
बिहीबार भएको निर्वाचनको मतगणना जारी छ । शुक्रबार बेलुकासम्म केही क्षेत्रको मतपरिणाम आएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म ६ निर्वाचन क्षेत्रको नतिजा आएको छ ।
निर्वाचन जित्नेहरूमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड समेत रहेका छन् । प्रचण्डले रुकुम पूर्वबाट चुनाव जितेका छन् ।
आयोगको तथ्यांक अनुसार १० हजार २४० मत प्राप्त गर्दै प्रचण्डले चुनाव जितेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लिलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कांग्रेस उम्मेदवार कुसुम देवी थापाले तीन हजार ८१ मत प्राप्त गरिन् ।
२०७९ मा भएको निर्वाचनमा यहाँबाट नेकपा माओवादी केन्द्र विजयी भएको थियो । माओवादी उम्मेदवार पूर्णबहादुर घर्ती मगरले १२ हजार २६२ मत प्राप्त गर्दै चुनाव जितेका थिए ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्म आएको परिणाम अनुसार सबैभन्दा धेरै रास्वपाले जितेको छ । रास्वपाले काठमाडौं उपत्यकाको तीन क्षेत्रमा चुनाव जितेको हो । काठमाडौं १‚ ६ र ८ मा रास्वपाका उम्मेदवार निर्वाचित भए ।
आयोगका अनुसार काठमाडौं १ बाट रञ्जु न्यौपानेले चुनाव जितेकी छन् । उनले १५ हजार ४५५ मत प्राप्त गरिन् ।
निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ र राप्रपाका रविन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गरे । २०७९ मा भएको निर्वाचनमा यहाँबाट कांग्रेस विजयी भएको थियो ।
कांग्रेसका प्रकाशमान सिंहले ७ हजार १४३ मत प्राप्त गर्दै निर्वाचन जितेका थिए भने त्यसबखत रविन्द्र मिश्रले ७ हजार १८ मत पाएका थिए ।
रास्वपाले काठमाडौं ६ मा पनि चुनाव जितेको छ । निर्वतमान सांसद शिशिर खनालले शानदार मतसहित चुनाव जितेका हुन् । उनले २७ हजार ७१९ मत प्राप्त गर्दा निकट प्रतिस्पर्धी कांग्रेसका कृष्ण बानियाँले ६ हजार ६४७ मत पाए ।
तेस्रोमा रहेका एमाले उम्मेदवार अमन कुमार मास्केले ४ हजार ३७३ मत प्राप्त गरे । २०७९ को निर्वाचनमा खनालले १४ हजार २२१ मत प्राप्त गर्दै जितेका थिए ।
काठमाडौं ८ मा पनि रास्वपा उम्मेदवार विराजभक्त श्रेष्ठले निर्वाचन जिते । उनले २४ हजार ५९२ मत प्राप्त गर्दा निकटतम रहेका नेकपा उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत प्राप्त गरे ।
कांग्रेस उम्मेदवार सपना राजभण्डारीले २ हजार ८३५ मत ल्याइन् । २०७९ को निर्वाचनमा यहाँ विराजले नै १० हजार ११२ मत प्राप्त गर्दै निर्वाचन जितेका थिए ।
नेपाली कांग्रेसले पनि दुई स्थानमा निर्वाचन जितेको छ । कांग्रेसले मनाङ र मुस्ताङमा निर्वाचन जितेको हो ।
निर्वाचन आयोगको तथ्यांक अनुसार मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरूङले २ हजार ४१५ मतसहित चुनाव जिते ।
उनको प्रतिस्पर्धी नेकपा उम्मेदवार यशोदा गुरुङ सुवेदीले ४५४ मत पाइन् । २०७९ को निर्वाचन पनि गुरुङले जितेका थिए । त्यसबेला उनले २ हजार ५७५ मत पाएका थिए ।
मुस्ताङमा पनि कांग्रेसले जितेको छ । कांग्रेस उम्मेदवार योगेश गौचन थकालीले चुनाव जितेका हुन् । उनले ३ हजार ३०७ मतसहित चुनाव जिते ।
निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार इन्द्र धारा विष्टले १८०६ मत पाउँदा रास्वपाका अधितीय चन्द्र थकालीले ७५९ मत पाए ।
२०७९ को निर्वाचन पनि योगेशलेनै जितेका थिए । उनले त्यसबेला ३९९२ मत पाउँदै विजयी बन्दा निकटतम बनेका एमालेका प्रेम प्रसाद तुलाचनले ३०७८ मत पाएका थिए ।
जारी मतगणना अनुसार रास्वपाले ११०, कांग्रेसले ११, एमालेले १० र नेकपाले ७ स्थानमा अग्रता लिइरहेको छ ।