२३ जेठ २०८३, शनिबार
बदलिएको कांग्रेस

विशेष महाधिवेशनको तुस बिर्सिएर चुनावी मैदानमा कांग्रेस एकजुट !

फागुन १८, २०८२
काठमाडौं
विशेष महाधिवेशनको तुस बिर्सिएर चुनावी मैदानमा कांग्रेस एकजुट !

स्थलगत रिर्पोटिङका लागि रौतहट क्षेत्र नम्बर ४ मा पुगेका बेला हामीले नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमिल्सिनलाई सोधेका थियौं- ‘कांग्रेसको अन्तरघातले तपाईंलाई समस्या पार्ला नि?’

उनले जवाफ फर्काए- ‘यसपटक अन्तरघात हुँदैन‚ किनभने सच्चिएर आएको छ।’

यस्तै, जवाफ हामीले पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार अनिल रुंगाटाबाट पनि पायौं ।

विशेष महाधिवेशनबाट सभापति गगन थापाको नेतृत्वमा बनेको कार्यसमिति र टिकट वितरणमा देखाएको उदार हृदयका कारण कांग्रेसभित्र अन्तर्घात कम हुने उनले हामीसँग बताएका थिए ।

देशभरका विभिन्न जिल्लामा पुगेर फर्किएपछिको निष्कर्ष छ, हालैको विशेष महाधिवेशनको तुस बिर्सिएर कांग्रेस अधिकांश क्षेत्रमा एकजुट ढंगले मैदानमा उत्रिएको छ ।

अब अन्तरघात गरेमा गुटगत संरक्षण हुँदैन, कारबाहीमा परिन्छ भन्ने समेत नेता/कार्यकर्तामा परेको देखिन्छ ।

null

‘बदलियो कांग्रेस‚ बदल्छौं देश’ भन्ने नारासहित कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार अगाडि सारेको छ । १६५ मध्ये १०६ नयाँ उम्मेदवार बोकेर ऊ चुनावमा होमिएको छ ।

नयाँ तथा दु:ख गरेर बसेका कांग्रेसीहरूले टिकट पाएका छन् । यतिमात्र होइन, कुनै पनि क्षेत्रमा चुनावी गठबन्धन नगर्दा रूखमै मतदान गर्न पाएका कांग्रेसी मतदाताहरू पनि दंग छन् ।

सुर्खेत २ मा भेटिएकी ६७ वर्षीय नन्दकुमारी तिमल्सिनाले कांग्रेस बाघ भएको तर्क गर्दै भोट निर्धक्कसाथ हाल्ने बताइन् । ‘बाघले घाँस खाँदैन , रूखबाहेक अन्त भोट जाँदैन‚’ उनले भनिन् ।

तीन दिनपश्चात् हुने प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि शुरू हुन अब केही घण्टा मात्र बाँकी छ । दलहरू औपचारिक र आचारसंहिताभित्र बसेर अन्तिम चुनावी क्याम्पेनिङमा लागेका छन् ।

कांग्रेस पनि अन्तिम तयारीमा लागिरहेको छ ।

‘मेटिएको तुस र सय पारको नारा’

सभापति गगनकुमार थापाले चुनावको प्रचारप्रसारकै क्रममा भनेका थिए- ‘यसपटक सय पार ।’

मधेश झरेर सर्लाही ४ बाट चुनावी मैदानमा रहेका थापा सय पार गराउन ‘भिजन १०’ भनेर अघि बढेका छन् । ठूलो मत रहेको मधेश प्रदेशमा कांग्रेसलाई बलियो शक्ति बनाउने अभिप्रायसहित उनी मधेश झरेका हुन् ।

तर‚ कांग्रेसभित्रको डर भनेको अन्तरघात हो । माहोल यतिसम्म छ कि कांग्रेस मतदाताले रूखमै मत हाल्ने हो भने रुकुम पश्चिममा पनि उसले चुनाव जित्नेगरी प्रतिस्पर्धामा आउन सक्ने अवस्था देखिन्छ ।

जुम्लामा पनि संगठनात्मक रूपमा बलियो छ । त्यसैले यतिबेलाको कांग्रेस एक ढिक्का छ कि छैन भन्ने प्रश्न हो ।

‘नयाँ भनिएका दलहरूको माहोलमा अन्तरघात नै गर्ने हो भने सक्किनुको विकल्प छैन‚’ एक कांग्रेस नेताले लोकान्तरसँग भने‚ ‘माहोल हाम्रो राम्रो छ । मात्र कांग्रेसी मतदाताले रूखमा मत हाल्ने वातावरण बनाउनु पर्‍यो ।’

यसका लागि जिम्मेवार वडा तहदेखि नै पार्टीको विभिन्न तह र तप्कामा बस्नेहरू हुने उनी बताउँछन् ।

