२३ जेठ २०८३, शनिबार

प्रेमिल साँझमा नेपथ्यसँगै जाग्यो शान्त बन्दीपुर

फागुन ३, २०८२
तनहुँ
प्रेमिल साँझमा नेपथ्यसँगै जाग्यो शान्त बन्दीपुर

विश्वभरिका प्रेमीप्रेमिका प्रेम दिवसमा रमाइरहेको बेला तनहुँको चिटिक्क पहाडी बस्तीमा शनिबार बेग्लै रमझम चलिरहेको थियो । 

देशका तीन शहरमा भव्य कन्सर्ट गरेर बन्दीपुर आइपुगेको लोकरक ब्यान्ड नेपथ्यले दर्शकको घुइँचोमाझ तन्नेरी मनका गीत गुन्जाउँदै थियो ।

निर्धारित समयमै कार्यक्रम थालनी गर्दा बन्दीपुरमा बेलुकीको चिरपरिचित सिरसिरे हावा चल्न शुरू भएको थियो । मञ्चमा आएका ब्यान्ड सदस्यहरूले पहिलो कोसेलीस्वरूप ‘हो रामा रामा’ सुनाए ।

परसम्मकै बस्तीहरू जोडेर तयार भएको यो सिङ्गो गाउँपालिकाकै जनसंख्या १९ हजार छ, नेपथ्य हेर्न आउने दर्शकको संख्या नै त्यसको एकतिहाइ देखिन्थ्यो । शनिबार साँझ बन्दीपुरमा जुटेका दर्शकमा अन्यत्रबाट आएकाहरूकै बाहुल्य थियो ।

यहाँ विदेशी दर्शकको उपस्थिति पनि जताततै देख्न सकिन्थ्यो । तिनैमध्ये जोसेफ र एलिभियाको तन्नेरी जोडी पनि थियो । बेलायतबाट बिदामा घुम्न आएका उनीहरू पोखराबाट काठमाडौं फर्कने क्रममा एक दिनअगाडि मात्र बन्दीपुर आएका थिए ।

‘यो रमाइलो ठाउँमा घुम्दै गर्दा कन्सर्टको पोस्टर देखेपछि हामी बसेको होटल ओल्ड इनका कर्मचारीसँग जिज्ञासा राख्यौं,’ जोसेफले भने, ‘लोकभाकामा आधारित गीत गाउने पुरानो रक ब्यान्ड हो भन्ने जानकारी पाएपछि तत्कालै टिकट लिएर यता आएका हौं ।’

null

कन्सर्ट हेर्न आउने सबै विदेशी जोसेफ र एलिभियाजस्ता पनि थिएनन् । एक यस्ता विदेशी तन्नेरी पनि थिए, जसको नजिक पुगेर दर्शकले सेल्फी खिचिरहेको देखियो  ।

‘यी प्रसिद्ध भ्लगर ज्याक दाइ हुन्,’ उनीतर्फ बढ्दै गरेकी एक युवतीले उनको परिचय दिइन्, ‘नेपाली प्रस्ट बोल्ने भएकाले असाध्यै लोकप्रिय छन्।’

प्रशंसकबाट फुर्सद पाउनासाथ ज्याक दाइले नेपथ्य कन्सर्टबारे प्रतिक्रिया दिए, ‘मैले १३ वर्षअघि पहिलोपटक नेपथ्यको कन्सर्ट हेरेको थिएँ,’ २२ वर्षदेखि नेपालमै बस्दै आएका उनले भने, ‘यस ब्यान्डको कन्सर्टमा अहिलेसम्म गरेर चारपटक उपस्थित भएको छु, अहिले पनि उत्तिकै ऊर्जा महसुस भइरहेको छ ।’

साथी उत्सव सापकोटाको निम्तो पाएपछि पोखराबाट शनिबारै बन्दीपुर आएको जानकारी पनि उनले दिए ।

