
सुदूरपश्चिम प्रदेशको विकट जिल्लामध्ये बाजुरामा यसपटक खासै चुनावी रौनक छैन । कारण, यहाँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि भारतमा छन् ।
सदरमुकाम मार्तडी बजारबाहेक गाउँमा बृद्धबृद्धा, महिला र बालबालिका मात्रै छन् । गाउँमा युवा नहुँदा खेतबारी बाँझै छन् । अधिकांश महिला दिनभरी गिट्टी कुट्छन् ।
बडीमालिका नगरपालिका अन्तर्गत रहेको मार्तडी बजारमा असरल्ल पक्की घर बनेका छन् । छेउछाउ झुप्प स–साना बस्ती छन् । सदरमुकाम भएकाले यहाँ जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला प्रहरी कार्यालय लगायत सरकारी अड्डाहरू सँगै छन् । सानो बसपार्क छ । नगरबस नचलेका कारण यहाँका सर्वसाधारण छोटो दूरीमा बोलेरो जीपमा यात्रा गर्नुपर्ने बाध्यता छ ।
बजार क्षेत्र बाहेक गाउँका मानिसको जीवनस्तर धेरै कमजोर रहेको पाइयो । जिल्लाको त्रिवेणी नगरपालिका–५ किम्नीमा त अझै सडक पुगेको रहेनछ । मार्तडीमा भेटिएका किम्नीका कान्छी बुढाले भनिन्, ‘हामीलाई चुनावभन्दा पनि गाडी चढ्ने रहर छ, नेतालाई भोट दिएर के गर्ने ? जितेर गएपछि पुन: फर्किंदैनन्, श्रीमान् विदेश नगइ खान लाउन पाइँदैन ।’

कान्छीले भनेजस्तै बाजुराका अधिकांश पालिकाका युवा विदेशिएको पाइयो । एकातिर सडक सञ्जाल जिल्लामा सबैतिर नपुग्नु, जिल्लामा रोजगारी नपाएपछि युवा विदेशिनु, कृषि वस्तु बजारसम्म ल्याउन नपाउनु र गरिबीको रेखा बढ्दै जाँदा बाजुराबासीलाई अझै चुनावले छोएको छैन । उनीहरूमा चरम निराशा देखिएको छ । सदरमुकाम मार्तडीमा विभिन्न दलका झण्डा लिएर गाडी ओहोरदोहोर गरिएको देखिन्छ । तर, उम्मेदवारको घरदैलो कमै देखिन्छ ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा एक स्वतन्त्रसहित ८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । भौगोलिक रूपमा निकै विकट यो जिल्लामा एउटा मात्रै निर्वाचन क्षेत्र छ । यसपटक नेकपा एमालेले लालबहादुर थापा, नेपाली कांग्रेसले जनक गिरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रकाशबहादुर शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हेमराज थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केदारबहादुर शाही, प्रलोपाले दीपक कुमार डीसी र नेकपा माओवादीले भूपेन्द्र लोहारलाई उम्मेदवार बनाएको छ । स्वतन्त्रबाट उपेन्द्र शाहीले उम्मेदवारी दिएका छन् ।

