१९ असार २०८३, शुक्रबार
चुनावी ग्राउन्ड जिरो

रसुवामा कांग्रेसका मोहन आचार्यको पक्षमा माहोल, पछि–पछि एमाले र रास्वपा

परिवर्तन हुने मत कुलमानको पार्टीतिर पनि जाने, नेकपा रक्षात्मक
रसुवामा कांग्रेसका मोहन आचार्यको पक्षमा माहोल, पछि–पछि एमाले र रास्वपा

रसुवाबाट २०७४ मा तत्कालीन वाम गठबन्धनलाई पराजित गरेर प्रतिनिधिसभामा पुगेका नेपाली कांग्रेसका मोहन आचार्य यसपटकको चुनावी प्रतिस्पर्धामा पनि अगाडि रहेको पाइएको छ ।

बागमती प्रदेशको हिमाली जिल्ला रसुवामा नयाँ दलका रूपमा घण्टीको हावासमेत चल्न थाले पनि आचार्य चुनावी जीतको ह्याट्रिक गर्नेगरी अगाडि रहेको पाइएको हो ।

एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवाबाट यसपटक कांग्रेसका आचार्यका अलवा नेकपा एमालेका प्रेमबहादुर तामाङ, नेपाली कम्युनिस्ट पार्टीका माधवप्रसाद लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्ट, राप्रपाका हरिप्रसाद घिमिरेसहित ९ दल र ३ स्वतन्त्र गरी १२ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

२०७९ मा माओवादीको समेत समर्थन पाएका आचार्य १८ हजार २३५ मत ल्याएर विजयी हुँदा एमालेका छोवाङ तेन्जिन तामाङले ८ हजार ६१४ मत पाएका थिए ।

समानुपातिकतर्फ कांग्रेसले १२ हजार ५८६, एमालेले ७ हजार ७०८, तत्कालीन माओवादी (हाल नेकपा)ले ३ हजार ६८६ र रास्वपाले १ हजार ७३१ मत पाएका थिए ।

त्यसअघि २०७४ मा भने आचार्यले १४ हजार ४५३ मत पाउँदा वाम गठबन्धनका तर्फबाट उम्मेदवार जनार्दन ढकालले १० हजार २७८ मत पाएका थिए ।

null

एमाले र माओवादी एकीकरण भएर नेकपा बन्दा ढकाल पार्टीको जिल्ला अध्यक्ष थिए । अहिले तिनै ढकालसहित कैयन् नेता/कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । त्यसले पनि आचार्यलाई सहज बनाएको छ ।

कांग्रेसले यस क्षेत्रमा एमालेलाई आफ्नो मुख्य प्रतिस्पर्धी ठानेको छ । प्रमुख ४ दलमध्ये एमालेले मात्र तामाङ उम्मेदवार अगाडि सारेको छ ।

कांग्रेस, नेकपा र रास्वपा तीनैले ब्राह्मण/क्षेत्री समुदायबाट उम्मेदवार अगाडि सारेका छन् । रसुवामा तामाङ मतदाताको बाहुल्यता भए पनि सोही समुदायमै आचार्यले आफ्नो पकड विस्तार गरेका छन् ।

‘मोहन दाइको तामाङ कम्युनिटीमा निकै राम्रो भएर मात्र हो, नत्र तामाङ उम्मेदवार नहुँदा मुस्किल पर्थ्यो’, कांग्रेसका एक कार्यकर्ताले लोकान्तरसँग भने ।

null

के भन्छन् मतदाता ?

बेत्रावती बजार हुँदै सदरमुकाम धुञ्चे पुगेपछि हामीले शुरूमा जेनजी उमेर समूहका दुई युवालाई भेट्यौं । उनीहरू रहेछन्, नौकुण्ड गाउँपालिका ४ सरमथलीका रूपक डंगोल र सुमन डंगोल । १९ र २१ वर्षका दुवैले मतदाता नामावलीमा नाम लेखाइसकेका रहेछन् ।

null

तीमध्ये रूपकले कांग्रेसका मोहन आचार्यलाई मत दिने बताए । सुमनले भने घण्टीमा भोट हाल्ने बताए । तर, उनलाई उम्मेदवारको नाम थाहा रहेनछ ।

धुञ्चेमै भेटिएका ग्याल छिरिङ तामाङले आफू एमाले भए पनि कांग्रेस अगाडि रहेको बताए ।

गोसाइँकुण्ड गाउँपालिका ५ भार्खुका लामा दोर्जे तामाङले अहिलेको माहोल हेर्दा नयाँलाई गाह्रो रहेको विश्लेषण गरे । ‘यसै भन्न त सकिन्न, तर माहोल हेर्दा नयाँलाई गाह्रो छ,’ तामाङले भने, ‘हाम्रोमा कांग्रेस अगाडि छ ।’

आमाछोदिङ्मो गाउँपालिका १ गोल्ज्योङक नुर्चुङ घले पनि धुञ्चेमै भेटिए । मोबाइलको सिमकार्ड निकाल्न सदरमुकाम आएका उनले चुनावी माहोलबारे खुलेर बताएनन् ।

आमाछोदिङ्मो १ कै ३१ वर्षीय गोम्बो छिरिङ तामाङले अहिले युवामा नयाँको माहोल रहे पनि अन्तिम समयमा विभिन्न कारणले मत प्रभावित हुन सक्ने बताए ।

धुञ्चे बजारमै ५ जना युवा घाम तापेर बसिरहेका भेटिए । तीमध्ये ४ जना कांग्रेस समर्थक रहेछन् । एकजना (निर्मल घले)ले मंगोल नेसनल अर्गनाइजेसनका विनोद थिङलाई भाले चिह्नमा मत दिने बताए ।

