
२०६४ सालको पहिलो संविधानसभा चुनावमा २७ हजारभन्दा बढी मतान्तरले चुनाव जितेका खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' त्यसपश्चात् चुनावी मैदानमा देखिएनन् । २०६४ सालमा तत्कालीन माओवादीको रापतापका बेला ठूलो मतान्तरले जितेका विश्वकर्मा झन्डै दुई दशकपछि फेरि चुनावी मैदानमा उत्रिएका छन् । पटक-पटक चुनाव बहिष्कार गर्दै आएका उनी १८ वर्षपछि 'घुमीफिरी रुम्जाटार' भनेझैँ कालीकोटबाट दोस्रोपटक चुनावी मैदानमा उत्रिएका हुन् ।
यसअघि संसदीय व्यवस्थाले मुलुकलाई निकास नदिने भन्दै उनी आबद्ध पार्टीले चुनाव बहिष्कार गर्दै आएको थियो । जनयुद्धपछि पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको तत्कालीन माओवादीबाट चुनाव लडेर जितेका उनी यसपटक भने प्रचण्ड नेतृत्वकै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारलाई चुनौती दिन नेकपा (माओवादी) बाट 'गुलाब' चिह्न लिएर प्रतिस्पर्धामा ओर्लिएका हुन् ।
एक मात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही उम्मेदवार छन् । २०७४ सालको चुनावमा प्रदेश सभामा चुनाव जितेर मुख्यमन्त्री बनेका शाही गत चुनावमा पनि कालीकोटबाटै निर्वाचित भएका थिए ।
२०७९ सालको चुनाव जितेपछि शाही ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसमेत भएका थिए । विगतमा सहजै जित्ने गरेका शाहीलाई यसपटक भने सजिलो छैन । उनलाई नेकपा माओवादीका विश्वकर्माले कडा चुनौती दिने देखिएको छ ।
२०७९ सालमा पाँचदलीय गठबन्धनको उम्मेदवार बनेका शाही २३ हजार ७२७ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नागिन्द्र शाहीले १६ हजार ७१८ मत ल्याएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार धनबहादुर बुढाले १ हजार ५०३ मत र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार खड्गराज शाहीले १ हजार १०२ मत ल्याएका थिए ।
यसपटक शाहीलाई विगतमा चुनौती दिएका एमालेका नागिन्द्र शाहीसहित अन्य उम्मेदवारहरूले पनि चुनौती पेस गरेका छन् । कालीकोटमा नेपाली कांग्रेसबाट हर्षबहादुर बम, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रकाश न्यौपाने, राप्रपाबाट सूर्यबहादुर शाही, राष्ट्रिय जनमोर्चाबाट अजबहादुर शाही, नेपाल मजदुर किसान पार्टीबाट नन्दबहादुर शाही उम्मेदवार छन् ।

स्वतन्त्र उम्मेदवार आश्विन विष्टले भने आफ्नो उम्मेदवारी फिर्ता लिएर रास्वपाका उम्मेदवारलाई समर्थन गरेको घोषणा गरिसकेको स्थानीय बताउँछन् । 'भकरान्ते' उपनामले चिनिने रास्वपाका उम्मेदवार भने राजनीतिक पृष्ठभूमिको नभएर टिकटकर रहेको उनीहरूले खुलाए । 'राजनीतिक पृष्ठभूमिको नभए पनि घन्टीको मत नै नभएको भने होइन,' तिलागुफा गाउँपालिकाका एक स्थानीयले भने, 'यसपटक ५ हजार जति मत आउँछ होला ।'

उसो त शाहीविरुद्ध उनकै पार्टीबाट जीवनबहादुर बुढाले पनि उम्मेदवारी मनोनयन गरेका थिए तर, पछि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । कालीकोटमा खाँडाचक्र नगरपालिका, रासकोट नगरपालिका, तिलागुफा नगरपालिका, महावै गाउँपालिका, शुभकालिका गाउँपालिका, पचालझरना गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिका छन् । हामीले प्रायजसो सबै स्थानीय तहमा पुग्दा मतदाताले तारा, रुख र सूर्यबीच प्रतिस्पर्धा हुने बताए । तर, दलित समुदायको एकमुष्ठ मत पाए प्रकाण्डले नै जित्ने अधिकांशको आकलन थियो । त्यसबाहेक घन्टी, मादल र हलोको समेत मत उनलाई नै आउन सक्ने स्थानीयको आकलन थियो ।

