
नेवार समुदायको बाहुल्यता रहेको ललितपुर–३ मा पनि चुनावी माहोल छ। चिया–चौतारामा मानिसहरू चुनावी गफगाफ गरिरहेका भेटिन्छन्। उम्मेदवारहरू पनि साँझ–बिहान घरदैलो गरिरहेका भेटिन्छन्।
२०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट तत्कालीन माओवादीकी पम्फा भुसाल विजयी भएकी थिइन्। त्यसबेला एमाले र माओवादीको गठबन्धन थियो। गत निर्वाचन (२०७९) मा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की तोसिमा कार्कीले चुनाव जितेकी थिइन्। गत चुनावमा पनि कांग्रेस र माओवादीसहित पाँच दलको गठबन्धन थियो। तर, गठबन्धनका उम्मेदवारलाई समेत हराएर कार्की विजयी भएकी थिइन्। गत चुनावमा गठबन्धनबाट माओवादीका उम्मेदवार थिए, त्यसकारण कांग्रेसको भोट रास्वपामा गएकाले उनले जितेको चर्चासमेत हुने गरेको छ।
यसपालि रास्वपाबाट तोसिमा कार्की, एमालेबाट सन्दनकुमार थापा, कांग्रेसबाट जितेन्द्रकुमार श्रेष्ठ, नेकपाबाट राजकाजी महर्जन र राप्रपाबाट सविनकुमार खड्का प्रतिस्पर्धामा छन्। अहिले सबै पार्टी एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा रहेकाले तोसिमालाई जित दोहोर्याउन सहज नहुने स्थानीयको आकलन छ।
ललितपुर–३ का बहुसंख्यक मतदाताले रास्वपा र कांग्रेसबिच नै प्रतिस्पर्धा हुने बताए। कतिपयले प्रत्यक्षमा कांग्रेसलाई मत दिएर समानुपातिकमा रास्वपालाई मत दिनेसमेत सुनाए। एमाले र नेकपाको पक्षमा समेत केही मतदाता भेटिए।
ज्ञानबहादुर महर्जनले यसपटक चुनावी माहोल खासै नदेखिएको बताए। उनका अनुसार टोल–छिमेकमा घण्टीकै चर्चा छ। नयाँ पार्टीले केही गर्छ कि भन्ने आशा उनको छ। उनले भने, 'चुनावको माहोल खासै छैन। सबैले घण्टी–घण्टी भन्छन्, त्यसैले यसपालि पनि घण्टी नै हेर्ने हो। नयाँ पार्टीले केही गर्ला कि भन्ने आशा छ।'
व्यवसायी पाँचभाइ महर्जनले भने बिहान–साँझ उम्मेदवारहरू घरदैलोमा आउने गरेको बताए। पुराना नेताले अपेक्षाअनुसार काम नगरेको गुनासो गर्दै यसपटक परिवर्तनका लागि घण्टीमा मत दिने सोच बनाएको उनले सुनाए। उनले भने, 'बिहान–साँझ भोट माग्न आउँछन्। पुरानाले केही गरेनन्। यसपटक परिवर्तन हेर्ने हो, त्यसैले घण्टीमा छाप लगाउने विचार छ।'
राधेश्याम महर्जनले तोसिमा कार्कीलाई जिताएर पठाए पनि अपेक्षित काम हुन नसकेको गुनासो गरे। नयाँ भन्दैमा मात्र नहुने रहेछ, काम गर्न सक्ने नेतृत्व आवश्यक रहेको उनको धारणा छ। त्यसैले यसपटक बदलिएको कांग्रेसलाई मत दिने सोच रहेको उनले बताए। उनले भने, 'तोसिमा भनेर जिताइयो, तर केही गर्नुभएन। नयाँ भनेर मात्रै नहुने रहेछ, काम गर्न सक्ने मान्छे चाहिँदो रहेछ। त्यसैले यो पटक बदलिएको कांग्रेसलाई हेर्ने विचार छ।'