‘सभापतिज्यू र विशेष गरेर उपसभापतिज्यू (विश्वप्रकाश शर्मा)ले समस्या भएका जिल्ला तथा निर्वाचन क्षेत्रमा पुगेर समस्या समाधान गरिरहनुभएको छ‚’ ती नेताले थपे ।

कांग्रेसमा विगतमा गठबन्धन गरेर गुमेको मत फर्काउने चुनौती छ । यसपटक पनि नयाँको नाममा जाने मतलाई जोगाउनु छ । विशेष महाधिवेशनबाट एक पक्षलाई परेको तुस पनि मेटाउनु छ ।

‘महाधिवेशनको समयमा जे जस्तो भए पनि नेता/कार्यकर्ता रूख र चारतारे झण्डा विजयी बनाउन एक ढिक्का भएर लाग्नुभएको छ‚’ केन्द्रीय सदस्य प्रतिमा गौतमले लोकान्तरसँग भनिन्‚ ‘नमिलेका कुराहरू र तुस मेट्न सफल भएका छौं। नतिजा हाम्रो पक्षमा आउँछ नै ।’

null

असन्तुष्टि किनारा लगाएर चुनावमा होमिए नेता

गुरु बराल निवर्तमान केन्द्रीय सदस्य हुन् । उनी विशेष महाधिवेशनको विपक्षमा उभिएर लामै अभियान चलाएका नेता समेत हुन् । कास्की १ वा २ जहाँ भएपनि चुनाव लड्न उनले तयारी गरेका थिए । तर, टिकट पाउन भने सकेनन् ।

बराल २० दिनयता कास्कीमै छन् । घरदैलो गर्दै कांग्रेस उम्मेदवार जिताउन उनी लागि परेका छन् । लोकान्तरसँग कुरा गर्दै उनले भएका असन्तुष्टिहरूलाई थाती राखेर पार्टी जिताउन आफू लागि परेको बताए ।

‘सबै विषयलाई थाती राखेर रूख र चारतारे झण्डालाई जिताउन अन्तिम तागत लगाएर लागिपरेका छौं‚’ उनले भने‚ ‘हिजो के भयो/भएन भन्ने अहिले छलफल र बहस गर्नुपर्ने विषय नै रहेन ।’

निवर्तमान मन्त्री तथा सांसद रामनाथ अधिकारीले छाडेपश्चात् धादिङमा रमेश धमलाले टिकट पाए । धमलालाई जिताउन अधिकारी तथा देउवा समूहका नेताको रूपमा चिनिएका भीम ढुंगानालगायत नेता पनि कम्मर कसेर लागेका छन् ।

सुर्खेत २ मा हृदयराम थानी र १ मा पूर्णबहादुर खड्का चुनाव लडेनन् । उनीहरू दुवैले आफूनिकट नेताहरूलाई अघि बढाएका छन् । खड्काले आफ्नै भाइलाई अघि बढाउँदा थानीले निकट नेतालाई अघि बढाएका छन् ।

खुट्टाको समस्याले थला परेका थानीलाई हामीले उनकै निजी निवास वीरेन्द्रनगर नगरपालिकामा भेट्दा उनी फोनबाटै निर्वाचनमा खटिएका थिए ।

घरमा मानिसहरू बोलाएर उनले चुनाव जिताउन रणनीति सुनाउँदै गरेको पनि पाइयो । ‘स्वास्थ्यले साथ दिएन । विकल्पमा जसरी सम्भव हुन्छ, चुनाव जिताउन म लागिपरेको छु‚’ उनले हामीसँग सुनाए ।

यी केही उदाहरण मात्र हुन् । कांग्रेसका नेता/कार्यकर्ताहरू यतिबेला एक ढिक्का भएको सन्देश दिन खोजिरहेका छन् । असन्तुष्ट नेताहरूलाई मिलाउने तथा अन्य दलबाट पनि प्रभावशाली नेताहरू भित्र्याउने क्रम कांग्रेसले जारी राखेको छ । त्यसैले योजना मुताविक पार्टीलाई पहिलो र निर्णायक शक्ति बनाउन हरसम्भव प्रयास भइरहेको एक केन्द्रीय पदाधिकारी बताउँछन् ।

‘गगनजीको भिजन र नेतृत्वमा युवाहरू उत्साहित र पुराना मतदाता आशावादी छन्‚’ ती पदाधीकारीले लोकान्तरलाई सुनाए‚ ‘अन्तरघात गरेर राजनीतिक करियर सक्ने मुडमा कोही छैनन् । जसरी हुन्छ, यसपटक कांग्रेसलाई एक ढिक्का राख्ने रणनीतिमा हामी सफल हुँदै आएका छौं । यसलाई जोगाउनु छ ।’

salt training

कमेन्ट गर्नुहोस्