
मंगलबारको मन्त्रिपरिषद् बैठकले सोह्रौं योजना कार्यान्वयन कार्ययोजना (२०८१–२०८६)स्वीकृत गरेको छ ।
सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश शर्माले बैठकका निर्णय आज सार्वजनिक गर्दै न्याय सेवा परिषद्को सिफारिस बमोजिम दुई जना उपसचिवलाई नेपाल न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा पदोन्नतिसहित पदस्थापन गर्ने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार बैठकले नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी र दुई जना महासेनानीलाई सरुवा गर्ने निर्णय गरेको छ ।
यस्तै, यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेश जाँचबुझ गर्न गठित आयोगको कार्यअवधि एक महिना थप गर्ने निर्णय भएको उनले बताए ।
निर्वाचनका क्रममा सुरक्षाकर्मी तथा निर्वाचन प्रहरी घाइते भएमा उपचार खर्च सरकारले व्यहोर्ने तथा मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।
सरकारका प्रवक्ता अर्यालका अनुसार बीमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुरसम्बन्धी मुद्दा निरुपण गर्न देशका ७७ वटै जिल्ला अदालतलाई तोक्ने निर्णय भएको छ ।
चीन सरकारको अनुदान सहयोगमा निर्माण तथा स्तरोन्नति हुने कलङ्कीदेखि वसुन्धरासम्मको काठमाडौं चक्रपथ सुधार आयोजनालाई कर छुट दिने निर्णय भएको उनले जानकारी दिए ।
यस्तै, दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रतिनिधिसभाको निर्वाचनपछि उपयुक्त समयमा आयोजना गर्ने निर्णय भएको छ ।

