२८ जेठ २०८३, बिहीबार
चुनावी ग्राउन्ड जिरो

सर्लाही-३ का मतदाताको बदलिँदो मनोविज्ञान : नारायणकाजीलाई भरतकै भर, भरत नै भारी !

फागुन ६, २०८२
सर्लाही
सर्लाही-३ का मतदाताको बदलिँदो मनोविज्ञान : नारायणकाजीलाई भरतकै भर, भरत नै भारी !

सर्लाहीको हरिवन नगरपालिका-१० धरहरास्थित एक चिया पसलमा केही स्थानीयहरू गफिइरहेका ​थिए । चुनावको बेला स्वाभाविक रूपमा चुनावकै कुरा हुने नै भइहाल्यो । त्यसैमा मिसियो लोकान्तरको चुनावी रिपोर्टिङ टोली । आफ्नो परिचयसहित हामीले सर्लाही-३ को चुनावी माहोलबारे जिज्ञासा राख्यौँ । उनीहरू पनि हौसिए । टोलमा अहिलेसम्म भोट माग्न कोही नआएको उनीहरूको भनाइ थियो । 'केही दिनपछि आउलान् नि त उम्मेदवारहरू, अनि विस्तारै चुनाव लाग्छ,' त्यहाँ रहेका एक स्थानीयले भने ।

संवादकै क्रममा ६० वर्षीय पूर्णबहादुर तामाङले आफू साविकदेखि नै एमालेको कार्यकर्ता रहेको खुलाए । 'म एमालेको संगठित सदस्य पनि हो । लेबी तिर्ने कार्यकर्ता हो,' उनले लोकान्तरसँग भने, 'मैले गत चुनावमा पनि एमालेकै उम्मेदवार हरिप्रसाद उप्रेतीलाई भोट दिएको थिएँ । यसपटक पनि उहाँलाई नै भोट दिन्छु । अहिले धेरैजसोले नयाँ-नयाँ भनिरहेका छन् । हार वा जित आफ्नो ठाउँमा होला तर भोट भने परिवर्तन गर्दिनँ ।'

चिया पसलमा बसिरहेका ५८ वर्षीय रामप्रताप चौधरीले भने यसपटक आफूहरू मत परिवर्तनको पक्षमा रहेको बताए । विगतमा पुराना दलहरूलाई मतदान गर्दै आएको भए पनि यसपटक नयाँ पार्टीलाई मत दिने उनले खुलाए । तर, नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नभएर उज्यालो पार्टी (चिम) लाई आफूहरूले मतदान गर्ने उनले बताए ।

उनले विगतमा नेकपा (माओवादी केन्द्र) लाई मतदान गर्दै आए पनि यसपटक चिम चिह्नका उम्मेदवार त्रिभुवन सिंहलाई मतदान गर्ने बताए । यो क्षेत्र साविकको माओवादी र एमालेको गढ मानिन्छ । तर, यसपटक गढ भत्किने उनीहरूको आकलन छ ।

'यो तामाङ बस्ती हो । यहाँका प्रायः तामाङ मतदाताले उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङलाई प्रधानमन्त्री बनाउन चिम छापमा नै मतदान गर्छन्,' चौधरीले लोकान्तरसँग भने, 'यो क्षेत्रमा २४ हजार तामाङ समुदायकै मतदाता छन् । त्यसमध्ये १६ हजारभन्दा बढी मत चिममै जान्छ ।' उज्यालो पार्टीका अध्यक्ष घिसिङ आफैँ पनि त्यस ठाउँमा आएर मत मागेको उनले खुलाए ।

चौधरीले त्यसो भन्दै गर्दा एमाले कार्यकर्ता तामाङले असहमति जनाए । 'सबै तामाङले चिममै मत हाल्छन् भन्ने कुरा पनि हुँदैन,' उनले थपे, 'म पनि तामाङ नै हुँ तर मैले मेरो भोट त एमालेमै हाल्छु । हो, यो बस्तीमा बढीजसो तामाङले चिममा हाल्ने भनिरहेका छन् । तर अहिले नै सबै तामाङले चिममै मत हाल्छन् भनेर ठोकुवा गर्न सकिने अवस्था छैन ।'

null

चुनावको माहोल एकै रातमा परिवर्तन हुन्छ । त्यसैले कसको पक्षमा माहोल बन्छ भनेर अहिले नै भन्ने अवस्था नरहेको उनको जिकिर थियो । त्यहीँ रहेका ५२ वर्षीय बुद्धिमान योञ्जनले भने अहिले नै कुन पार्टीलाई भोट हाल्ने निर्णय गरिनसकेको बताए । 'अहिले खुलेर हामीले केही भन्न सक्दैनौँ,' उनले लोकान्तरसँग भने, 'समय आएपछि निर्णय गर्छौं । उचित उम्मेदवारलाई भोट दिन्छौँ ।'

