२१ असार २०८३, आइतबार
चुनावी ग्राउन्ड जिरो

धादिङ-२ मा कांग्रेसका रमेश धमला अगाडि; पच्छ्याउँदै घण्टी, सूर्य र तारा

धादिङ-२ मा कांग्रेसका रमेश धमला अगाडि; पच्छ्याउँदै घण्टी, सूर्य र तारा

धादिङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका रमेशप्रसाद धमला अन्य उम्मेदवारको तुलनामा अगाडि रहेको पाइएको छ । सदरमुकाम धादिङबेसीदेखि सल्यानटारसम्म पुगेर विभिन्न पालिकाका झण्डै ३०० मतदातासँग कुराकानी गर्दा धमला अगाडि रहेको पाइएको हो ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बोधनारायण श्रेष्ठले पच्छ्याइरहेको पाइएको छ । त्यसपछि नेकपा (एमाले) का धनबहादुर घले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रामबहादुर भण्डारी प्रतिस्पर्धामा रहेको देखिन्छ ।

यो क्षेत्रमा यी चारसहित १६ दल र ८ स्वतन्त्र गरी २४ उम्मेदवार प्रतिस्पर्धामा छन् । यहाँबाट अघिल्लो पटक कांग्रेसका रामनाथ अधिकारीले चुनाव जितेका थिए ।

कांग्रेसको नेतृत्व परिवर्तनपछि धमला उम्मेदवार बनेका हुन् । धादिङमा यसपटक कांग्रेस एकजुट भएर चुनावी अभियानमा होमिएको पाइयो । नीलकण्ठ नगरपालिकाका मेयर भीम ढुङ्गानादेखि पूर्वसांसदहरू रामनाथ अधिकारी तथा दिलमान पाख्रिनसम्मले धमलालाई बलियो साथ दिएको देखिन्छ ।

कांग्रेसको विगतदेखिकै बलियो प्रभाव भएको क्षेत्र, त्यसमाथि पार्टीभित्र देखिएको अभूतपूर्व एकताले धमलाको चुनावी अभियान सहज बनाएको हो । विगतको मुख्य प्रतिस्पर्धी एमाले रक्षात्मक बनेको र नयाँ प्रतिस्पर्धी रास्वपाले ग्रामीण पालिकाहरूमा माहोल बनाउन नसकेको स्थितिमा कांग्रेसलाई लाभ हुने देखिएको हो ।

null

के भन्छन् मतदाता ?

हामीले यो क्षेत्रका विभिन्न पालिकामा पुगेर फरक–फरक उमेर समूह तथा समुदायका मतदातासँग कुराकानी गरेका थियौँ । त्रिपुरासुन्दरी गाउँपालिका २ सल्यानटार सानागाउँका विनोदकुमार श्रेष्ठले कांग्रेसका रमेश धमलालाई मत दिने बताए । ‘पार्टीभन्दा पनि व्यक्ति हेर्नुपर्छ । अहिलेको स्थितिमा रमेश धमला उपयुक्त हुनुहुन्छ,’ श्रेष्ठले भने ।

null

सोही वडाका देवीप्रसाद कँडेलले पनि कांग्रेसले जित्ने दाबी गरे । ‘यहाँ रमेश धमला जित्छन्, मेरो प्रत्यक्ष र समानुपातिक दुवै भोट रूखमा जान्छ,’ कँडेलले लोकान्तरसँग भने ।

त्रिपुरासुन्दरी २ कै भोला भट्टले एमालेलाई मत दिने बताए । ‘यहाँ वडा पनि एमालेले जितेको छ । मेरो भोट सूर्य चिह्नमा नै जान्छ,’ भट्टले भने । त्रिपुरासुन्दरी ७ का चतुर कुमालले आफ्नो गाउँमा धेरै एमाले रहेको बताए । गंगाजमुना गाउँपालिका ६ बसेरीका विवश खत्रीले धादिङ २ मा यसपटक पुरानै दलहरूबीच प्रतिस्पर्धा रहेको बताए । ‘नयाँ भनेर मात्र हुँदैन, व्यक्ति पनि हेर्नुपर्छ,’ उनले भने ।

