३१ असार २०८३, बुधबार

कांग्रेसका काठमाडौं उपत्यकाका उम्मेदवारले सार्वजनिक गरे प्रतिज्ञापत्र

फागुन १४, २०८२
काठमाडौं
कांग्रेसका काठमाडौं उपत्यकाका उम्मेदवारले सार्वजनिक गरे प्रतिज्ञापत्र

नेपाली कांग्रेसको तर्फबाट काठमाडौं उपत्यकाभित्रका १५ निर्वाचन क्षेत्रका उम्मेदवारले ‘काठमाडौं उपत्यका विकास प्रतिबद्धतापत्र’ सार्वजनिक गरेका छन् ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलको उपस्थितिमा बिहीबार तीनवटै जिल्लाका उम्मेदवारको ‘भर्चुअल’ सहभागितामा प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो । 

प्रतिज्ञापत्रमा तीनवटै जिल्लालाई एउटै शहरका रूपमा लिई स्थान विशेषका मौलिक विशिष्टतालाई ध्यानमा राख्दै एकीकृत शहरी विकास योजना तर्जुमा गरिएको छ ।  

काठमाडौं उपत्यकालाई विश्वको सफा, सुन्दर, विकसित, आधुनिक, सुशासित एवं जीवन्त शहरका रूपमा विकास गरिने प्रतिज्ञापत्रमा उल्लेख छ । 

उपत्यकाको बहन क्षमता बमोजिम शहरको व्यवस्थापन गर्दै वृहत्तर संघीय राजधानी पुनःसंरचना योजना कार्यान्वयन गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई सृदृढ एवं सक्षम बनाइने बताइएको छ ।

उपत्यकाको सडक यातायातलाई सहज, व्यवस्थित र अनुमानयोग्य बनाउन एकीकृत शहरी यातायात तथा स्मार्ट मोबिलिटी नीति अवलम्बन गर्दै ‘मास ट्रान्सपोर्ट’सहितको सडक पूर्वाधार निर्माण तथा यातायात व्यवस्थापन गर्दा पैदलयात्री, साइकलयात्री तथा सबै नागरिकको आवश्यकतालाई विशेष ध्यान दिँदै ‘बास्केटबल सिटी’का रूपमा विकास गरिने बताइएको छ । 

उपत्यकाभित्रको प्रदूषण नियन्त्रणका लागि एकीकृत मापदण्ड तयार पार्नुका साथै सार्वजनिक तथा पुरातात्विक स्थलको संरक्षण तथा व्यवस्थापनका लागि एकीकृत योजना बनाइ कार्यान्वयनमा ल्याइने बताइएको छ । 

उपत्यकाका नदीको संरक्षण, शुद्धीकरण तथा सौन्दर्यीकरणको एकीकृत योजना कार्यान्वयनमा ल्याउँदै आसपासका निकुञ्ज, सार्वजनिक वन तथा पार्कलाई संरक्षण गर्दै आरोग्य जीवनशैलीका लागि उचित योजना कार्यान्वयन गर्ने प्रतिज्ञापत्रमा उल्लेख छ ।     
     
शिक्षा क्षेत्रलाई समयसापेक्ष, प्रविधिमैत्री र व्यावहारिक बनाउन आवश्यक गुणस्तरीय शिक्षामा सहज पहुँच सुनिश्चित गर्नुका साथै स्वास्थ्य सेवालाई सर्वसुलभ, गुणस्तरीय एवं प्रविधिमैत्री बनाइ समग्र स्वास्थ्य प्रणालीलई विश्वस्तरीय बनाउँदै लगिने उल्लेख छ । 

उपत्यकाको एकीकृत भू–उपयोग नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउँदै शहरी पूर्वाधार, भवन संहिता तथा ढल व्यवस्थापनसहितको पुनरुत्थान गुरुयोजना बनाइ कार्यान्वयनमा ल्याउने तथा विपद् व्यवस्थापनका लागि पूर्वचेतावनीसहितका कमान्ड सेन्टर सञ्चालनमा ल्याउने बताइएको छ ।   

बढ्दो बेरोजगारी, गरिबी तथा असमानता घटाउन रोजगारीका अवसर सिर्जना गर्ने, युवालक्षित रोजगारी तथा डिजिटल प्रविधि एवं आइटीसँग जोडिएका उद्यमका विशेष कार्यक्रम सञ्चालन गर्ने, सामाजिक सुरक्षाका प्याकेजमार्फत गरिबी निवारण तथा विद्यमा असमानता कम गरी उपत्यकाबासीको जीवन सहज बनाउने, सुकुम्बासी र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न विशेष योजना कार्यान्वयनमा ल्याउने बताइएको छ ।     
     
उपत्यकाको खानेपानी समस्याको दिगो समाधान गर्न कम्तीमा आगामी ५० वर्षको जनसंख्यालाई ध्यानमा राखेर वृहत्तर योजना निर्माण गर्दै भूमिगत जलसतहको अवस्था सम्बोधन गर्ने गरी जलभण्डारण तथा जलपुर्नभरण योजना तर्जुमा गरी कार्यान्वयन गरिने उम्मेदवारहरूको प्रतिज्ञापत्रमा उल्लेख छ ।   

कांग्रेसबाट काठमाडौं निर्वाचन क्षेत्र नं–१ मा प्रबल थापा, २ मा कविर शर्मा, ३ मा रमेश अर्याल, ४ मा सचिन तिमल्सिना, ५ मा प्रदीप पौडेल, ६ मा कृष्णसबुज बानियाँ, ७ मा प्रमोदहरी गुरागाईं, ८ मा सपना राजभण्डारी, ९ मा नानु बाँस्तोला र निर्वाचन क्षेत्र नं–१० मा हिमाल कार्की उम्मेदवार छन्  ।

यस्तै भक्तपुर–१ मा किरण न्यौपाने र २ मा कविर राणा तथा ललितपुर १ मा उदयशम्शेर राणा, २ मा प्रेमकृष्ण महर्जन र ३ मा जीतेन्द्रकुमार श्रेष्ठ उम्मेदवार छन् ।

salt training

कमेन्ट गर्नुहोस्