
मध्य–पूर्वमा इरानमाथि अमेरिका र इजरायलको आक्रमण जारी रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी फिफा विश्वकप फुटबललक्षित टिप्पणी गरेका छन् । राष्ट्रपति ट्रम्पले आगामी विश्वकपमा इरानले भाग लिए पनि आफूले कुनै वास्ता नगर्ने बताएका हुन् ।
फिफा पुरुष विश्वकपको २३औँ संस्करण जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुँदैछ । ‘इरानले विश्वकप खेल्छ वा खेल्दैन मलाई थाहा छैन । विश्वकपमा भाग लिए पनि मलाई कुनै वास्ता छैन,’ अमेरिकी राष्ट्रपति ट्रम्पले पोलिटिकोसँगको कुराकानीमा भनेका छन् ।
ट्रम्पले यतिबेला इरान धुवाँमा दौडिरहेको देश भएको टिप्पणी पनि गरेका छन् । ‘मेरो विचारमा इरान नराम्रोसँग पराजित देश हो र यतिबेला उनीहरु धुवाँमा दौडिरहेका छन्,’ उनले भनेका छन् ।
इरान एसियाली क्षेत्रबाट यसअघि नै विश्वकपमा छनोट भइसकेको छ । इरान लगातार चौथोपटक फिफा विश्वकपमा छनोट भएको हो । विश्वकपमा इरानको तीनवटै खेल अमेरिकामा परेको छ ।
इरान विश्वकपको समूह ‘जी’मा छ । उक्त समूहमा इजिप्ट, बेल्जियम र न्युजिल्यान्ड पनि रहेका छन् । इरानले पहिलो खेल जुन १५ तारिखमा न्युजिल्यान्डसँग लस एन्जल्समा खेल्नेछ ।
यसैगरी, इरानले आफ्नो दोस्रो खेल जुन २१ तारिखमा सोही स्थानमा बेल्जियमसँग खेल्नेछ । इरानले तेस्रो खेल जुन २६ तारिखमा इजिप्टसँग अमेरिकाकै सियाटलमा खेल्नेछ ।
इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजले भने पछिल्लो घटनाक्रमपछि इरानले विश्वकपमा सहभागिता जनाउने सम्भावना निकै कम रहेको बताएका थिए । ‘अब इरानले विश्वकप खेल्ने सम्भावना निकै कम छ,’ उनले भनेका थिए । ट्रम्प प्रशासनले इरानी फुटबल समर्थकमाथि यसअघि नै अमेरिका प्रवेशमा रोक लगाइसकिएको छ ।
गत शनिबार अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेको थियो । आक्रमणमा परी इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेइको निधन भएको थियो ।
अहिले पनि दुवै पक्षले एक–अर्कामाथि निरन्तर आक्रमण गरिरहेका छन् । परिणाम स्वरुप मध्य–पूर्व निकै अशान्त बनेको छ।