त्रिपुरासुन्दरी १ कोशढुङ्गाका विष्णु गिरीले गाउँमा कांग्रेसको माहोल रहेको बताए । ‘गाउँमा कांग्रेसकै माहोल छ । बच्चाबच्चीले घण्टी भन्छन्, भोट हाल्ने बेला झुक्याए भने अलग कुरा हो,’ गिरीले भने । त्रिपुरासुन्दरी १ सल्यानटार बस्यौला गाउँका सुदर्शन बस्यौलाले नेकपाका रामबहादुर भण्डारीलाई मत दिने बताए । जनयुद्धका जिउँदा शहीद भएकाले भण्डारीलाई सहानुभूतिको मत आउने उनको विश्वास थियो ।

null

त्रिपुरासुन्दरी ७ अचानेटारका बलराम अधिकारीले पुराना दलहरूप्रति आक्रोश व्यक्त गरे । एमाले पृष्ठभूमिका उनले आफूहरूलाई पार्टीले भर्‍याङ मात्र बनाएको गुनासो गरे । व्यक्तिगत रूपमा नेकपाका रामबहादुर भण्डारी राम्रो भए पनि उक्त पार्टीको समेत नेतृत्व ठीक नभएको उनको विश्लेषण थियो ।

ज्वालामुखी गाउँपालिका ६ साँधभञ्ज्याङका भुवन शाक्यले यसपटक कांग्रेस र रास्वपाबीच प्रतिस्पर्धा हुने दाबी गरे । नीलकण्ठ ९ ज्यामिरेका अर्जुनप्रसाद शर्मा दुवाडीले आफ्नो ठाउँमा प्राय: कांग्रेस रहेको बताए । ‘छोराहरूले जुन पार्टी भए पनि युवालाई मत दिनुपर्छ भनेका छन् । अन्तिममा उनीहरूले जसलाई भन्छन्, त्यतै मत दिनुपर्ला,’ ८५ वर्षीय दुवाडीले भने ।

सोही वडाका षडानन्द दुवाडीले पहिले आफू कांग्रेस भए पनि अहिले के गर्ने भन्ने अन्योल रहेको बताए । ज्यामिरेकै गोविन्द आचार्यले कांग्रेसका रमेश धमला नै अगाडि रहेको जिकिर गरे । ‘रमेश धमला अगाडि छन् । नयाँ भन्ने फाट्टफुट्ट मात्र हुन्,’ उनले भने ।

null

ज्वालामुखी ६ साँधभञ्ज्याङमा केही युवा क्यारमबोर्ड खेलिरहेको अवस्थामा भेटिए । त्यहाँ रहेका कञ्चन तिमिल्सिना एमाले समर्थक रहेछन् । उनले प्रतिस्पर्धामा कांग्रेस र एमाले रहेको भन्दै रमेश धमला केही अगाडि रहेको स्वीकारे । सँगै रहेका मोहन श्रेष्ठले रास्वपाका बोधनारायण श्रेष्ठले जित्ने दाबी गरे । आफ्नो ठाउँमा घण्टीमा मत दिने धेरै रहेको उनको दाबी थियो ।

null

ज्वालामुखी ४ पुर्सुका शरणविक्रम शाहले राष्ट्रप्रमुख राजा र डेमोक्र्याट तथा कम्युनिस्ट दुई दल हुनुपर्ने मत राखे । नयाँ दलप्रति आशंका व्यक्त गरेका उनले घण्टीमा रालो चुँडिएको र बिजुलीको पनि खम्बा नरहेको तर्क गरे । ज्वालामुखी ६ सुनखानीका पूर्णमान श्रेष्ठ र कृष्ण श्रेष्ठले कसलाई मत दिने भनेर निर्णय गरिनसकेको बताए । उनीहरूको पुरानो पृष्ठभूमि एमाले रहेछ ।

null

ज्वालामुखी ७ का हरिबहादुर छत्कुलीले कांग्रेस र रास्वपाबीच प्रतिस्पर्धा हुने बताए । कांग्रेस अगाडि रहे पनि नेवार समुदायको मत रास्वपालाई जान सक्ने उनको विश्लेषण थियो । खनियाबास ४ दार्खाबेसीका रामबहादुर वाइबा गुरुङले आफ्नो ठाउँमा कांग्रेसकै दबदबा रहेको बताए ।

