
इरानको सरकारी सञ्चारमाध्यमले शनिबार बिहान भएको इजरायल र अमेरिकाको संयुक्त आक्रमणमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि गरेको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को तर्फबाट जारी गरिएको आधिकारिक विज्ञप्ति अनुसार खामेनीको उनकै कार्यालयमा मृत्यु भएको हो। यो खबर सार्वजनिक भएपछि इरानी सरकारी टेलिभिजनका समाचार वाचकले रुँदै देशमा ४० दिने शोकको घोषणा गरेका छन्। रेड क्रिसेन्टका अनुसार यस आक्रमणमा परी अहिलेसम्म २०० भन्दा बढी मानिसको ज्यान गइसकेको छ भने अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजले करिब ४० जना उच्च पदस्थ इरानी अधिकारीहरू पनि मारिएको उल्लेख गरेको छ।
आक्रमणको जवाफी कारबाहीमा इरानले मध्यपूर्वका विभिन्न देशहरूमा रहेका अमेरिकी सैन्य आधार शिविर र अमेरिकी सहयोगी राष्ट्रहरूमाथि हमला सुरु गरेको छ। दुबई, दोहा, बहराइन र कुवेतमा रहेका अमेरिकी अड्डाहरूलाई लक्षित गरी इरानले प्रहार गरिरहेको छ।
यसैबीच, बेलायती प्रधानमन्त्री सर किर स्टार्मरले आफ्ना नागरिक र क्षेत्रीय साझेदारहरूको सुरक्षाका लागि बेलायतले समन्वयात्मक क्षेत्रीय रक्षात्मक कारबाहीमा भाग लिइरहेको बताएका छन्। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीको अन्त्यलाई इरानी जनताका लागि आफ्नो देश फिर्ता लिने सबैभन्दा ठूलो अवसरको रूपमा व्याख्या गर्दै उनी इतिहासकै क्रूर पात्र भएको टिप्पणी गरेका छन्।
अमेरिकी आक्रमण अहिले पनि जारी छ र राजधानी तेहरानमा अझै पनि ठूला विष्फोटका आवाजहरू सुनिँदैछन्। यद्यपि, कंग्रेसको स्वीकृतिबिना अमेरिकाले आधिकारिक रूपमा युद्ध घोषणा गर्न नमिल्ने कानुनी प्रावधानका कारण यो सैन्य कदमले अमेरिकी राजनीतिज्ञहरूलाई नै विभाजित गरिदिएको छ।
संयुक्त राष्ट्र संघले समेत यो सैन्य कारबाहीले यस क्षेत्रको शान्ति र स्थिरतालाई पूर्ण रूपमा धराशायी बनाउने भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। स्थिति अझै नियन्त्रण बाहिर छ भने इरानले आफ्ना छिमेकी मुलुकहरूमा रहेका अमेरिकी उपस्थिति विरुद्ध थप कडा कदम चाल्ने चेतावनी दिएको छ।