
सार्वजनिक पदको दुरुपयोग गरेको आशंकामा पक्राउ परेका बेलायती शाही परिवारका एक प्रमुख सदस्य एन्ड्रयू माउन्टबेटन-विन्डसरलाई प्रहरीले रिहा गरेको छ।
टेम्स भ्याली प्रहरीले बिहीबार बिहान ६६ वर्षीय एन्ड्रयूलाई नोर्फोकबाट नियन्त्रणमा लिएको थियो। उनीमाथि बेलायतको व्यापार दूतका रूपमा काम गर्दा दिवंगत यौन अपराधी जेफ्री एप्स्टिनलाई सरकारी गोप्य दस्ताबेज र सूचनाहरू उपलब्ध गराएको गम्भीर आरोप लागेको छ।
प्रहरीले यस मामिलालाई लिएर बर्कशायर र नोर्फोकस्थित एन्ड्रयूको निवास लगायतका विभिन्न स्थानहरूमा खानतलासी समेत गरेको छ। एन्ड्रयू पक्राउ परेपछि प्रतिक्रिया दिँदै राजा चार्ल्स तृतीयले कानुनले आफ्नो बाटो लिने बताउँदै यस प्रक्रियामा प्रहरीलाई राजदरबारको पूर्ण सहयोग रहने स्पष्ट पारेका छन्।
एन्ड्रयूले भने आफूमाथि लागेका सबै आरोपहरूलाई सुरुदेखि नै अस्वीकार गर्दै आएका छन्।