तिलागुफा गाउँपालिकामा भेटिएका दलित समुदायका अधिकांश महिलाहरूले प्रकाण्डलाई नै मतदान गर्ने बताए । 'गाउँका मुखियासँग हिजो मात्र हाम्रो सल्लाह भएको छ,' दाउरा काट्न जाँदै गरेका ती महिलामध्येकी एकले लोकान्तरसँग भनिन्, 'विगतमा हामीले माओवादीलाई भोट दिँदै आएका छौँ । तर यसपटक १८ वर्षपछि पुनः प्रकाण्ड उम्मेदवार बनेर आएकाले उहाँलाई नै मतदान गर्नुपर्छ भनेर सल्लाह भएको छ ।'
कालीकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर ३ का ६९ वर्षीय पुरीलाल पाण्डेले यसपटक कालीकोटमा एमालेको उम्मेदवारले जित्ने दाबी गरे । पटक-पटक महेन्द्रबहादुर शाहीले चुनाव जितेर मुख्यमन्त्री र मन्त्रीसमेत बने पनि विकास केही नगरेकाले यसपटक एमालेलाई मत दिने उनले बताए ।

पाण्डेसँगै भेटिएका सोही वडाका ६० वर्षीय देवचन्द्र आचार्य पनि यसपटक एमालेलाई नै भोट दिने पक्षमा देखिए । 'अहिले जसले जे भने पनि जित्ने एमाले नै हो,' आचार्यले लोकान्तरसँग भने, 'तर, मुख्य प्रतिस्पर्धा भने तारा, सूर्य र रुखमै हुन्छ ।'
शाही र प्रकाण्ड दुवै माओवादीको जनयुद्धकालका नेता भएकाले उनीहरूको मत विभाजन हुँदा एमालेले जित्ने उनीहरूको तर्क छ । तर, त्यस क्षेत्रका विभिन्न पालिका तथा वडामा स्थानीयहरूसँग बुझ्दा शाहीले नै जित्ने तर विगतजस्तो सहज नहुने तर्क गरे ।
संगठनात्मक रूपमा 'तारा' नै सबैभन्दा बलियो रहे पनि 'गुलाब'को प्रवेशले भने उनलाई हम्मे पर्ने धेरैजसोको भनाइ थियो । 'कालीकोटमा सुरुदेखि नै माओवादी बलियो संगठन भएको पार्टी हो,' खाँडाचक्र नगरपालिकाका एक मानवअधिकारकर्मीले लोकान्तरसँग भने, 'त्यसमा पनि नेकपा एकीकृत समाजवादीसहित अन्य विभिन्न पार्टी मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेपछि संगठन झन् बलियो भएको छ ।' संगठनात्मक मत सबै पायो भने यसपटक पनि महेन्द्रबहादुर शाहीले नै चुनाव जित्ने उनले ठोकुवा गरे । 'तर, १५ हजारभन्दा बढी मत रहेको दलित समुदायबाट ८० प्रतिशत मत खड्गबहादुर विश्वकर्मामा जाने त होइन भन्ने आशंकाका कारण महेन्द्रबहादुर शाहीलाई गाह्रो परेको छ,' उनले थपे, 'किनभने विश्वकर्माको भोट बैंक नै दलित समुदाय हो ।'

पलाता गाउँपालिका-८ का ६२ वर्षीय धनबहादुर बमले हलोमा मतदान गर्ने बताए । त्यहीँ भेटिएका ६२ वर्षीय रूपलाल मल्लले भने आफ्नो मत यसपटक सूर्यमा जाने बताए । यसपटक विभिन्न दलका उम्मेदवार उठेका भए पनि सूर्य र तारामा नै प्रतिस्पर्धा हुने ती दुवैजनाको आकलन थियो । 'अन्य पार्टीका पनि केही न केही मत छन् । नयाँ भनिएका घन्टीको पनि केही मत होला,' उनीहरूले लोकान्तरसँग भने, 'तर, मुख्य प्रतिस्पर्धा तारा र सूर्यमा नै हुन्छ होला ।'
सोही नगरपालिकाको वडा नम्बर १ मा भेटिएकी २७ वर्षीया मनिषा सिंहले भने यसपटक मत परिवर्तन गर्ने बताइन् । 'यसपटक त हामीले नयाँलाई हेर्ने हो । घन्टीलाई नै हामीले मतदान गर्छौं ।' घन्टीकै उम्मेदवारले जित्ने उनको भनाइ थियो ।
त्यसैगरी सान्नी त्रिवेणी गाउँपालिका-३ का ३८ वर्षीय नारायणप्रसाद देवकोटा भने यसपटक पनि आफ्नो मत तारामै जाने बताउँछन् । 'मेरो घरमा १० वटा मत छ । हामी सबैजनाको मत एकै ठाउँ तारामै जान्छ,' देवकोटाले लोकान्तरसँग भने ।