२०७९ को निर्वाचनमा यो जिल्लाबाट नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे विजयी भएका थिए । उनले नेकपा एमालेका कर्णबहादुर थापालाई पाँच हजार चार सयभन्दा बढी मतान्तरले हराएका थिए । त्यतिबेला कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरेर चुनाव लडेका थिए । गठबन्धनकै कारण यो जिल्लाको प्रदेशसभातर्फ ‘क’मा एकीकृत समाजवादीका नरेशकुमार शाही र ‘ख’मा कांग्रेसका पदमबहादुर शाही विजयी भएका थिए । त्यतिबेला एमाले भने एक्लै चुनावी अभियानमा होमिएको थियो ।
बाजुरामा फागुन ११ र १२ गते विभिन्न पालिकाका वडामा पुगेर त्यहाँका १३० मतदातासँग कुराकानी गरियो । त्यसक्रममा हामीले पुरुष र महिला गरी विभिन्न उमेर समूह र पेसाका मतदातासँग भेटेका थियौं । हामीले कुराकानी गरेका मतदातामध्ये ३५ प्रतिशतले नेपाली कांग्रेस, ३२ प्रतिशतले नेकपा एमाले, २० प्रतिशतले नेकपा र १० प्रतिशतले रास्वपालाई मतदान गर्ने बताए । सर्वेक्षणमा सहभागी बाँकी तीन प्रतिशत मतदाता भने खुल्न चाहेनन् ।
बाजुरा जिल्ला विगतदेखि नै कांग्रेस र एमालेले आफ्नो बलियो पकड जमाउँदै आएको जिल्ला हो । २०४८ सालयता भएका निर्वाचनमध्ये कांग्रेसले चार र एमालेले तीनपटक जित हासिल गरेका छन् । यसपटक पनि कांग्रेस र एमालेबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
नेकपाले पनि कांग्रेस र एमालेलाई गतिलो चुनौती दिने स्थानीय बताउँछन् । तर, जिल्लामा नेपाली कांग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । नेकपा र रास्वपा पनि प्रतिस्पर्धामा छन् । तर, सर्वेक्षणका क्रममा भेटिएका अधिकांश मतदाताले कांग्रेस वा एमालेले नै जित्ने दाबी गरे ।
कूल ८७ हजार ८ सय ६१ मतदाता रहेको बाजुरामा पुरुष मतदाताको संख्या ४५ हजार ४२८ र महिला मतदाताको संख्या ४२ हजार ४३१ छ । पुरुष र महिलाको झण्डै बराबर मतदाता रहेको यो जिल्लामा बूढीगंगा नगरपालिकाको मतले हारजितको फैसला हुने देखिन्छ । १० वटा वडा रहेको यो नगरपालिकामा १४ हजार ९ सय ९४ मतदाता छन् ।

बूढीगंगापछि त्रिवेणी नगरपालिका, खप्तड छेडेदह गाउँपालिका, बूढीनन्दा नगरपालिका र बडीमालिका नगरपालिकामा बढी मतदाता संख्या रहेको देखिन्छ । सबैभन्दा कम मतदाता भने स्वामीर्तिक खापर गाउँपलिका, हिमाली गाउँपालिका र गौमुल गाउँपालिका पर्छन् । यी तीन गाउँपालिकामा क्रमशः सात हजार सात सय १२, ६ हजार तीन सय २६ र ६ हजार दुई सय ५४ मतदाता छन् ।
चुनावी जोड–घटाउको अवस्था
एमालेका उम्मेदवार लालबहादुर थापा र नेकपाका उम्मेदवार प्रकाशबहादुर शाह पहिले एउटै पार्टीमा थिए । जिल्लामा एमालेको प्रभाव विस्तार गर्न यी दुवैको निकै ठूलो योगदान रहेको स्थानीय बताउँछन् । तर, अहिले यी दुवैजना एक–अर्काको प्रतिद्वन्द्वीका रूपमा चुनावी मैदानमा छन् ।
जिल्लामा एमालेको संगठन बलियो भए पनि आगामी निर्वाचनमा शाहले एमालेको मत काट्ने सम्भावना छ । त्यसमाथि शाह प्रदेशसभावको सांसद पनि बनिसकेका व्यक्ति हुन् । उनी एमालेको पूर्वकेन्द्रीय सदस्यसमेत हुन् । एमालेका लागि यो ठूलै चुनौती हुनेछ ।
थापा र शाहबीचको प्रतिद्वन्द्विताको फाइदा कांग्रेसलाई पुग्ने देखिन्छ । कांग्रेसका केही पाका मतदाता निवर्तमान सभापति शेरबहादुर देउवाको असहज बहिर्गमनलाई लिएर पार्टी नेतृत्वसँग रुष्ट छन् । यो असन्तुष्टिलाई मिलाएर लैजानु पर्ने चुनौती कांग्रेससँग छ ।
जिल्लाको बजार क्षेत्रमा रास्वपाको बाक्लो चहल–पहल देखिन्छ । तर, मतदातामाझ भने अझै गतिलो पकड कायम गर्न सकिरहेको छैन । समानुपातिकतर्फ हेर्दा कांग्रेस र एमालेले नै बढी मत पाउने देखिन्छ । रास्वपाले प्रत्यक्षभन्दा बढी मत समानुपातिकमा ल्याउने देखिन्छ ।
मतदाता भन्छन्– हामीलाई विकासको सपना देखाएर भोट लिन्छन् तर, फर्केर आउँदैनन्
खप्तड छेडेदह गाउँपालिका दोगडीमा भेटिएका चन्द्रबहादुर राउतलाई हामीले सोध्यौं, ‘यहाँ चुनावी रौनक कस्तो छ ? उम्मेदवारहरू आएका छन् कि छैनन् ? यहाँको समस्या के छ ?’
हाम्रो प्रश्न सुनेपछि राउतले सोधे,‘कहाँबाट आउनुभयो ? पहिलो पटक हामीलाई यसरी प्रश्न आइरहेको छ ।’
हामीले आफूहरू सञ्चारकर्मी भएको र काठमाडौंदेखि यताको चुनावी अवस्था बुझ्न आएको बताएपछि खुलेर बोल्न थाले ।

