
शैलसुते वेद, पुराण तथा रामायण, महाभारत आदिमा आधारित भएर लेखिएको उपन्यास हो । खासगरी उपन्यासले माता पार्वतीको धराधाम अवतरणको उद्देश्य र आवश्यकतालाई वर्ण्य विषय बनाएको छ । माता पार्वती शैलसुतेको रूपमा धरामा किन अवतरण भइन् र के–के गरिन् भन्ने विषय नै उपन्यासको मूल भित्ती हो । यसबाहेक जेजति विषय तानिएका छन् सबै त्यसैको आधारभूमि तयार पार्न खडा भएका हुन् । उपन्यासले वैदिक सनातन धर्मसंस्कृतिका विषयलाई विज्ञानको आलोकमा हेर्ने प्रयासमात्र गरेको छैन, अपितु प्रसङ्गअनुसार गीता तथा साङ्ख्य र वेदान्त दर्शनका गहन पक्षलाई समेत समेट्ने प्रयास गरेको छ । यस आलेखमा यसैबारे केही कोट्याउने प्रयास गरेको छु ।
मोटामोटीरूपमा उपन्यासलाई भौतिक परिचय तथा कथावस्तु र तिनका विश्लेषण गरी तीन भागमा वर्गीकरण गर्न सकिन्छ । तिनमा भौतिक परिचयको कुरा गर्दा उपन्यास कुल पृष्ठ ३५० को छ, जसको मूल्य ७९५ रुपैयाँ तोकिएको छ । कागत र छपाइ राम्रो र आवरण पृष्ठ आकर्षक छ । किरण आचार्यद्वारा लिखित उपन्यासको प्रकाशकमा शिखा बुक्स रहेको छ । पेशाले शिक्षक रहेकाले होला उपन्यासमा स्रष्टाले आफ्नो लामो शिक्षण अभ्यास र अनुभवलाई राम्रैसँग पोखेकी छन् ।
शीर्षकले नै उपन्यास नारीप्रधान हो भन्ने प्रष्ट पारेको छ । स्रष्टा नारी भएकाले उपन्यासमा नारीपात्रले राम्रै न्याय पाउनु स्वाभाविक छ । यसो त पुरुष स्रष्टाहरूबाट पनि नारी प्रधान उपन्यास लेखिएका छन् । तथापि स्रष्टा नै नारी भएका कारण यहाँ नारी पात्रको विशेषताले बढी नै स्थान पाएको छ ।
उन्यासको ठाउँ ठाउँमै नारीशक्तिको विशेषता उल्लेख गरिएको पाइन्छ । अस्तित्वको प्रश्न शीर्षकको एउटा सिङ्गै प्रकरण यसैका लागि जबरजस्त तानिएको प्रतीत हुन्छ । पुरुषप्रधान समाजमा नारीको विशेषता बुझाउन नारीहरू नै अघि आउनु राम्रो कुरा हो तर, यतिले मात्र पुग्दैन । यसमा अन्य नारी स्रष्टाहरूबाट होष्टेहैँसे हुनु आवश्यक देखिन्छ ।
अब लागौँ विषयवस्तु केलाउनेतिर । अग्रजा अदितीपुत्र इन्द्रले अनुजा दनुपुत्र नमुचि वध गरेको वैदिक प्रसङ्ग तथा शुम्भनिशुम्भले इन्द्रबाट पराजित भएपछि ब्रह्माजीबाट वरदान प्राप्त गरी नारी शक्तिको सहयोगमा इन्द्रलाई परास्त गरेको पौराणिक प्रसङ्गबाट शुरू भएको उपन्यास मातृशक्तिबाट शुम्भनिशुम्भ वध भएको प्रसङ्गमा पुगेर टुङ्गिएको छ । स्वर्गमा शुम्भनिशुम्भको शासन, आदिशक्तिको अवतरण, शिवपार्वती विवाह, गणेशकुमारको जन्म, शैलेसुतेको सैन्यशक्ति गठन, देवी कौशिकीको प्रादुर्भाव तथा उनको शुम्भनिशुम्भादिसँगको सङ्ग्राम आदि बीचमा आएका प्रसङ्ग हुन्, जसलाई स्रष्टाले आख्यानीकरण गरेर उपन्यासमा बुनेकी छन् ।