त्यसैगरी, शुभकालिका गाउँपालिका वडा नम्बर ७ का २२ वर्षीय रत्न परियारले भने आफूहरूको मत सूर्यमा जाने बताए । उनले आफ्नो घरपरिवारमा ८ मत रहेको र सबै एमालेमा जाने बताए ।
त्यसैगरी, खाँडाचक्र नगरपालिका वडा नम्बर ४ कै २७ वर्षीय महेन्द्र परियारले भने आफूहरूको मत तारामै जाने खुलाए । 'हाम्रो घरपरिवारमा जम्मा ७० जति भोट छन्,' परियारले लोकान्तरसँग भने, 'प्रत्यक्षमा सबै मत तारामै जाने हो । तर, समानुपातिकतर्फ भने मत फरक-फरक हुन सक्छ ।'

शुभकालिका गाउँपालिका-६ हाउडीकी २३ वर्षीया विसना खत्रीले भने आफूहरू यसपटक मत परिवर्तनको पक्षमा रहेको बताइन् । 'विगतमा सबै पार्टीलाई मतदान गरेर हेरेकै हो,' उनले भनिन्, 'यसपटक हामी घन्टीमा मत दिन्छौँ ।' उनको घरमा ७ वटा मत रहेकोमा सबै घन्टीमा जाने बताइन् ।
खाँडाचक्र नगरपालिका वडा नम्बर १, मान्म जिरोप्वाइन्टमा भेटिएका धेरैजसो स्थानीयले भने अहिले मतदान कसलाई गर्ने भन्ने निर्णय गरिनसकेको बताए । 'भोट त कसै न कसैलाई दिने नै हो तर, अरूजस्तो हामी खुलिसकेका छैनौँ, समय आएपछि निर्णय लिन्छौँ,' धेरैजसोले लोकान्तरसँग भने ।

खाँडाचक्र नगरपालिका वडा नम्बर १० मा एमालेका वडाध्यक्ष ५२ वर्षीय जनकबहादुर शाही भेटिए । उनीसँगै रास्वपाका सोही वडाका सभापति ४३ वर्षीय कालीबहादुर शाहीसहित विभिन्न स्थानीय भेटिए ।
एमाले वडाध्यक्ष शाहीले आफ्नो घरमा रहेको कूल ५५ मतमध्ये ४० जति खस्ने र सबै मत सूर्यमै जाने बताए । रास्वपाका वडा सभापति शाहीले पनि आफ्नो घरको झन्डै ७० वटा जति मत घन्टीमै जाने बताए ।

खाँडाचक्र नगरपालिका-४ कै ४० वर्षीय जयप्रसाद आचार्यले पनि आफूहरू एमाले भएको हुनाले एमालेमै मतदान हुने बताए । महावै गाउँपालिका-५ का ४७ वर्षीय रामबहादुर शाहीले भने विगतदेखि नै आफूहरूले माओवादीमा मत हाल्दै आएको बताए । तर, यसपटक के गर्ने भन्ने कुरा अहिलेसम्म निर्णय गर्न नसकेको उनको भनाइ छ । घरमा २९ भोट रहेकोमा २० वटासम्म भोट खस्न सक्ने उनले बताए ।
त्यसैगरी, शुभकालिका गाउँपालिका-४ का ५० वर्षीय कर्ण चौलागाईंले पनि आफूहरूको मत एमालेमै जाने बताए । एमाले कालीकोटको पूर्वसचिवालय सदस्यसमेत रहिसकेका उनले घरपरिवारमा रहेको १५ मत एमालेमै जाने बताए ।
त्यहाँ समूहमै रहेका सबैजनाको विश्लेषणमा निर्णायक भने दलित समुदायको मत नै हुने निष्कर्ष थियो । जिल्लामा झन्डै ८९ हजार मतदाता रहेकोमा १५ हजारभन्दा बढी दलित समुदायको मत रहेको उनीहरूको भनाइ छ । त्यसमध्ये दलित समुदायको ८० प्रतिशत मत गुलाबमा जाँदा प्रकाण्डले जित्न सक्ने उनीहरूको निष्कर्ष थियो । दलितको मत ३० प्रतिशत, क्षेत्रीको मत ३० प्रतिशत र ब्राह्मणको मत १४ प्रतिशत रहेको उनीहरूले खुलाए ।