‘यहाँ पहिलाको जस्तो चुनावी चहलपहल कमै छ, उम्मेदवारहरू पनि खासै खाएका छैनन्, हाम्रो समस्या बुझ्न कोही आउँदैनन, तपाईंहरू काठमाडौंदेखि आउनुभएछ, खुसी लाग्यो’, राउतले भने,‘हामी नेपाली हौं, तर नेपाली भन्न लाजलाग्ने अवस्था छ । बुढा बाबुको स्याहारका लागि मात्रै म गाउँमा छु, नत्र भारत लागिसक्थेँ । बाटो देखिहाल्नुभयो, कच्ची सडक छन्, रोजगारी छैन ।’
राउतका अनुसार गम्भीर प्रकृतिका बिरामीलाई उपचार गराउन एम्बुलेन्समार्फत धनगढी पुर्याउँदा ३० हजार भाडा लाग्छ । काठमाडौंमै पुर्याउनुपर्यो भने त भाडामै ५० हजार सकिन्छ । उनले भने, ‘खेती गरेर खान्छु भन्दा गाउँमा युवा छैनन् । सिँचाइ नहुँदा वर्षाकै भर पर्नुपर्ने अवस्था छ । बरु दिनभरी गिट्टी कुटेर जीविकोपार्जन गरिन्छ । नुनतेल खान धेरथोर आम्दानी हुन्छ ।’
खप्तड छेडेदहकै ६२ वर्षीय गुल्टे राउतले पनि खासै चुनावी रौनक नभएको बताए । उनले भने, ‘उम्मेदवार आएका छैनन्, उनीहरूका कार्यकर्ता झण्डा हल्लाउँदै हिँडेको देखिन्छ । समस्या सुन्न त परै जाओस्, गाडी रोकेर गफ गर्ने फुर्सदसमेत छैन उनीहरूलाई ।’
राउतका अनुसार सिँचाइ नभएकाले खेतीपाती खासै हुँदैन । उनका छोरा कमाई गर्न भारतमा छन् । ‘छोराले कमाएर पैसा नपठाउने हो भने हामी बुढाबुढी भोकै मर्नुपर्छ, यहाँ रोजगारी भएको भए उसले परदेशमा किन दु:ख काट्नुपर्थ्यो र ?,’ गुल्टेले भने,‘नेता भोट माग्न आउँछन्, एक भोट त जुन दललाई दिए पनि दिनैपर्यो, तर यहाँको विकासका लागि नेताले माखो मारेका छैनन् ।’

