२२ जेठ २०८३, शुक्रबार
उम्मेदवारसँग संवाद

जनताबाट ‘कान्छो गगन’ भनेर माया पाएको छु , जित निश्चित छ- सचिन तिमिल्सिना [भिडियो]

फागुन ४, २०८२
काठमाडौं
जनताबाट ‘कान्छो गगन’ भनेर माया पाएको छु , जित निश्चित छ- सचिन तिमिल्सिना [भिडियो]

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट तीन पटक सांसद र एक पटक मन्त्री भइसकेका सभापति गगन थापाले क्षेत्र छाडेपछि नेपाली कांग्रेसले यसपटक ३३ वर्षीय युवा उम्मेदवार सचिन तिमिल्सिनालाई अघि सारेको छ । पुस्तान्तरणको बहस चलिरहेका बेला काठमाडौं–४ मा कांग्रेसले युवा नेतृत्वमार्फत् निरन्तरतासँगै परिवर्तनको सन्देश दिन खोजेको देखिन्छ । तिमिल्सिना जनताको घरदैलोमा कसरी गइरहेका छन् ? उनलाई जनताले भनिरहेका छन् ? जित्ने आधार के हो ? कांग्रेस उम्मेदवार सचिन तिमिल्सिनासँग लोकान्तरका लागि प्रकाश ओलीले गरेको कुराकानी :

आजदेखि घरदैलो शुरू भएको छ, कत्तिको उत्साहित हुनुहुन्छ ?

एकदमै उत्साहित छु । हामी सबै उत्साहित छौं  । आज हामीले बूढानीलकण्ठ नगरपालिका-१ बाट घरदैलो शुरू गरेका छौं । विशेष महाधिवेशनपछि जनतामाझ हाम्रो निकै राम्रो छवि बनेको पाएका छौं । घरदैलोका क्रममा पाएको स्वागतले नै जनताले साथ दिने स्पष्ट संकेत गरेको छ ।

तीन पटकसम्म गगन थापाले जितेको क्षेत्र, यो पटक तपाईं उम्मेदवार हुनुहुन्छ। कत्तिको चुनौती छ ?

चुनौती त अवश्य छ । गगन थापाजस्तो हैसियत बनाएको नेताले लगातार तीन पटक जितेको क्षेत्र हो यो । उहाँले जनताबाट पाएको माया र विश्वास ठूलो पूँजी हो । तर यहाँका अग्रजहरूले ‘कांग्रेसले राम्रो उम्मेदवार पायो’ भनेर खुसी व्यक्त गर्नुभएको छ । कतिपयले ‘कान्छो गगन’ भनेर सम्बोधन गर्नुभएको छ । यो मेरो लागि ठूलो सौभाग्य हो । उहाँसँग लामो समय काम गरेको र उहाँकै पदमार्गमा हिँडेको हुनाले उहाँबाट दीक्षित युवालाई दिएको यो उपाधि मेरो लागि जिम्मेवारी पनि हो ।

null

विशेष महाधिवेशनपछि नेतृत्व परिवर्तन भएको छ । कांग्रेसभित्र अन्तर्घातको डर कत्तिको देख्नुहुन्छ ?

मैले २०६४ पछि राजनीतिलाई नजिकबाट हेरेको छु । यो पहिलो पटक हो, कांग्रेस गुटरहित बनेको अनुभूति भएको । विगतमा ६०–४० को भागबन्डा र दुई–तीन वटा समूह सक्रिय हुन्थे । अहिले पार्टी एक भएर चुनावमा होमिएको छ । त्यसैले काठमाडौं–४ मा अन्तर्घातको समस्या छैन भन्ने विश्वास छ ।

नयाँ आएका पार्टीहरूबाट कत्तिको दबाब वा डर छ ?

लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक हो । सबैलाई स्वच्छ प्रतिस्पर्धा गर्ने अधिकार छ । तर जनताले परिपक्व र जिम्मेवार राजनीतिक दलको उम्मेदवार रोज्ने विश्वास लिएको छु ।

तपाईंका मुख्य एजेन्डा के–के हुन् ?

म दुई वटा मुख्य एजेन्डा लिएर चुनावमा आएको छु- रोजगारी र सुशासन । सुशासनका लागि पार्टीभित्रै ठूलो संघर्ष गरेर रूपान्तरण गरेका छौं । पारदर्शिता र जवाफदेहिता हाम्रो प्राथमिकता हो । ई–गभर्नेन्सलाई अघि बढाएर सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउनेछौं  ।

null

रोजगारी सिर्जनाका लागि देशलाई प्रत्येक वर्ष कम्तीमा पाँच लाख रोजगारी आवश्यक छ । त्यसका लागि आईटी र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने योजना छ । मेरा केही ठोस अवधारणाहरू छन्, विस्तृत घोषणापत्र भोलि सार्वजनिक गर्नेछु ।

जेन-जी (Gen Z) पुस्ताको साथ कत्तिको पाउनुभएको छ ?

म आफैं ३३ वर्षको भएकाले जेन–जी उमेर समूहसँग नजिक छु । उनीहरूसँग सहज कनेक्ट हुन्छ । साथीहरू उत्साहित हुनुहुन्छ र राम्रो साथ दिनुभएको छ । म क्रिकेटसँग पनि जोडिएको हुनाले युवाहरूबाट सकारात्मक समर्थन पाएको छु ।

घरदैलोका क्रममा धेरै सुनिएका गुनासा के–के छन् ?

देश भर्खरै ठूलो आन्दोलनबाट गुज्रिएको छ । विगतका भूमिकाबारे प्रश्न उठ्नु स्वाभाविक हो । ती प्रश्नलाई मैले सकारात्मक रूपमा लिएको छु । स्थानीय तहका खानेपानी, पूर्वाधार र सेवा प्रवाहसम्बन्धी समस्या बढी उठेका छन् । जनताका गुनासालाई मनन गर्दै, निर्वाचित भएपछि प्राथमिकताका साथ समाधानतर्फ लाग्नेछु ।

 

salt training

कमेन्ट गर्नुहोस्