त्यहाँ उज्यालो पार्टीबाट उम्मेदवार रहेका त्रिभुवन सिंह यसअघि जनमत पार्टीबाट प्रतिनिधिसभाका उम्मेदवार हुँदा ५ हजार मत ल्याएका थिए । उनी विगतमा अमेरिकाको एक तेल कम्पनीमा इराक र इरानमा काम गरेर स्वदेश फर्किएकाले उज्यालोको उम्मेदवार पनि राम्रै रहेको उनीहरूको जिकिर थियो ।

सर्लाही-३ त्यही क्षेत्र हो जहाँ नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ उम्मेदवार छन् । यो क्षेत्रमा नेकपा एमालेका हरिप्रसाद उप्रेतीले २०७९ सालमा चुनाव जितेका थिए । उप्रेती यसपटक पनि उम्मेदवार छन् । तर, पालिका स्तरमा नेकपाको बलियो उपस्थिति रहेकाले श्रेष्ठ क्षेत्र रोजेर चुनावी मैदानमा ओर्लिएका थिए ।

null

२०७९ सालको निर्वाचनमा नेकपा एमालेका हरिप्रसाद उप्रेती निर्वाचित भएका थिए । ३२ हजार ९३८ मत ल्याएर निर्वाचित हुँदा उप्रेतीका निकटतम प्रतिद्वन्द्वी तत्कालीन नेकपा माओवादी केन्द्रबाट नरेन्द्र साह कलवारले ३२ हजार १६८ मत ल्याएका थिए । पूर्वरक्षा मन्त्रीसमेत रहेका एमालेका उप्रेती पनि यसपटक उम्मेदवार हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कलवारले नेकपाबाट टिकट पाएनन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन् । कलवार होटेल व्यवसायी हुनुका साथै ट्राभल एन्ड टुर्स व्यवसायी हुन् ।

उनी विगतमा साविकको लोसपा नेपालबाट समानुपातिक सांसदसमेत बनेका थिए । २०७९ मै माओवादीबाट चुनाव लडेर एमालेका उप्रेतीसँग ७७० मतले मात्र पराजय बेहोरेका कलवार यसपटक नयाँ दल रास्वपाबाट उम्मेदवार बनेका कारण प्रतिस्पर्धा झन् रोचक बनेको छ ।

त्यसैगरी, २०७९ को चुनावमा जनमत पार्टीबाट उम्मेदवार भएर ५ हजार ५१९ मत ल्याएका त्रिभुवन कुमार सिंह यसपटक उज्यालो नेपाल पार्टीबाट उम्मेदवार छन् । त्यसबाहेक यस क्षेत्रमा जसपा नेपालबाट जयप्रकाश राय, जनमत पार्टीबाट सुनिलप्रसाद गुप्तासहित विभिन्न पार्टीका उम्मेदवारहरू चुनावी मैदानमा छन् ।

यस क्षेत्रमा हरिवन नगरपालिका, बागमती नगरपालिका, चक्रघट्टा गाउँपालिका, हरिपुर नगरपालिकाको वडा नम्बर १, कविलासी नगरपालिकाको वडा नम्बर ३, ४, ५ र ६ सहित ४ वटा वडा, बरहथवा नगरपालिकाको वडा नम्बर ५, ६, ७, ८, ९, १०, ११, १२, १६, १७ र १८ सहित ११ वटा वडा र बसबरिया गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ सहित तीन वटा वडाहरू पर्छन् ।

null

बागमती नगरपालिकाको नयाँरोड हुँदै बरहथवा जाने बाटोमै नगरपालिकाको वडा नम्बर ३ स्थित धरहराका केही स्थानीय सामुदायिक वन हेर्ने (रुङ्ने) ड्युटी गरिरहेका भेटिए । ५५ वर्षीय अम्मर बोहरा र ५२ वर्षीय गोकुल रानाले नेकपाका उम्मेदवार श्रेष्ठ नै जित्ने अनुमान गरे । 'बागमती नगरपालिका र हरिवन नगरपालिका त साविकको माओवादी र एमालेको गढ नै हो,' उनीहरूले लोकान्तरसँग भने, 'एमालेका उम्मेदवार हरिप्रसाद उप्रेती पटक-पटक जितेर गए पनि खासै विकासको काम नगरेकाले एमालेको गढ यसपटक रहेन । त्यस आधारमा पनि कम्युनिस्टहरूको भोट नेकपाका उम्मेदवार श्रेष्ठलाई नै पर्नुपर्ने हो ।'

तर, यहाँ एकै रातमा भोट परिवर्तन हुने हुनाले के हुने हो भन्न सकिने अवस्था नरहेको उनीहरूले खुलाए । जनजातिको भोट कता जाने हो र तलतिरको मधेसी समुदायको भोट कता जाने हो, त्यसमा हारजित निर्भर हुने उनीहरूको विश्लेषण थियो ।