नीलकण्ठ ५ खाल्टेका रामप्रसाद ढुङ्गानाले कांग्रेस, एमाले, रास्वपा र नेकपाबीच चौपक्षीय प्रतिस्पर्धा रहेको दाबी गरे । खाल्टेकै तिलक ढुङ्गानाले कांग्रेसका रमेश धमलालाई मत दिने बताए । रास्वपा कार्यकर्ताको अराजकताका कारण उनीहरूको भोट घटिरहेको ढुङ्गानाको जिकिर थियो । ‘घण्टीको अराजकता बढी भयो । अर्काको झण्डा जलाउने, गालीगलौज गर्ने काम गरेकाले धेरैले भोट दिँदैनन्,’ ढुङ्गानाले भने, ‘कतिपय ठाउँमा त उनीहरूको बुथमा बस्ने एजेन्ट समेत छैनन् । अर्को पार्टीमा लुट्नुसम्म लुटेर गएको मान्छे कसरी नयाँ हुन्छ ? पुरानो बोत्तलमा नयाँ रक्सी भनेजस्तो हो ।’

नीलकण्ठ ३ धादिङबेसी सिरानबजारका बमबहादुर गुरुङले एकपटक नयाँलाई हेर्ने बताए । नीलकण्ठ १२ साङ्कोषका नीरबहादुर नेपालीले आफ्नो पृष्ठभूमि एमाले भए पनि गाउँ ठाउँको भएको नाताले कांग्रेसका रमेश धमलालाई मत दिने बताए ।

नीलकण्ठ ३ बीचबजारकी ६५ वर्षीय महिलाले एकपटक नयाँलाई हेरौँ भन्ने भावना रहेको बताइन् । नीलकण्ठ १२ साङ्कोषका विजय लम्सालले पनि कांग्रेसलाई नै मत दिने बताए । नीलकण्ठबाट अलि–अलि मत रास्वपालाई जान सक्ने उनको विश्लेषण थियो ।

नीलकण्ठकै चुडामणि सिलवालले एमाले अहिले कमजोर बनेको विश्लेषण गरे । नीलकण्ठ १० का ४७ वर्षीय एक होटल व्यवसायीले मोबाइलमा हेर्दा घण्टीको माहोल देखिए पनि ग्राउन्डमा भने कांग्रेस र एमाले नै प्रतिस्पर्धामा रहेको विश्लेषण गरे । ‘मोबाइल हेर्दा घण्टी मात्रै भन्छन् । तर, यहाँ कांग्रेस र एमाले मात्रै हो । बरु तारा प्रतिस्पर्धामा छ । घण्टी भनेर हिँड्नेहरू धेरै छैनन्’, उनले भने ।

सोही ठाउँकी ५० वर्षीय महिलाले छोरा–छोरीले जहाँ भन्छन्, त्यहीँ भोट दिने बताइन् । ‘भोट माग्न सबै आएका छन् । भुराहरूले आमा घण्टी भन्छन् । छोरा–छोरी केही दिनमा गाउँ आउँदैछन् । उनीहरूले सिकाउँछन्,’ नाम नबताउने सर्तमा ती महिलाले भनिन् ।

नीलकण्ठ ९ का बुद्धिबहादुर दुवाडीले आफ्नो हात रूखबाहेक अन्त नजाने बताए । ‘हेर्नुस्, यो ठाउँ कांग्रेसकै हो । पहिलेदेखि कांग्रेसलाई दिँदै आएको हो । जो आए पनि उस्तै हो । यता–उति जाँदिनँ म । कांग्रेसबाहेक अन्त मेरो हात जाँदैन । मेरो भन्नु यत्ति हो ।’

null

नीलकण्ठ ५ का मानबहादुर गुरुङले मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच नै हुने बताए । ‘मुख्य प्रतिस्पर्धा कांग्रेस–एमालेकै हो । अहिले अलि–अलि घण्टी भन्ने पनि छन् । तर, आउने कांग्रेस र एमालेमध्ये एक हुन्’, गुरुङले लोकान्तरसँग भने ।

नीलकण्ठ ३ मा बस्दै आएका रेगबहादुर गुरुङले आफ्नो परिवारबाट नयाँ दललाई मत जाने बताए । ‘म त केही दिनमा साउदी जान लागेको छु । दाइ–काकाहरूले नयाँलाई चान्स दिने भनिरहेका छन् । नयाँले चान्स पाए गर्छन् कि भन्ने आशा छ । परिवारले पनि नयाँलाई भोट दिन्छन्,’ उनले भने ।

null

नीलकण्ठ ३ सिरान बजारका ७५ वर्षीय वृद्धले आफूले मत परिवर्तन नगरेको बताए । ‘यो ठाउँमा कांग्रेस र एमाले मात्र हो । अधिकांश कुनै न कुनै दलसँग जोडिएका छन् । म पनि कुनै दलप्रति सद्भाव राख्छु । मैले मत परिवर्तन गरेको छैन । नयाँलाई हेर्नुपर्छ भन्नेहरू पनि छन् । तर, त्यस्ता मान्छे धेरै छैनन् । अन्तिममा प्रतिस्पर्धा कांग्रेस, एमाले र नेकपाकै हो,’ उनले भने ।