सुरासुर दुवै एउटै बाबुका सन्तान हुन् । छैटौँ चाक्षुष मन्वन्तरको अन्त्यमा फारसको खाडी र कश्यपसागरको जलस्तर बढेर भएको जलप्रलका कारण लामो समयसम्म एशिया माइनर (एशिया र युरोपको केही भाग) क्षेत्र डुबानमा परेको थियो तर १८ हजार फिटभन्दा माथि रहेको यसै क्षेत्रको एउटा भागलाई भने पानीले छुन सकेको थिएन । त्यसैले जलप्रलयको बेला सोही क्षेत्रमा एक जना (कच्छप जातिका ?) पुरुष जीवित रहन सफल भएको देखिन्छ, जसलाई हिन्दूपुराणले कश्यपप्रजाति भनेको छ र उनैको नामबाट सो सागरको नाम काश्यपसागर रहेको बुझिन्छ । अन्यथा त्यस अघि सो सागरको नाम क्षीरसागर थियो । जेहोस् संयोगवश सोही क्षेत्रको अर्को कुनै स्थानमा चाक्षुष मन्वन्तरका अन्तिम प्रजापति प्राचीनबर्हीका पुत्र दक्षप्रजापति पनि सपरिवार जीवित रहेका रहेछन् ।
उनै दक्षाप्रजापतिका ६० वटी पुत्रीमध्ये १३ वटीलाई कश्यपप्रजातिले विवाह गरेका थिए । तिनै १३ मध्ये जेठी दितीका सन्तानलाई दैत्य, माइली अदितीका सन्तानलाई आदित्य अर्थात् देव तथा अर्की पत्नी दनुका सन्तानलाई दानव भन्ने गरिएको पाइन्छ ।
उनीहरूबीचमा विमातृसन्तानका कारण शुरूदेखि नै मेल थिएन । देवजाति जे गर्थे दानवजाति त्यसको विपरीत । बेमेल हुनृुको कारण भने सत्ता, शक्ति र सम्पत्ति नै रहेको पाइन्छ । देवजाति आफूलाई श्रेष्ठ भएकाले आर्य वा सुर भन्ने गर्दथे । त्यसैको विरोधमा दैत्य र दानवहरू आफूलाई असुर भन्न रुचाउँथे । उनीहरू यदाकदा सन्धी गरी मेलमिलाप पनि गर्थे तर, कुन सड्को झगडा पर्दथ्यो पत्तै हुँदैन थियो । यसैको कारण ३०० वर्षमा १३ पटकभन्दा बढी देवासुरसङ्ग्राम भएको इतिहास भेटिन्छ ।
आपसी वैरभावकै कारण उनीहरूले वासस्थान पनि अलगअलग क्षेत्रमा चुुुनेका थिए । सुरहरू हालको भूगोलअनुसार आर्मेनिया, आर्यवीर्यान (अजरवैजान), जर्जिया (ककेशस पर्वतीय इलाका) तथा ऐलभूमि (हालको भूगोलअनुसार तत्कालीन रुसको दक्षिणपश्चिममा पर्ने किर्गिस्तान, उज्वेकिस्तान, ताजकिस्तान र ईरानको पूर्वी क्षेत्रदेखि भारतीय उपमहाद्वीपको गिलगिट पर्वतसम्मको भूभाग) तिर बस्दथे भने असुरहरू पर्शियाकै केही भाग, उर प्रदेश अर्थात् मेसोपेटामिया (इराक), शाम (सिरिया) आदि भूभागमा बसोबास गर्दथे । दनुपुत्र नमुचि र वृषपर्वा त यसै पनि यतैतिरका थिए । नमुचिकै भाइ (शैलसुते पृष्ठ १८) शुम्भनिशुम्भादिको वासस्थान पनि सम्भवत: त्यतैतिर हुनुपर्दछ, जसको अत्याचार समन गर्न माता शैलसुते अवतरित हुनुपरेको थियो ।
उपन्यासको विशेषतामा एउटा ज्ञान र विज्ञानको समन्वय पाइनु पनि हो । विज्ञानको कुरा गर्दा गङ्गा अवतरण, जीवकोषबाट वराह प्रादुरभाव, गणेशकुमारको जन्मप्रकरण, कौशिकीको प्रादुभार्व तथा प्रयोगशालामा भएको अन्न तथा वनस्पतिको शोध र रक्तकणबाट रक्तबीजको उत्पत्ति आदिलाई लिन सकिन्छ । आधुनिक विज्ञानले क्लोन प्रविधिलाई भरखरै अपनाउन थालेको छ तर उपन्यासले शैलसुतेमार्फत् त्यतिबेलै यसको छिनोफानो भएको देखाउन खोजेको छ ।
उपन्यासको अर्को विशेषता भनेको राम्रैसँग दार्शनिक चेत भेटिनु हो, जहाँ गीता, ब्रह्मसूत्र तथा साङ्ख्य र बौद्धदर्शनको राम्रै स्वाद पाउन सकिन्छ । कार्यकारणको सिद्धान्त साङ्ख्यदर्शनको हो, जसलाई बौद्धदर्शनले प्रतीत्यसमुत्पादको सिद्धान्त भनेको छ । यसलाई उपन्यासले सिधै नभने पनि अन्तर्यमा राम्रै झलक पाउन सकिन्छ । शुम्भ र निशुम्भको संवादमा कतै गीता दर्शनको र कतै आर्थर शोपेनहावर दर्शनको झलक पाउन सकिन्छ । सुरहरूबाट पराजित भएपछि शुम्भले भाइ निशुम्भसँग गरेका कुरामा गीताको आभाष हुन्छ भने दाजु शुम्भलाई आशावादी हुन उत्पेरित गर्दै भाइ निशुम्भले बोलेका कुरामा शोपेनहावर दर्शनको झलक पाउन सकिन्छ ।
