०७ असार २०८३, आइतबार

पाकिस्तान र अफगानिस्तानबीच युद्ध: काबुल र कान्दहारमा भीषण हवाई आक्रमण

फागुन १५, २०८२
काठमाडौं
पाकिस्तान र अफगानिस्तानबीच युद्ध: काबुल र कान्दहारमा भीषण हवाई आक्रमण

पाकिस्तान र अफगानिस्तानबीचको सीमा विवादले युद्धको रूप लिएको छ। बिहीबार राति अफगानिस्तानको कुनार प्रान्तमा तालिवान लडाकुहरूले गरेको भीषण आक्रमणमा ५५ जना पाकिस्तानी सैनिक मारिएको दाबी गरिएको छ। 

अफगानिस्तानको सरकारी समाचार एजेन्सी 'टोलो न्युज' ले तालिवान प्रवक्ता जबिहुल्लाह मुजाहिदलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।
तालिवान पक्षको दाबी अनुसार मारिएकामध्ये २३ जना पाकिस्तानी सैनिकको शव उनीहरूकै नियन्त्रणमा रहेको छ। अफगान लडाकुहरूले पाकिस्तानी सेनाको एक मुख्यालय र १९ वटा सैन्य चौकीहरू समेत कब्जा गरेको बताएका छन्। 

अफगानिस्तानका उप–प्रवक्ता हमदुल्ला फितरतले केही पाकिस्तानी सैनिकलाई जीवितै पक्राउ गरिएको र उनीहरूबाट ठूलो मात्रामा हतियार, एउटा ट्याङ्क र एक हार्भेस्टर जफत गरिएको दाबी गरेका छन् । 
यस आक्रमण लगत्तै पाकिस्तानले 'अपरेशन गजब लिल हक' सुरु गर्दै अफगानिस्तानको राजधानी काबुल, नान्गाहार र पक्तिका लगायतका सहरहरूमा भीषण हवाई आक्रमण (एयरस्ट्राइक) गरेको छ। पाकिस्तानी सूचना मन्त्री अताउल्लाह तरारले सार्वजनिक गरेको भिडियो फुटेजमा पाकिस्तानी वायुसेनाले तालिवानका ठेगानाहरूमा बमबारी गरिरहेको देखिन्छ। 

पाकिस्तानको दाबी अनुसार यस कारबाहीमा हालसम्म ७२ जना तालिवान लडाकु मारिएका छन् भने १२० भन्दा बढी घाइते भएका छन्। साथै, १६ वटा तालिवान चौकीहरू ध्वस्त पारिएको र ७ वटामाथि पाकिस्तानले कब्जा जमाएको बताइएको छ।

यद्यपि, हताहतीको संख्यालाई लिएर दुवै देशका दाबीहरू बाझिएका छन्। तालिवानले ५५ पाकिस्तानी सैनिक मारेको दाबी गरिरहँदा पाकिस्तानी सूचना मन्त्री तरारले भने आफ्ना केवल २ सैनिकको मृत्यु भएको र ३ जना घाइते भएको बताएका छन्। प्रधानमन्त्री शहबाज सरिफका प्रवक्ता मुसर्रफ अली जैदीले कुनै पनि पाकिस्तानी सैनिक युद्धबन्दी नबनेको स्पष्ट पारेका छन् ।
पछिल्लो समय दुई देशबीचको सम्बन्ध अत्यन्तै चिसिएको छ। पाकिस्तानले आफ्नो भूमिमा भइरहेका आत्मघाती हमलाहरूमा अफगानिस्तानमा आश्रय लिइरहेका 'तहरीक-ए-तालिबान पाकिस्तान'को हात रहेको आरोप लगाउँदै आएको छ। फेब्रुअरी ६ मा इस्लामावादको शिया मस्जिदमा भएको आत्मघाती विष्फोट र फेब्रुअरी १६ मा बाजौरमा भएको बम विष्फोटपछि पाकिस्तानले आक्रामक रणनीति अपनाएको हो।
अक्टोबर २०२५ मा कतारको मध्यस्थतामा भएको युद्धविराम भंग भएपछि दुवै देशका सीमावर्ती इलाकाहरू नान्गाहार, कुनार, खोस्त र पक्तियामा अहिले पनि संघर्ष जारी छ। 

कमेन्ट गर्नुहोस्