![जनताले चाहेजस्तो सुविधा पाएका छैनन्, राज्यका सबै निकाय इमान्दार बन्नुपर्छ- किशोरसिंह राठौर [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Kishor_Singh_Rathaur_1T381568ni.jpg)
यतिबेला देशमा चुनावी सरगर्मी बढिरहेको छ । विशेष परिस्थितिबीच फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचन आउन केवल १८ दिन बाँकी रहँदा सुदूरपश्चिम प्रदेशसँग सिमाना जोडिएको लुम्बिनी प्रदेशअन्तर्गतको जिल्ला बर्दियामा पनि चुनावी चहलपहल मजैले शुरू भएको छ । पुराना र नयाँ दलका उम्मेदवार आ-आफ्ना एजेन्डा बोकेर मतदाताको घरदैलो पुगिरहेका छन् ।
बर्दियाको निर्वाचन क्षेत्र नम्बर २ मा पनि उम्मेदवारहरू गाउँ–गाउँ पुगेर आफ्ना एजेन्डा सुनाउँदै मतदातासँग भोट मागिरहेका छन् । यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले किशोरसिंह राठौर, नेकपा एमालेले विमला विक, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुरेश पन्थ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले श्रीधर पोख्रेल र नागरिक उन्मुक्ति पार्टी नेपालले खुशीराम थारूलाई आफ्नो उम्मेदवार बनाएका छन् ।
यो निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । यसैक्रममा राजापुर नगरपालिकाको मानपुर टपरामा भेटिए नेपाली कांग्रेसका उम्मेदवार किशोरसिंह राठौर । उनी बर्दिया क्षेत्र नम्बर १ को विकास निर्माणमा आफूले लामो समयदेखि निरन्तर काम गर्दै आएको बताउँदै स्थानीयसँग मत मागिरहेका थिए ।
उनी यसअघि २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दियाको छिमेकी जिल्ला बाँकेबाट निर्वाचित भएका थिए । त्यतिबेला नेपाली कांग्रेसको सहमहामन्त्रीसमेत रहेका राठौर २९ हजार ४० मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिले २४ हजार दुई सय ४७ मत प्राप्त गरेका थिए ।
विद्यार्थी राजनीतिबाट उदाएर संसदीय राजनीतिमा होमिएका ५६ वर्षीय राठौर आफूले बर्दियाबासीको घरदैलोमा स्वास्थ्य, शिक्षा, सडक, पुल, खानेपानीलगायतका आधारभूत आवश्यकता पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँछन् ।
नेपाल विद्यार्थी संघका पूर्वसभापतिसमेत रहेका उनी राज्यका सबै निकायले इमान्दार भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न नसक्दा जनताले चाहेजस्तो सेवा सुविधा पाउन नसकेको दाबी गर्छन् । आफूले राजनीतिलाई सेवा र उत्तरदायित्त्वका रूपमा लिएको उनी बताउँछन् ।
नेपाली कांग्रेसको बलियो आधारभूमिका रूपमा रहेकाले यसपटक बर्दिया-२ मा आफ्नो जित पक्का रहेको उनको दाबी छ । यद्यपि, पार्टीको विशेष महाधिवेशनपछि विकसित परिस्थितिले पार्टीभित्र केही तिक्तता पनि निम्त्याएको उनको बुझाइ छ । उनी बर्दियालगायत केही जिल्लाका निर्वाचन क्षेत्रमा विशेष महाधिवेशन पक्षधरले मन खोलेर सहयोग नगरेको दाबी गुनासो गर्छन् ।
पार्टीभित्र उनी निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको महत्त्वपूर्ण सदस्यका रूपमा परिचित छन् । त्यसैले विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा चुनेपछि राठौर त्यसको विपक्षमा उभिएका थिए ।
प्रस्तुत छ, आगामी निर्वाचनको विषयमा केन्द्रित रहेर उनै राठौरसँग गरिएको भिडियो कुराकानी :