नेत्रावती डबजोङ गाउँपालिका– ३ तेजबहादुर बानियाँले नेकपाका रामबहादुर भण्डारीले जित्ने दाबी गरे । ‘जसले जे भने पनि ताराले जित्ने सम्भावना बढी छ । ताराका उम्मेदवारले यो ठाउँका लागि राम्रो काम गरेका छन् । उनी सबैले चिनेका अनुहार पनि हुन् । त्यसैले सम्भावना बढी उनको छ । तारासँग कांग्रेस प्रतिस्पर्धामा आउन सक्छ । एमालेलाई अहिले भोट दिँदैनन् कसैले, घण्टीको उम्मेदवार राम्रो परेन,’ बानियाँले भने ।

नेत्रावती ३ कै ६५ वर्षीय पुरुष मतदाताले एमाले कमजोर देखिए पनि अन्य तीन दलबीच प्रतिस्पर्धा हुने बताए । कांग्रेस अगाडि रहेको उनको दाबी थियो । नीलकण्ठ ३ का पूर्णमान श्रेष्ठले कांग्रेस र रास्वपाबीच प्रतिस्पर्धा हुने बताए । ‘रास्वपा र कांग्रेसको प्रतिस्पर्धा हुन्छ । कांग्रेसको भोट काटिने सम्भावना छ । मेरो भोट पनि घण्टीलाई नै हो,’ उनले भने ।

null

नीलकण्ठ ३ पुछारबजारका हरि अर्यालले एमाले सकिएको भन्दै रास्वपा र कांग्रेसबीच प्रतिस्पर्धा हुने बताए । ‘एमाले सकियो, अब रूख र घण्टीको प्रतिस्पर्धा हुन्छ । मेरो समानुपातिक र प्रत्यक्ष भोट फरक–फरकलाई जान्छ । उम्मेदवार पनि हेर्नुपर्छ, पार्टी पनि,’ उनले भने ।

नीलकण्ठ ३ पुछारबजारकै ललितबहादुर श्रेष्ठले आफूले घण्टीमा भोट हाल्ने बताए । ‘मेरो दुवै भोट घण्टीमा जान्छ । यसमा लुकाउनुपर्ने केही छैन । पहिले सूर्यमा भोट दिँदै आएको हो, एमालेको यो नेतृत्व छँदासम्म भोट दिन्नँ,’ उनले भने । पुछारबजारकै राजुबहादुर श्रेष्ठले पनि पुराना दलहरूप्रति आक्रोश पोखे । ‘तीनवटै दलले देशलाई सके । देउवाको घरमा त्यत्रो पैसा जल्यो, जनता सिटामोल नपाएर मरेका छन् । गरिबका छोराछोरी पढ्न नपाउने ? यसरी हुन्छ ? यिनीहरूले देश सकाए,’ श्रेष्ठले भने ।

विगतको चुनावी गणित

अघिल्लोपटक यो क्षेत्रबाट कांग्रेसका रामनाथ अधिकारी ३४ हजार ७३६ मत ल्याएर विजयी हुँदा एमालेका खेमप्रसाद लोहनीले २४ हजार १९० मत पाएका थिए । त्यतिबेला अधिकारीलाई तत्कालीन माओवादी, एकीकृत समाजवादीलगायत ५ दलको समर्थन थियो ।

तेस्रो भएकी रास्वपाकी वसुमाया तामाङले ५ हजार ५६९ मत पाएकी थिइन् ।

समानुपातिकतर्फ कांग्रेसले २० हजार ९५७, एमालेले १६ हजार २७५, तत्कालीन माओवादीले ११ हजार ४९४, राप्रपाले ७ हजार ६३०, रास्वपाले ५ हजार ६२८ र तत्कालीन एकीकृत समाजवादीले २ हजार ३९४ मत पाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्