जेन–जी उमेर समूहकी दिलाशा मगरले नेपालमै रोजगारी सिर्जना गर्न सक्ने प्रतिनिधि चाहिएको बताइन्। उनका अनुसार आन्दोलनले अपेक्षित परिवर्तन ल्याउन नसकेपछि अब चुनावबाटै परिवर्तन आउने आशा गरिएको छ। उनले भनिन्, 'हामीलाई नेपालमै रोजगारी दिन सक्ने प्रतिनिधि चाहिएको छ। जेन–जी आन्दोलनले पनि खास परिवर्तन ल्याउन सकेन। अब चुनावबाट परिवर्तन आउने अपेक्षा छ। म पार्टीभन्दा पनि मान्छे हेरेर मत दिन्छु।'
व्यवसायी उत्तम महर्जनले भने चुनावी माहोल निकै तातिएको बताए। उनका अनुसार यस क्षेत्रमा सूर्य र रुखबिच प्रतिस्पर्धा हुने देखिन्छ। तोसिमा कार्की तीन वर्षसम्म फर्केर नआएको भन्दै असन्तुष्टि जनाउँदै उनले आफू एमाले समर्थक भएकाले एमालेलाई नै मत दिने बताए। उनले भने, 'चुनाव तातिरहेको छ। यहाँ सूर्य र रुखकै प्रतिस्पर्धा हुन्छ। तोसिमाले जितेर तीन वर्षमा फर्केर पनि आइनन्, म एमाले हुँ, मेरो मत एमालेलाई नै जान्छ। चुनावपछि रोजगारी मिलोस्, भ्रष्टाचार निर्मूल होस्।'
कृष्ण रायमाझीले व्यक्तिकेन्द्रित नभई देश बनाउने नेतृत्व आवश्यक रहेको बताए। अघिल्लो पटक घण्टीले जितेको स्मरण गर्दै यसपटक पनि रास्वपालाई नै मत दिने उनको भनाइ छ। उनले भने, 'जुन नेता आए पनि आफ्नै लागि मात्र राम्रो गर्छन्, जनतालाई हेर्दैनन्। देश बनाउने नेता चाहिएको छ। पहिले पनि घण्टीले जितेको हो, यो पटक पनि घण्टीलाई नै जिताउने हो। नयाँले केही गर्छन् कि भन्ने आशा छ।'
अमन महर्जनले यसपटक चुनावी माहोल पहिलेभन्दा केही कम भएको बताए। मुख्य प्रतिस्पर्धा कांग्रेस र रास्वपाबिच हुने उनको अनुमान छ। अघिल्लो पटक रास्वपालाई मत दिएको तर अपेक्षित काम नभएको भन्दै यसपटक कांग्रेसलाई मत दिने सोच बनाएको उनले बताए। उनले भने, 'पहिले तोसिमालाई जिताएर पठायौँ। यो पटक सुध्रिएको कांग्रेसलाई जिताउने हो।'
जयराम महर्जनले आफू पहिलेदेखि नै कांग्रेस समर्थक भए पनि यसपटक मत कहाँ जान्छ भन्न नसकिने बताए। मतदानकै दिन निर्णय गर्ने भन्दै उनले सुधारिएको कांग्रेसप्रति झुकाव रहेको धारणा राखे। उनले भने, 'पहिलेदेखि नै कांग्रेस हो। तर यो पटक हात कहाँ जान्छ थाहा छैन। कांग्रेस सुध्रिएको छ भने यसपटक कांग्रेसलाई नै मत दिने हो।'