त्यस्तै, इन्द्रको वैराज्ञदर्शन वेदान्त दर्शनको नजिक पाइन्छ भने महादेव र पार्वतीको सम्बादमा सोलोडोलो सबै दर्शनको सार पाउन सकिन्छ तर पात्र चयनमा भने स्रष्टा अलमलिएकी हुन् कि भन्ने प्रतीत हुन्छ । किनभने यस्तो दर्शन बोल्नका लागि बोल्ने पात्र पनि त्यस्तै प्रौढ हुनुपर्छ तर यहाँ यो काम एउटा सामान्य बालिका शैलसुतेबाट भएको छ । उपन्यासमा प्रसङ्गअनुसार चारवाक आदि अन्य दर्शनले पनि राम्रै स्थान पाएको छ । यी केही उदाहरण हुन् । उपन्यासमा यस्तैयस्तै अन्य धेरै दार्शनिक चेतको भ्रूण पाउन सकिन्छ ।
स्रष्टा नारी भएकाले मातृवात्सल्यको पाटो पनि निकै मजबूज देखिन्छ । उपन्यासले कतिपय मिथकीय प्रसङ्गलाई पनि तर्कसम्मत बनाउने प्रयास गरेको छ । उपन्यासको व्यावहारिक पक्ष पनि उत्तिकै बलियो भेटिन्छ । उदाहरणका लागि मातृशक्तिले सैन्यशक्ति गठन गरेको प्रसङ्गलाई लिन सकिन्छ, जसले गृहकलह वा पतिसँग खटपट हुँदा नारीशक्ति कसरी आत्मनिर्भर हुन सक्छन् भन्ने कुराको सङ्केत गरेको छ । यसबाट पतिसँग अलिकति खटपट हुनासाथ सम्बन्ध विच्छेदकै तहमा पुग्ने वर्तमान प्रवृत्तिमा केही कमी आउने आशा गर्न सकिन्छ ।
सरसर्ती पढ्दा उपन्यासमा केही कमजोरी पनि फेला परेका छन् । पहिलो कुरा त शीर्षक चयनलाई नै लिन सकिन्छ । किनकि शैलसुता शब्दको सम्बोधनमा मात्र शैलसुते हुन्छ । प्रथमा विभक्तिमा त शैलसुता हुन्छ, जुन नाममा बढी प्रयोग हुने गर्दछ । यसमा ‘अयि गिरिनन्दिनी शैलसुते’ जस्ता कालजयी देवीस्तोत्रबाट लेखक प्रभावित भएको बुझिन्छ तर त्यहाँ पनि यी सबै विशेषण सम्बोधनमै आएको छ । हे गिरिनन्दिनी ! हे शैलसुते ! आदिआदि । यद्यपि यो सामान्य कुरा हो । तथापि यति ठूलो मेहनत गरिसकेपछि त्यसमा पनि अलिकति ध्यान दिन सकिएको भए हुन्थ्यो कि भन्ने लाग्छ ।
त्यस्तै, अर्को कमजोरी उपन्यासको मूल पात्रको उपस्थितिमा पनि पाउन सकिन्छ । कुल ३५० पृष्ठको उपन्यासमा मूल पात्रको प्रवेश १०३ पृष्ठमा पुगेरमात्र भएको छ । त्यसैले पाठकलाई उनको उपस्थिति अलि पहिले नै देखाइदिएको भए हुन्थ्यो भन्ने लाग्न सक्छ ।
अर्को कुरा उपन्यासमा पुरुषपात्रको भूमिकालाई अलि कम आकलन गर्न खोजिएको हो कि भन्ने प्रतीत हुन्छ । पुरुषप्रधान समाजमा नारीशक्ति पछि परेका वा पारिएको सत्य हो । तथापि उपन्यासले जसरी ठाउँ ठाउँमा पुरुषपात्रलाई मात्र दोषी देखाउन खोजिएको छ त्यो भने अलि बढी नै भयो कि भन्न सकिने स्थान छ ।
यसबाट अन्य कुरामा फरक नपरे पनि स्रष्ट पुरुषपात्रप्रति अलि बढी नै असहिष्णु हुन् कि भन्ने आक्षेप लाग्न सक्छ कि भन्ने डर छ । यद्यपि जति कुरा बोलिएको छ पात्रमार्फत् बोलिएको छ र त्यसलाई पुष्टि गर्ने प्रयास पनि भएको छ । अस्तु अहिलेलाई यति नै ।