खाँडाचक्र नगरपालिका-१ का २९ वर्षीय सत्यप्रसाद देवकोटाले भने अहिल्यै आफूहरूले के गर्ने भन्ने निर्णय गरिनसकेको बताए । अहिले हेरिरहेको र मतदान गर्ने बेलामा निर्णय गर्ने उनले बताए । विगतमा माओवादी र एमालेबीच प्रतिस्पर्धा भएको हुनाले यसपटक थप नयाँ उम्मेदवारहरू पनि आएकाले के गर्ने भन्ने निर्णय गर्न नसकेको उनको भनाइ थियो ।
शुभकालिका गाउँपालिकाकी ४६ वर्षीया श्रीकला शाहीले विगतमा कांग्रेस रहे पनि यसपटक के गर्ने भन्ने निर्णय गरिनसकेको बताइन् । विभिन्न पालिकामा कांग्रेसका मतदाताहरू पनि भेटिए । उनीहरू पनि यसपटक कांग्रेसका उम्मेदवार नै विजयी हुनेमा आशावादी थिए ।

खाँडाचक्र नगरपालिका-५ तेस्रो बजारमा भेटिएका स्थानीयहरूले भने यसपटक प्रकाण्डलाई २०६४ सालको माहोल फर्काउन सम्भव नहुने जिकिर गरे । 'दलित समुदायले जातिको आधारमा स्वाट्टै भोट प्रकाण्डलाई हाल्ने हो भने त प्रकाण्डले नै जित्छ,' उनीहरूमध्येका एक जनाले लोकान्तरसँग भने, 'तर, दलित समुदायभित्र सबै राजनीतिक दलहरू खासगरी नेकपा, कांग्रेस र एमालेको संगठन छ । दलहरूले स्वाभाविक रूपले आफ्नो संगठनमाथि पकड कायमै राख्ने कोसिस गर्ने हुनाले प्रकाण्डलाई बाहिर हल्ला भएजस्तो सहज पनि छैन ।'

सोही वडामा भेटिएका कांग्रेस वडा कमिटीका सभापति अलिबहादुर शाहीले भने कांग्रेसले नै जित्ने दाबी गरे । '१२ हजार त कांग्रेसको सैद्धान्तिक मत नै हो । कांग्रेसको आफ्नै मत आयो भने कांग्रेसको जित हुन्छ,' शाहीले लोकान्तरसँग भने, 'यसपटक विगतजस्तो कांग्रेसको मत विभाजन हुने वा अन्तर्घात हुने सम्भावना न्यून रहेकाले रूखकै उम्मेदवारले जित्छ ।'
त्यसैगरी तिलागुफा नगरपालिका वडा नम्बर ७ बालीमा भेटिएका ५३ वर्षीय भुवन विष्टले भने आफूहरूले एमालेमा मतदान गर्ने बताए । उनको घरमा रहेको २ भोट एमालेमै जाने बताए । त्यसैगरी, सोही वडामा भेटिएका ७० वर्षीय दीपबहादुर विष्टले पनि सूर्यमा नै मतदान गर्ने खुलाए । तर, त्यहीँ भेटिएकी एक ३५ वर्षीया महिलाले भने आफूहरू मत परिवर्तन गरेर घन्टीलाई मतदान गर्ने बताइन् ।

तिलागुफा नगरपालिका जविया गाल्ज्यामा भेटिएका तीन जना महिलाहरूले रुखमै मतदान गर्ने बताए । ४२ वर्षीया पार्वती शाही र ६७ वर्षीया भीमकोशा शाहीसहितले रूखमै मतदान गर्ने बताए ।