मानबहादुर खत्रीले अघिल्लो वर्ष पनि नयाँ शक्तिलाई रोजेको स्मरण गर्दै यसपटक पनि नयाँलाई नै मत दिने बताए। रास्वपाले केही गर्छ कि भन्ने आशा रहेको उनको भनाइ छ। उनले भने, 'हामी बुढा मान्छेलाई चुनाव लागेजस्तो छैन। तर अहिले पनि नयाँ नै छान्ने हो। पहिले पनि नयाँलाई नै हेरेको हो। रास्वपाले केही गर्छ कि भन्ने आशा छ।'
ज्ञानमाया महर्जनले विदेशमा रहेका छोरा–नातिले फोन गरेर घण्टीमा मत हाल्न आग्रह गरेको बताइन्। चुनावपछि भ्रष्टाचार कम हुनुपर्ने उनको अपेक्षा छ। उनले भनिन्, 'भोट माग्न अलिअलि आइरहेका छन्। छोरा–नातिले विदेशबाट घण्टीमा भोट हाल्नू भनेका छन्, त्यसैले यो पटक घण्टी नै हो।'
विशेषता महर्जनले जेन–जी पुस्ताको मत घण्टीतिर जाने दाबी गरिन्। प्रत्यक्ष र समानुपातिक दुवैमा रास्वपालाई मत दिने भन्दै उनले बालेनलाई प्रधानमन्त्री भएको हेर्ने इच्छा व्यक्त गरिन्। उनले भनिन्, 'म जेन–जी उमेर समूहकी हुँ। चुनावपछि परिवर्तन आउँछ भन्ने आशा छ। प्रत्यक्ष र समानुपातिक दुवैमा मेरो मत घण्टीमै जान्छ। बालेन प्रधानमन्त्री भएको हेर्ने मन छ।'
व्यवसायी सर्मिला विष्टले खानेपानी समस्या गम्भीर रहेको उल्लेख गर्दै जसले जिते पनि समाधान गर्नुपर्ने बताइन्। पार्टीभन्दा पनि योग्य व्यक्ति रोज्ने उनको धारणा छ। उनले भनिन्, 'हाम्रो यहाँ पानीको ठुलो समस्या छ। जसले जिते पनि समाधान गर्नुपर्छ। सबैले घण्टी भन्छन्, तर म व्यक्ति हेरेर मात्र मत दिने विचारमा छु। कांग्रेस पनि भन्छन्, हेरौँ मतदानको दिनसम्म के हुन्छ।'
रामलाल महर्जनले धेरै नेता जिताएर पठाए पनि उपलब्धि नदेखिएको गुनासो गरे। नयाँ भएकाले यसपटक घण्टीलाई मत दिने सोच बनाएको उनले बताए। उनले भने, 'हाम्रो यहाँ सिँचाइको ठुलो समस्या छ। त्यसतर्फ ध्यान दिनुपर्छ। नयाँ भएकाले यो पटक घण्टीलाई मत दिने सोच बनाएका छौँ। धेरै जितेर गए, तर फर्केर कोही आएनन्।'
बलभद्र थापाले राष्ट्रियता जोगाउने नेतृत्व आवश्यक रहेको बताए। आफू नेकपाको सदस्य भए पनि यसपटक मत कहाँ जाने टुङ्गो नभएको उनको भनाइ छ। उनले भने, 'यो क्षेत्रलाई राष्ट्रियता जोगाउने नेता चाहिएको छ। म ताराको सदस्य हुँ, तर योपालि भोट कहाँ जान्छ थाहा छैन। चुनावपछि भ्रष्टाचार हटाएर चमत्कार गर्नुपर्छ।'
भोलानाथ थापाले उम्मेदवारहरू आ–आफ्ना एजेन्डासहित घरदैलोमा आउने गरेको बताए। यसपटक रास्वपालाई नै साथ दिने मनस्थिति रहेको उनले सुनाए। उनले भने, 'उम्मेदवारहरू एजेन्डा लिएर आउँछन्। यसपटक नयाँलाई नै हेर्ने हो। मत त रास्वपालाई नै हो। पहिले पनि त्यही थियो। तोसिमाले गर्न खोजे पनि गर्न दिएनन्। बहुमतको सरकार बनेपछि केही गर्छन् कि भन्ने आशा छ। म कांग्रेस थिएँ, तर तीन वर्षदेखि रास्वपामा छु।'