त्यसबाहेक राजपुर नगरपालिकाको वडा नम्बर ९ का वडाध्यक्ष नसरुल शेख, परोहा नगरपालिकाको वडा नम्बर ५ का वडाध्यक्ष मोहम्मद सजीव पार्टीमा प्रवेश गरेको उनले बताए। त्यसबाहेक अन्य विभिन्न पार्टीका मुस्लिम नेताहरू आफ्नो साथमा रहेको उनले बताए। मुस्लिम समुदायका साथै हिन्दु समुदायको मत आफूले पाउने उनको दाबी छ।
क्षेत्रका विभिन्न पालिकाका मतदातासँग कुरा गर्दा पनि धेरैजसोले ती दुई उम्मेदवार बीच नै मुख्य प्रतिस्पर्धा हुने बताए। उनीहरूलाई घन्टीका उम्मेदवारले चुनौती दिने धेरैजसोको आकलन थियो।
परोहा नगरपालिका-५ भेडियादमातस्थित एक चिया पसलमा भेटिएका ७/८ जनाको समूहमा रहेका व्यक्तिहरूले रुख र तारा छापमा प्रतिस्पर्धा रहेको बताए। 'अहिले नै को जित्छ भनेर भन्न सकिन्न। चुनाव हुनु एक हप्ताअघि मात्र कसको पक्षमा माहोल बनेको छ भन्न सकिन्छ,' उनीहरूले लोकान्तरसँग भने, 'अहिले ती दुई बीच नै प्रतिस्पर्धा छ। तेस्रोमा घन्टी छ। बाँकी दलको यस क्षेत्रमा भोट कम नै हुन्छ।'

परोहा नगरपालिका वडा नम्बर ३ तेजपाकरका ४९ वर्षीय दिल बहादुर देवानले पनि रुख र तारामा प्रतिस्पर्धा देखिए पनि घन्टी पनि रेसमा रहेको बताए। परोहा-४ लौकहाका ६९ वर्षीय रमण प्रसाद पटेलले २०७९ सालको चुनावमा किरण साहलाई मतदान गरे पनि यसपटक कसलाई मतदान गर्ने निर्णय नगरेको बताए। परोहा-४ कै ५५ वर्षीय ललन प्रसाद यादवले भने विगतमा किरणलाई मतदान गरे पनि यसपटक आफ्नै पार्टी एमालेका उम्मेदवारलाई मत दिने बताए। 'म एमाले हुँ। मेरो उम्मेदवार हारोस् वा जितोस् मतलब भएन,' यादवले लोकान्तरसँग भने, 'मैले सधैँ एमालेकै उम्मेदवारलाई मत दिएको छु। यसपटक पनि एमालेलाई नै मत दिन्छु।'

त्यसैगरी, बौधीमाई नगरपालिका-५ कोपहाका ३२ वर्षीय संजय यादव, ३६ वर्षीय कृष्णा यादव, २८ वर्षीय रूपलाल शर्मा र ३५ वर्षीय उमाशंकर पण्डितले भने घन्टीबाट किरण साह उम्मेदवार नभएकाले यसपटक उनलाई कठिन हुने बताए। 'किरण साह घन्टीबाट उम्मेदवार भएको भए स्योर नै जित्नुहुन्थ्यो। किनभने हामी घन्टीका पक्षमा छौँ,' उनीहरूले लोकान्तरसँग भने, 'तर यसपटक घन्टीबाट उठेको उम्मेदवार राम्रो व्यक्ति नै होइन। उनको समाजमा केही लगानी नै छैन।' यसपटक आफूहरूले प्रत्यक्षमा रुखलाई मतदान गर्ने तर समानुपातिकतर्फ बालेन सरकार बनाउन सबै मत जाने उनीहरूको भनाइ थियो।