बरहथवा नगरपालिकाको वडा नम्बर ९ मूर्तियाका ३५ वर्षीय राकेश साहले विगत १० वर्षदेखि विदेशमा रहेका हुनाले माहोलअनुसार निर्णय लिने बताए । तर, सोही गाउँका ६२ वर्षीय मुनिलाल महतोले यसपटक आफूहरू नयाँको पक्षमा रहेको बताए । 'विगत १०/१५ वर्षदेखि त्यही एमाले, माओवादीलाई हामीले मतदान गर्‍यौं,' महतोले लोकान्तरसँग भने, 'तर यसपटक बालेन सरकार बनाउन हामीले घन्टीको उम्मेदवारलाई भोट दिने विचार गरेका छौँ ।'

पूरै गाउँमा नै घन्टीको पक्षमा लहर रहेको उनले बताए । नेकपाका उम्मेदवार श्रेष्ठको मत उत्तरतर्फ रहे पनि तल दक्षिणतर्फ बढी मत नआउने उनको आकलन थियो । सोही गाउँका ४५ वर्षीय मनोज महतोले पनि यसपटक घन्टी नै बजाउने बताए ।

बरहथवा-९ मूर्तियाकै औषधि पसल सञ्चालन गरिरहेका ३३ वर्षीय सरोज कुमार महतोले पनि यसपटक घन्टीमै मतदान गर्ने बताए । घन्टीका उम्मेदवार नरेन्द्र साह कलवारको नाममा नभएर बालेन शाहको नाममा आफूहरूले यसपटक घन्टीमा मतदान गर्ने सोच बनाएको उनले खुलाए ।

null

बरहथवा नगरपालिका-६ कै एक जना हार्डवेयर व्यवसायी अविनाश साहले भने आफूहरू पुनः एमालेमै मतदान गर्ने बताए । त्यसैगरी, बागमती नगरपालिकाका ६३ वर्षीय बाबुराम राउतले यसपटक तारा छाप र घन्टी छापमै प्रतिस्पर्धा हुने बताउँछन् । त्यसबाहेक अन्य कतिपयले रुखका उम्मेदवार पनि प्रतिस्पर्धामा रहने बताए । बरहथवा-११ हिरापुरका ४६ वर्षीय लक्ष्मी साहले तारा, घन्टी र रुखमा नै त्रिकोणात्मक प्रतिस्पर्धा हुने बताउँछन् ।

नारायणकाजीलाई 'भरतको भर'

बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा र नेकपा उम्मेदवार श्रेष्ठ एकै पार्टीका हुन् । २०७४ र २०७९ सालको स्थानीय तहमा दुईपटक बागमती नगरपालिकाका नगरप्रमुखको चुनाव जित्न सफल भएका भरत थापा अहिले निलम्बित छन् ।

बागमती नगरपालिकामा 'भरत ताल' निर्माण गरी पर्यटकीय स्थल बनाउन सफल भएका थापालाई त्यही ताल निर्माणको क्रममा राजस्व छली गरी राज्यलाई हानि-नोक्सानी पुर्‍याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरिसकेको छ । उनलाई ८ वर्ष कैद र १० करोड रूपैयाँ जरिवाना गरिएको छ ।

त्यसैगरी, गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा पनि विशेष अदालतले उनलाई १ वर्ष कैद र ३ करोड ४५ लाख रूपैयाँ जरिवाना हुने गरी फैसला गरिसकेको छ ।

null

उनै भरत थापाको भरमा चुनावी मैदानमा ओर्लिएका पूर्वगृहमन्त्री श्रेष्ठलाई उनको साथ ताकत हुनुका साथै कमजोरी पनि बनेको स्थानीयहरूले बताए ।

केही दिनअघि बागमती नगरपालिका वडा नम्बर २ स्थित रास्वपाका उम्मेदवार कलवारले चुनावी कार्यक्रम गरिरहँदा निलम्बित नगरप्रमुख भरत थापा सोही कार्यक्रममा पुग्दा विवाद भएको थियो । निर्वाचन आचारसंहिता विपरीत थापा त्यहाँ पुगेर कलवारको कार्यक्रम बिथोल्न खोजेको र धाक-धम्की दिएको भन्दै भिडियो नै सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

'एक त सुशासन कायम गरेको भनेर गृहमन्त्री हुँदा उहाँले वाहवाही पाउनुभएको थियो तर अहिले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकालाई नै बोकेर हिँडेको भन्दै त्यसको आलोचना समेत भइरहेको छ,' नेकपाकै एक कार्यकर्ताले लोकान्तरसँग भने, 'फेरि उहाँ यहाँ भरतकै भर परेर चुनाव लड्न आउनुभएको छ । भरतले साथ नदिने हो भने झन् उहाँको अवस्था बिग्रिन्छ ।' त्यसैले भरतको भर श्रेष्ठलाई सहजताका साथै भारी बोझ पनि बन्न पुगेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्