खप्तड छेडेदहकै सुन्दरा राउत भने जसले राम्रो काम गर्छु भनेर आउँछ उसैलाई मतदान गर्ने बताउँछिन् । उनी भन्छिन्,‘धेरै दलहरूलाई हेरियो सर, काम कसैले गर्ने होइन । मैले बुढा ससुरा र सासु हेरेर बस्नुपरेको छ, कमाई पनि छैन । अब विकासको आश्वासन दिएर मात्रै होइन, काम नै गर्ने ग्यारेन्टीसहित आएका नेतालाई भोट दिने तयारीमा छु ।’
बाजुराका नौवटै पालिकाका अधिकांश गाउँ बस्ती खाली हुँदै गएको बूढीगंगा नगरपालिका–१० का कृष्ण सार्की बताउँछन् । ‘गत साउनको रोपाइँ सकिएपछि अधिकांश युवा धमाधम भारतमा रोजगारी खोज्न गएका छन्, चुनावमा उनीहरू फर्कने निश्चित छैन,’ सार्कीले भने, ‘गाउँबस्ती खाली हुँदै गएपछि विकासमा पनि पछि परिने रहेछ ।’

उनका अनुसार वर्षे बाली लगाउन एक पटक युवा गाउँ छिर्छन् । पछि दशैँ र तिहारमा मुस्किलले केही युवा फर्किए पनि पुन: रोजगारीका लागि भारत जान्छन् । उनका अनुसार बूढीगंगाको बदेडा, तिमाडा र सिगाडाका धेरै युवा तथा महिलाहरू भारत जाँदै आएका छन् । बडीमालिका नगरपालिका–६ मनाका हरिबहादुर साउदका अनुसार जिल्लाको स्वामीर्तिक, जगन्नाथ बडिमालिका, गौमुल, बूढीगंगा, त्रिवेणी, छेडेदह, हिमाली र बूढीनन्दाका अधिकांश युवा प्रत्येक वर्ष रोजगारीका लागि भारत पस्ने गर्छन् ।
यस्तो छ, सुरक्षा चुनौती
बाजुराका ७७ वटा मतदानस्थल राखिने भएको छ । सुरक्षा चुनौतीका दृष्टिकोणले मतदानस्थलमध्ये ६२ वटालाई अतिसंवेदनशील, १२ वटालाई संवेदनशील र ३ वटालाई सामान्य सूचीमा वर्गीकृत गरिएको छ । कूल ७७ मतदानस्थललाई बाँडफाँड गर्दा ११८ वटा मतदान केन्द्रका रूपमा राखिने भएको छ ।
भौगोलिक कठिनाइ र बाटो नपुग्दा एउटै मतदान केन्द्रमा पुग्न ३६ घण्टासम्म लाग्ने गरेको सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् । विगतमा भएका राजनीतिक झडप र पुन: मतदान गर्नुपर्ने अवस्था यो पटक दोहोरिन नदिने तयारी सुरक्षा निकायले गरेका छन् ।

जिल्लाको १० वटा स्थानमा अझै पनि सडक सञ्जाल पुगेको छैन । हिमपात हुनसक्ने २२ वटा मतदान केन्द्र छन् । हुम्ला, मुगु, कालीकोट, अछाम, डोटी र बझाङ जिल्लासँग जोडिएको यो जिल्लामा २०७९ मंसिरमा भएको चुनावमा मतपेटिका खोस्न खोजेपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो ।
त्रिवेणी नगरपालिका वडा नम्बर –७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले सोही ठाउँका २६ वर्षका सन्दीप ऐडीको मृत्यु भएको छ । कांग्रेसका कार्यकर्ताको मृत्यु भएपछि पुन: कांग्रेसका कार्यकर्ताले एमाले कार्यकर्ताको घरमै पुगेर आक्रमण गर्दा अर्का एक जनाको मृत्यु भएको थियो।
‘कांग्रेस र एमालेका कार्यकर्ताले बुथ कब्जा गर्ने रणनीति बनाउँदा त्यतिबेला गोली चलाउनुपर्यो, यो पटक हामी अलि सजक छौं । सम्भव भएका मतदान केन्द्रमा सीसीटीभी मनिटरिङ गरेर निगरानी बढाउने तयारीमा छौं’, जिल्ला प्रहरी कार्यालय बाजुराका एक अधिकृतले लोकान्तरसँग भने, ‘थप सुरक्षाकर्मी पनि आएका छन् । यो पटक शान्तिपूर्वक निर्वाचन सम्पन्न गराउँछौं ।’