तर, सगुन घले, रमेश घले, सन्तोष घले र युकेस तामाङले भने कांग्रेसका मोहन आचार्यको नाम लिए ।

null

कालिका गाउँपालिका १ ग्राङका बाबु छिरिङ तामाङले पहिले आफू माओवादी रहे पनि अहिले उज्यालो नेपाल पार्टीका मानबहादुर तामाङलाई बिजुलीको चिम चिह्नमा मत दिने बताए ।

माओवादीबाट वडाध्यक्षसहितको टीम कांग्रेसमा प्रवेश गरे पनि आफू कुनै पार्टीमा प्रवेश नगरी स्वतन्त्र बस्ने उनको भनाइ थियो ।

कालिका १ कै ८० वर्षीय दावा तेञ्जिङले गरिबलाई जुन पार्टीले राम्रो गर्छ, उसैलाई मत दिने बताए ।

कालिकाकै राम्चे बजारका रविन तामाङले यसपटक नयाँलाई हेर्ने बताए । उनले नयाँ पार्टीका रूपमा रास्वपा, मंगोल नेसनल अर्गनाइजेसन र उज्यालो नेपालको नाम लिए । नयाँमा जाने भोट यी तीनै पार्टीमा बाँडिने उनको भनाइ थियो ।

null

सोही ठाउँका २० वर्षीय अमन तामाङले घण्टीमा भोट हाल्ने बताए ।

उत्तरगया गाउँपालिका ५ का नवराज थापाले कांग्रेस, एमाले र रास्वपाबीच प्रतिस्पर्धा हुने बताए । आफू भने ‘नो भोट’को पक्षमा रहेको उनको भनाइ थियो ।

कालिका २ घुम्तीका नारायण रिजालले कांग्रेस र रास्वपाबीच प्रतिस्पर्धा हुने बताए । ‘यसै भन्न त सकिन्न, यसपालि जनता चुपचाप बस्याछन् । तर, पनि मुख्य प्रतिस्पर्धा कांग्रेस र रास्वपाबीच हुने देखिन्छ,’ रिजालले भने ।

null

कालिका ५ जिबजिबेका डोलबहादुर परियारले नयाँको अलिअलि चर्चा भए पनि कांग्रेसका मोहन आचार्य नै अगाडि रहेको विश्लेषण सुनाए ।

कालिका गाउँपालिकाकै महेश्वर न्यौपानेले पनि कांग्रेस नै बलियो रहेको बताए । ‘यहाँ जित्ने मोहन आचार्यले नै हो, अर्को विकल्पै छैन,’ उनले भने ।

गोसाइँकुण्ड गाउँपालिका ५ का सोनाम छिरिङले नयाँलाई हेर्न चाहेको बताए ।

नौकुण्ड गाउँपालिका १ का सूर्य तामाङले पार्टीभन्दा पनि काम गर्ने मान्छे चाहिएको बताए ।

गोसाइँकुण्ड ६ का बलराम विकले पुराना पार्टीसँग असन्तुष्ट केहीले घण्टी भने पनि अन्तिममा कांग्रेस अगाडि आउने विश्लेषण सुनाए ।

‘यहाँ अहिले माहोल जति ताते पनि अन्तिममा कांग्रेस अगाडि आउँछ । एमाले आउन पनि सक्छ । केही मान्छेहरू एमाले–कांग्रेसबाट दिक्दार भएर घण्टी भनिरहेका छन् । भोट कता दिन्छन्, थाहा छैन,’ उनले भने ।

null

कालिका २ का ६६ वर्षीय एक पुरुषले आफ्नो नाम उल्लेख गर्न चाहेनन् । तर, अन्तिममा कांग्रेस अगाडि आउन सक्ने उनको भनाइ थियो ।

‘कांग्रेस, रास्वपा र एमाले यिनै हुन् अगाडि देखिएका दल । आउने कांग्रेस नै हो । कांग्रेसको बलियो माहोल छ । म एमाले हो । एमाले आउन सक्ने सम्भावना पनि देख्छु,’ उनले भने ।

कालिका २ का नारायण न्यौपानेले कांग्रेस र रास्वपाको प्रतिस्पर्धा हुने विश्लेषण गर्दै एकपटक नयाँलाई हेर्ने सोच बनेको बताए ।

उत्तरगया ५ का महेशराज भण्डारीले कांग्रेसले जित्ने बताए । तर, मत भने पहिला जति नआउन सक्ने उनको भनाइ थियो । ‘कांग्रेसले जित्ने देखिन्छ । तर, पहिलेको जति मत नल्याउला कि भन्ने हो । कांग्रेससँग प्रतिस्पर्धामा घण्टी नै आउला जस्तो छ,’ भण्डारीले भने ।

उत्तरगया ५ की शान्ति अधिकारीले पनि कांग्रेसले जित्ने दाबी गरिन् ।

null

‘सबै राम्रा छन् । सबैले प्रतिस्पर्धा गर्छन् । जित्न कांग्रेसले नै जित्छ । मेरो मत मोहन आचार्यलाई जान्छ । कांग्रेसकै केही कार्यकर्ताहरूले बिगारेका पनि छन् । तर, अहिले कांग्रेस विशाल भएको छ । एकजुट भएको छ ।’

रास्वपा उम्मेदवार कांग्रेस र एमाले उम्मेदवार माओवादी पृष्ठभूमिका हुन् । यी दुवै कांग्रेससँग प्रतिस्पर्धामा रहे पनि उतिसारो माहोल बनाउन भने सकेको देखिँदैन ।

भिडियोमा हेर्नुहोस्, उम्मेदवार आचार्यसँग गरिएको कुराकानी 

salt training

कमेन्ट गर्नुहोस्