
स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडका प्रभावशाली फरवार्ड रोड्रिगो करिब एक वर्ष मैदान बाहिर रहने भएका छन् ।
रियल म्याड्रिडका अनुसार, २५ वर्षीय रोड्रिगोको क्रुसिएट लिगामेन्ट र दाहिने घुँडाको मिनिस्कस च्यातिएको जनाएको छ । निकट भविष्यमै उनको शल्यक्रिया गरिने पनि क्लबले जनाएको छ ।
‘उनको चोट गम्भीर प्रकृतिको छ । छिट्टै उनको शल्यक्रिया पनि गरिने छ । उनी करिब एक वर्ष खेल मैदानबाट टाढा रहने अनुमान गरिएको छ,’ क्लबले भनेको छ ।
रोड्रिगो ब्राजिलियन राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य पनि हुन् । उनले यसै वर्ष आयोजना हुने फिफा पुरुष विश्वकप पनि गुमाउने भएका छन् ।
फिफा विश्वकपको २३ औं संस्करण आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुँदैछ ।
गत सोमबार खेलिएको गेटाफेविरुद्धको खेलका क्रममा रोड्रिगो घाइते भएका थिए । उक्त खेलमा गेटाफेले रियललाई १–० गोलले हराएको थियो ।
सन् २०२३ यता यस्तो समस्याबाट पीडित हुने रोड्रिगो रियल म्याड्रिडका पाँचौं खेलाडी हुन् । यसअघि थिबाउट कोर्टोइस, डेभिड अल्बा, डानी कार्भाजल र एडर मिलिटाओ पनि यही समस्याबाट पिडीत बनेका थिए ।
रोड्रिगोले यो सिजन क्लबका लागि विभिन्न प्रतियोगितामा २७ खेल खेल्दै तीन गोल गरेका छन् ।