
अमेरिकी र इजरायली हवाई आक्रमणको पहिलो दिनमै इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको छ। विश्वकै सबैभन्दा लामो समयसम्म शासन गर्ने शासकहरूमध्येका एक, ८६ वर्षीय यी नेताको मृत्युलाई इरानी सरकारी टेलिभिजनले पुष्टि गरिसकेको छ।
सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानमा केवल दुई जना सर्वोच्च नेता भएका छन्। सर्वोच्च नेता नै इरानको राज्य प्रमुख र सशस्त्र सेनाको ‘कमाण्डर इन चीफ’ हुन्छन्, जसमा कुलीन 'रिभोलुसनरी गार्ड्स' (क्रान्तिकारी गार्डहरू) पनि समावेश छन्।
खामेनी पूर्ण रूपमा निरंकुश शासक मात्र थिएनन्, उनी प्रतिस्पर्धी शक्ति केन्द्रहरूको एक जटिल जालोको बीचमा थिए। युवा इरानीहरूले उनीबिनाको जीवन कहिल्यै अनुभव गरेका छैनन्। सरकारी टेलिभिजन, सार्वजनिक स्थल र पसलहरूमा उनको तस्बिर सर्वव्यापी छ। उनको मृत्युले इरानमा एक अनिश्चित भविष्यको संकेत गरेको छ।
अली खामेनीको जन्म सन् १९३९ मा उत्तर-पूर्वी इरानको मशहद सहरमा भएको थियो। धार्मिक परिवारका आठ सन्तानमध्ये उनी दोस्रो थिए। उनका पिता इरानको प्रमुख शिया सम्प्रदायका एक मध्यम श्रेणीका धर्मगुरु थिए। खामेनीले पछि आफ्नो गरिब तर धार्मिक बाल्यकालको स्मरण गर्दै प्रायः रोटी र किसमिसबाहेक केही नखाने गरेको बताउने गर्थे।
उनको शिक्षा कुरानको अध्ययनमा आधारित थियो र उनी ११ वर्षको उमेरमै धर्मगुरुको रूपमा योग्य भए। तर, त्यस समयका धेरै धार्मिक नेताहरूजस्तै उनको काम आध्यात्मिक मात्र नभई राजनीतिक पनि थियो। एक प्रभावशाली वक्ताका रूपमा खामेनी इरानका शाह (राजा) का कट्टर आलोचक बने, जसलाई पछि इस्लामिक क्रान्तिले सत्ताच्युत गरेको थियो।
वर्षौंसम्म उनी भूमिगत रहे वा जेल परे। शाहको गोप्य प्रहरीले उनलाई ६ पटक पक्राउ गर्यो र उनले यातना एवं आन्तरिक निर्वासनसमेत भोगे। इस्लामिक क्रान्तिपछि क्रान्तिका नेता अयातोल्लाह रुहोल्लाह खोमेनीले उनलाई राजधानी तेहरानको शुक्रबारको प्रार्थना नेता नियुक्त गरे। हरेक हप्ता प्रसारण हुने उनका राजनीतिक प्रवचनले उनलाई नयाँ नेतृत्वको एक अभिन्न हिस्साका रूपमा स्थापित गर्यो।
क्रान्तिपछिको अशान्त समयमा खोमेनीप्रति वफादार लडाकु विद्यार्थीहरूको समूहले अमेरिकी दूतावास कब्जा गरी दर्जनौँ कूटनीतिज्ञ र कर्मचारीहरूलाई बन्धक बनाए। खामेनी लगायतका नेताहरूले ती विद्यार्थीहरूलाई समर्थन गरे। ४४४ दिनसम्म चलेको सो बन्धक संकटले अमेरिकामा कार्टर प्रशासनलाई ढाल्न मद्दत गर्यो र इरानलाई कट्टर अमेरिका-विरोधी र पश्चिम-विरोधी बाटोमा डोर्यायो।
सन् १९८१ मा एक हत्या प्रयासमा उनी बालबाल बाँचे, तर सो विष्फोटमा उनले आफ्नो दाहिने हातको प्रयोग सधैँका लागि गुमाए। सोही वर्ष राष्ट्रपति मोहम्मद-अली राजाईको हत्यापछि खामेनी ९७ प्रतिशत मतका साथ राष्ट्रपति निर्वाचित भए।
इरान-इराक युद्ध (१९८०-८८) को क्रममा उनले महिनौँ अग्रपंक्तिमा बिताए। सो युद्धले अमेरिका र पश्चिमप्रति उनको अविश्वासलाई थप प्रगाढ बनायो, किनकि उनीहरूले सद्दाम हुसेनलाई सहयोग गरेका थिए।
खामेनीको शक्ति कट्टरपन्थी पादरीहरू र 'रिभोलुसनरी गार्ड्स' मा निर्भर थियो। उनले विरोधलाई निर्ममतापूर्वक कुल्चे। सन् १९९९ को विद्यार्थी आन्दोलन, २००९ को निर्वाचनपछिको विद्रोह र २०१९ को इन्धन मूल्य वृद्धिको विरोधमा भएका प्रदर्शनहरूलाई बल प्रयोग गरेर दबाइयो।
सन् २०२२ मा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा भएको मृत्युपछि इरानमा ठूलो चुनौती खडा भयो। मानव अधिकार समूहका अनुसार त्यसपछिको दमनमा ५५० भन्दा बढी मानिस मारिए र हजारौँ पक्राउ परे।
खामेनीको शासनकालमा इरानले गोप्य रूपमा आणविक क्षमता विकास गरेको आशंकामा पश्चिमा देशहरूले कडा प्रतिबन्ध लगाए, जसले इरानी अर्थतन्त्रलाई धराशयी बनायो। सन् २०२५ मा इजरायलले इरानका सैन्य र आणविक अखडाहरूमा आक्रमण गरेपछि तनाव चरम सीमामा पुग्यो।
सन् २०२६ को सुरुमा आर्थिक संकटका कारण फेरि ठूला आन्दोलनहरू भए, जसमा हजारौँ प्रदर्शनकारीले ज्यान गुमाए। खामेनीले युरेनियम संवर्धन त्याग्न अस्वीकार गर्दै क्षेत्रीय युद्धको चेतावनी दिएका थिए। खामेनीले इरानको सत्तामा दशकौँसम्म आफ्नो कठोर पकड कायम राखे र इरान अहिले पनि उनकै कानुनहरूद्वारा निर्देशित छ। बीबीसी