‘आज प्रेम दिवस भएकाले मलाई पनि मेरा कलेजका दिनहरू याद आइरहेका छन्,’ मञ्चमा गायक अमृत गुरुङ भनिरहेका थिए, ‘हामी तन्नेरी हुँदा लेखेको नेपथ्यको पहिलो गीत तपाईंहरूलाई सप्रेम प्रस्तुत गर्दै छु ।’

null
त्यसपछि उनले ‘आँगनैभरि’ गाएर सुनाए । मैदानभरि अटाएका युवकयुवतीले चिच्याएर उनलाई साथ दिइरहे ।

‘मोटर यातायात नचल्दा सिङ्गो गण्डक भेगका बासिन्दालाई भारतसँग जोड्ने यो नाकाको बस्ती एक समय यौवन हराएको ठाउँजस्तो निरस भेटेको थिएँ,’ गायक अमृतले बन्दीपुरको अनुभव साटे, ‘पछि यहाँका बासिन्दा आफैं जागेर यो बजारलाई फेरि पर्यटकीय बस्तीका रूपमा गुलजार बनाए । यसको प्रेरणा देशभरि फैलियोस् भन्ने कामना गर्छु हई...।’

कन्सर्टमा स्थानीय भाका सुनाउने जमर्को गर्दै नेपथ्यले लोकभाका ‘कौडा’मा आधारित गीत ‘जोगले हुन्छ भेट’ गुन्जायो ।

कन्सर्ट हेर्न आउनेहरूमा बन्दीपुर क्याम्पसमा २७ वर्षसम्म अध्यापन गरेका पूर्वक्याम्पस प्रमुख विक्रम पिया पनि थिए ।
‘नेपालको ग्रामीण सौन्दर्य अनुभव गर्न आउने पर्यटकलाई यस बजारले आकर्षित गर्दै आएको थियो,’ पत्नीसहित अन्तिमसम्मै रमाइरहेका पियाले थपे, ‘यो भव्य कन्सर्टको आयोजनासँगै अब साङ्गीतिक गतिविधिमा रमाउने केन्द्रका रूपमा पनि बन्दीपुरको सम्भावना खुलेको छ ।’

पियाका अनुसार बजारभित्रै सानातिना साङ्गीतिक कार्यक्रम यसअघि पनि आयोजना हुँदै आएको थियो, टुँडिखेलको मैदानमै यस किसिमको भव्य कार्यक्रम भएको भने यो पहिलो पटक हो ।

ब्यान्डले दुई घण्टासम्म लगातार १७ गीत सुनाएको थियो । ब्यान्डको प्रस्तुति राष्ट्रिय झन्डाको महिमागान गर्दै ‘रातो र चन्द्रसुर्जे’ बाट अन्त्य भएको थियो ।

null

मञ्चमा अमृतलाई सदाझैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए । 

बन्दीपुरको प्रस्तुति सम्पन्न भएसँगै नेपथ्यको यसपालिको नेपाल यात्रा शृङ्खला पूरा भएको छ । अब आगामी नोभेम्बरमा नेपाल यात्राको अर्को शृङ्खला गर्ने तयारी छ । हाललाई भने सात ट्रक, एउटा बस र अन्य केही सवारीसाधनसहितको ७५ सदस्यीय नेपथ्य टोली काठमाडौं फर्किसकेको छ ।

ब्यान्डको अबको प्रस्तुति भारतीय शहर सिलिगुडीमा दुई सातापछि हुनेछ ।  फेब्रुअरी २८ मा त्यहाँस्थित ‘उत्सोधारा टिस्टा टाउनसिप’मा नेपथ्यले नेपाली लोकरक गीत सुनाउनेछ । पश्चिम बङ्गाल राज्यका पहाडी बस्तीहरूलाई जोड्ने उक्त ‘बिसौनी महानगर’मा ब्यान्ड पहिलोपटक प्रस्तुत हुन लागेको हो ।

salt training

कमेन्ट गर्नुहोस्