
अमेरिकाको उत्तर-पूर्वी क्षेत्रमा आएको शक्तिशाली हिउँदे आँधी र भारी हिमपातका कारण जनजीवन प्रभावित भएको छ।
न्युयोर्क, म्यासाचुसेट्स र रोड आइल्याण्ड लगायतका राज्यहरूमा बाक्लो हिउँ जमेपछि यातायात, विद्युत् र हवाई सेवा ठप्प भएको छ। यस हिमपातले कतिपय स्थानमा दशकौँ पुराना रेकर्डहरू समेत तोडेको मौसम विभागले जनाएको छ।
अमेरिकाकै सबैभन्दा सानो राज्य रोड आइल्याण्डमा यसपटक इतिहासकै सबैभन्दा ठूलो हिमपात भएको छ। त्यहाँको राजधानी प्रोभिडेन्समा ३३ इन्चसम्म हिउँ जमेको छ, जसले सन् १९७८ को रेकर्डलाई समेत उछिनेको छ।
यस्तै न्युयोर्कको सेन्ट्रल पार्कमा १९ इन्च र म्यासाचुसेट्सका केही भागमा ३३ इन्चसम्म हिउँ परेपछि जताततै हिउँको थुप्रो मात्र देखिएको छ। बाक्लो हिउँ र तीव्र हावाका कारण सडकमा केही पनि नदेखिने अवस्था (वाइटआउट) सिर्जना भएपछि विभिन्न राज्यका गभर्नरहरूले अत्यावश्यक बाहेकका सवारी साधन चलाउन प्रतिबन्ध लगाएका छन्।
हिमपातका कारण विद्युत् सेवामा पनि ठूलो असर परेको छ। पूर्वी तटीय क्षेत्रका करिब ६ लाखभन्दा बढी घर र व्यवसायहरूमा अन्धकार छाएको छ। विशेषगरी म्यासाचुसेट्स र न्यु जर्सीका बासिन्दाहरू विद्युत् कटौतीबाट बढी मारमा परेका छन्। सडकमा जमेको हिउँ हटाउन सयौँ कर्मचारी खटिएका छन् भने कतिपय स्थानमा हिउँमा फसेका सवारी साधनहरूलाई क्रेनको सहायताले निकालिएको छ।
हवाई यातायातमा पनि यस आँधीको गम्भीर असर देखिएको छ। अमेरिकाभरि ५ हजार ६ सयभन्दा बढी उडानहरू रद्द गरिएका छन्। न्युयोर्कका ला ग्वार्डिया र जेएफके विमानस्थलका साथै बोस्टन र फिलाडेल्फियाका विमानस्थलहरूबाट हुने उडानहरू ९० प्रतिशतसम्म कटौती भएका छन्।
जसका कारण हजारौँ यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन्। मौसमविद्हरूका अनुसार यो हिमपात केही समय अझै जारी रहने सम्भावना रहेकाले सर्वसाधारणलाई सुरक्षित रहन र घरबाहिर ननिस्कन कडा चेतावनी दिइएको छ।